लगातार वर्षापछिको बाढीले बागलुङको पश्चिम क्षेत्रमा जनधनको ठूलो क्षति गरेको छ । जिल्लाको निसिखोला र तमानखोला गाँउपालिका तथा गलकोट नगरपालिकामा बाढीबाट धेरै क्षति भएको छ । त्यस क्षेत्रका सयभन्दा बढी परिवार विस्थापित बनेका छन् । बाढीले पुल, लघु जलविद्युत आयोजना र सडकमा क्षति गरेको छ ।
निसिखोला गाँउपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीका अनुसार पालिकामा पहिरोले ५ जनाको ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर ३ हर्दरामा पहिरोले चार जनाको ज्यान गाएको छ । पहिरोले ३९ वर्षीया श्यामकुमारी विक, उनका छोराहरु १२ वर्षका मनोज विक, ९ वर्षका मुकेश विक र ५ वर्षका निसन विकको मृत्यु भएको हर्दराले जानकारी दिए ।
निसीखोलाकै वडा नं. ६ को रंगिल भन्ने स्थानमा गोठ पुरिएर भल्कोटका अन्दाजी ४६ वर्षीय सुर्ज घर्तीको ज्यान गएको छ । निसिखोलाको वडा नं. ४ झिवाखोलामा निसिखोलाले १२ घर बगाएको छ ।
‘स्थानीयलाई सुरक्षित रहन भनेका छौं,’ उपाध्यक्ष घर्तीले भने, ‘स्थानीय लिटिल रोज बोड्ङि स्कुलको भवन पूर्ण रुपमा क्षति भएको छ । १२ घर बगेका छन । बाटो पूर्ण रुपमा अवरुद्ध छ ।’ वडा नं. १ देवीस्थानमा पहिरोले ६ घर जोखिममा परेपछि स्थानीयलाई सुरक्षित रहन भनिएको छ । त्यहाँका घरभित्र लेदो पसेको छ ।
वडा नं. २ मा रहेको निमार्णाधीन आधारभूत अस्पतालमा पनि बाढीले असर गरेको उपाध्यक्ष घर्तीले बताए । दुवै तर्फबाट बाढीले घेरिएको अस्पतालको एकातर्फ भने साँझ खोला घटेको छ । निसिखोला–३, याङ्ब्याङमा पहिरोका कारण जंगबहादुर खड्काको बाख्रा खोर बगेको छ । खड्काका १० बाख्रा मरेका छन् ।
यस्तै वडा नं. ६ भरसिवमा केशमला घर्तीको गोठ पनि पहिरोले पुरिएको छ । पहिरोपछि भागेर ज्यान बचाएकी केशमलाका ३ वटा बाख्रा मरेका उपाध्यक्ष घर्तीले जानकारी दिए । झिवाखोलामा मात्रै बाढीले ४० परिवार विस्थापित बनेका छन् । निसिखोलाका ठाँउ ठाँउमा पहिरो र बाढीले मध्य पहाडीसहित ग्रामीण सडक पूर्ण रुपमा अवरुद्ध छन् ।
तमानखोला गाउँपालिकामा पनि पहिरोले चार जनाको ज्यान गएको छ । वडा नं. ३, तमानको धनारपुर टोलमा पहिरोले घर पुरिएर २ जना तथा वडा नं. ४ लाम्मेलाको सन्तर टोलमा २ जनाको ज्यान गएको कार्यपालिका सदस्य हिक्मत जक्तपुरीले जानकारी दिए ।
उनका अनुुसार वडा नं. ४ मा हस्तवीर विक र उदिसरा विकको शव भेटिएको छ भने एक महिला अझै बेपत्ता छिन् । वडा नंं ३ को धनारपुर टोलमा पनि २ जनाको शव भेटिएको तमानखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियारले जानकारी दिए । दुबै पहिरोमा अझै केही बेपत्ता रहेको उनले सुनाए ।
‘सबै बाटो अवरुद्ध छ । म आफैं पनि घटनास्थल जाँदै छु । चार जना मृत्युको खबर आएको छ । धेरै घर बगाएको र केही बेपत्ता भएको सूचना छ,’ उनले भने, ‘मोबाइल नेटवर्कको समस्याले सम्पर्क हुन सकेको छैन ।’
यता, बडिगाड गाँउपालिकाका वडा नं. १, ३, ४ र ८ मा गरी ६० भन्दा बढी घरको छानो हावाहुरीले उडाएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए । बडिगाडमा प्रभावितलाई तत्काल त्रिपाल वितरण थालिएको छ । बाढीले गलकोटमा झोलुंगे पुल बगाउनुका साथै वडा कार्यालय भवन र घरहरुमा समेत क्षति गरेको छ ।
विभिन्न सडकमा समेत बाढीले क्षति गरेको छ । ढोरपाटन नगरपालिका र ताराखोला गाँउपालिकामा क्षति भए पनि सञ्चार सम्पर्क टुट्दा विवरण प्राप्त हुन सकेको छैन । नेटवर्ककको समस्याले जोखिम क्षेत्रको अवस्था जानकारी हुन नसकेपछि त्यस क्षेत्रमा हवाई निरीक्षणका लागि पहल भइरहेको बागलुङ क्षेत्र नम्बर २ का सांसद सोम शर्माले बताए ।