पोखरा/विश्वका १ सय २० भन्दा बढी गन्तव्यमा पुगेको दुबईको ‘फ्लाइ दुबई’ले अब पोखरामा पनि उडान भर्दै छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब सोझै दुबई पुग्न सकिनेछ भने दुबईबाटसोझै पोखरा आउन सकिनेछ ।
फ्लाइ दुबईले असोज ७ देखि नियमित उडान गर्न पोखरामा कार्यालय स्थापनासमेत गरिसकेको छ । पोखरा आउने जहाज १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स ८ मोडलको हो ।
विदेशमा रहेका कस्केलीको संस्था कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गत वर्षको भदौमा दुबईमा पहिलो अन्तर्राष्ट्रिय कास्की सम्मेलन आयोजना गरेको थियो । पोखराबाट सम्मेलनमा सहभागी हुने उद्योगी, व्यवसायीको टोलीले फ्लाई दुबइको जहाज ‘चार्टर’ गरी पोखराबाट सिधै जान चाहे पनि सम्भव भएको थिएन ।
भदौकै पहिलो साता होटल संघ पोखराको नेतृत्वमा पर्यटन व्यवसायी र नेपालका लागि युएईका राजदूत अब्दुल्लाह साइद मुवारक जरवान अलशाम्सीबीच भेट भयो । संघले विभिन्न सम्भावना देखउँदै पोखरा–दुबइ उडानका लागि पहल गरिदिन आग्रह ग¥यो ।
फ्लाई दुबइका प्रतिनिधिले पोखरा विमानस्थलमा सरकारले दिने सुविधा खोजेपछि विभिन्न चरणमा पोखरा आएर व्यवसायी र महानगर प्रमुखसँग भेटसमेत गरे । त्यसपछि दैनिक नियमित उडान भर्ने गरी २८ जेठबाट टिकट बुकिङ खुला गरियो । असोज ७ गते साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जहाज अवतरण गर्ने तालिका छ । सोही दिन सवा ७ बजे जहाज दुबई फर्किनेछ ।
दुबई–पोखरा–दुबई रुटका लागि गत २५ जेठमा नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको थियो । उडानलाई प्रोत्साहन दिन ६ साउनमा मन्त्रिपरिषद्ले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा आगामी भदौ ०८५ सम्म शतप्रतिशत छुट दिने निर्णय गरिसकेको छ भने नेपाल एयरलाइन्सले पनि ग्राउन्ड ह्यान्डलिङ सेवामा सोही अवधिसम्म ५० प्रतिशत छुट दिने निर्णय गरिसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।
फ्लाइ दुवईले सन् २००९ देखि नेपालमा सेवा सुरु गरेको थियो । यसले हालसम्म करिब ४० लाख यात्रुलाई सेवा दिइसकेको छ भने पिक सिजनमा काठमाडौंमा दैनिक ५ उडानसम्म सञ्चालन गर्दै आएको छ ।