९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जेनजी आन्दोलनपछि त्रासमा बागलुङ


जनमञ्च संवाददाता
  • २५ भाद्र २०८२ , बुधबार

  • जेनजी आन्दोलनपछि त्रासमा बागलुङ

    बागलुङ/मंगलबार दिनभर हजारौंको भीडले गरेको आन्दोलनमा बागलुङ तुलनात्मक शान्त थियो । जिल्लास्थित राजनीतिक दलका कार्यालयबाहेक अन्यत्र तोडफोड र आगजनी भएन । रातको समयमा अपरिचितहरु जथाभावी हिंड्ने र अवान्छित क्रियाकलाप गर्न खोजेपछि प्रशासन त्रसिद भयो ।
    आन्दोलन सकिएपछि शान्त रहनुपर्ने बागलुङमा घटना बढ्न सक्ने भएकै कारण बुधबार जिल्लामा निशेधाज्ञा र रातका लागि कफ्र्यु जारी भैसकेको छ । निशेधाज्ञाकै कारण बुधबार बजार क्षेत्रमा सन्नाटा छायो । पश्चिमदेखि रात्री बस चल्ने बागलुङमा बुधबार दिनभर कतैबाट सवारी भित्रिएनन्, न त यहाँबाट सवारी अन्त्रय छुटे । बजारभित्र छिटफुट मोटरसाइकल र पानी बोक्ने गाडी मात्र गुडेका थिए ।
    सन्नाटाबीच बुधबार बागलुङ नगरपालिका वडा नं. १२ को कार्यालय तोडफोड भएको छ । त्यतिमात्र हैन, कारागारमा कैदीबन्दीहरुको आन्दोलन भयो । उनीहरु भाग्ने खतरा भएपछि सेना परिचालन गर्नुप¥यो । कारागारमा नेपाल प्रहरी र सशष्त्र पनि परिचालित छ ।
    सरकारी संरचनामा तोडफोड र आगजनी हुने खतराले प्रशासनले बुधबार दिनभर निशेधाज्ञा लगायो । तरपनि कुनैनकुनै रुपमा घटनाहरु बढ्न सक्ने देखेपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको छ । घटनाहरु थोरै मात्र भएपनि बागलुङ बुधबार पनि मौन तर तनाबमा छ । राजनीतिक दलहरुको कुनै सम्पर्क छैन भने स्थानीय पनि के हुने भन्नेमा त्रसिद छन् ।
    छिटफुट निस्केका स्थानीयको अनुहारमा पनि खुसी छैन । अन्यौलता देखिएको छ । सबैले के हुने हो भन्ने मात्र जिज्ञाशा राख्ने गरेका छन् । त्यसो त केन्द्रमा जेनजी आन्दोलन फिर्ता भएर नयाँ नेतृत्वका लागि वार्ता संचालन भैरहेको छ । आगामी नेतृत्व कसरी अगाडि बढ्छ त्यो भविष्यले देखाउला । तर तत्काल परिस्थिति सम्हाल्ने कसरी ? यो महत्वपुर्ण प्रश्न हो ।
    सोमबारको घटनापछि मंगलबारको ध्वंसात्मक परिस्थिति बुधबार साम्य हुने आसा थियो । तर यो आन्दोलन अहिले कारागारमा प्रवेश गरेको छ । सयौं कैदीबन्दीले भित्रै आन्दोलन गरेर जेलबाट निस्केका छन् । त्यसले के असर पार्छ भन्नेमा धेरैको ध्यान खिचेको देखिन्छ ।
    ‘जेन–जी आन्दोलनले युवाको नेतृत्व खोजेको छ, तर कैदीबन्दी निस्कंदा त्यसले समाजमा के असर गर्छ भन्ने ख्याल भएको छैन’ एक अधिवक्ताले भने, ‘अपराधमा कैद परेकाहरु छुट्दा उनीहरुबाट थप अप्रिय घटना बढ्न सकछ ।’ कानूनी शासनको लागि लडेको जेन–जी पुस्ताले पनि कानून बमोजिम सजाय भोगेकाहरु निकाल्ने विषयमा सोच्नुपर्ने उनले सुझाए । देशभरका धेरै कारागारका कैदीबन्दी फिर्ता भएपछि उनीहरुले न्यायालय लगायतमा बढी तारो बनाउन सक्ने देखेपछि ती क्षेत्रमा सुरक्षा सर्तकता पनि बढाइएको छ । सेनाले सरकारी संरचनाहरुमा नियमित गस्ती गरेर सुरक्षा पनि दिएको छ ।
    बुधबार भएका घटनाहरुप्रति जेन–जी समूहबाट पनि आधिकारिक धारणा केही आएको छैन । तसर्थ तोडफोडका घटनामा घुसपैठ भएको पनि हुन सक्ने आंकलन छ । तर यो बेला जेजस्ता घटना हुनसक्छन् त्यसबाट सर्तक रहनुनै उत्तम बिकल्प हुने अधिकारीहरुको भनाइ छ ।
    भ्रष्टाचारको अन्त्य, युवा नेतृत्व, सुशासन कायम जस्ता नारासहित उर्लेको आन्दोलनले जसरी पुरानो नेतृत्वलाई सत्ताच्युत गरायो तर फेरी त्यसको व्यवस्थापनमा समस्या सिर्जना हुन सक्ने संभावना बढेको छ । तसर्थ प्रशासनले निशेधाज्ञा र कफ्र्युलाई केही समय निरन्तरता दिन सक्ने आँकलन छ । प्रशासकहरु पनि त्यसमा सचेत देखिएका छन् ।
    कफ्र्यु र निशेधाज्ञाले बजार ठप्प छ । खाद्यान्न, तरकारी र दूध लगायतको बिक्रीमा केही समस्या छ । तरपनि तत्काल समस्या नपर्ने गरी बिहान र बेलुकीको समयमा अत्यावस्यक सामाग्रीको किनमेल गर्नमा भने रोक लगाइएको छैन । यो परिस्थिति कहिलेसम्म रहने भन्नेमा भने सबै अन्यौल छन् । व्वयसायीहरुमा बढी त्रास देखिएको छ । लुटपाट हुन सक्ने भन्दै कतिपय व्यवसायीले सामान्य अबस्थामा पनि पसल बन्दै गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend