बागलुङ/जेनजी आन्दोलनपछि अन्यौलमा रहेको अन्तरिम सरकार गठन लगायतको विषयमा पहिलो पटक बागलुङका विद्यार्थीहरुले सांकेतिक धारणा राखेका छन् । उनीहरुले वर्तमान संविधानको रक्षा, राष्ट्रपतिको सार्वजनिकीकरणको माग गरेका हुन् । उनीहरुले राजनीतिक निकास पनि संविधानबाटै हुनुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका युवाले बिहिबार दिउँसो लोकतान्त्रिक चोकमा मौन रुपमा हाम्रो राष्ट्रपति खोइ ? संविधानको रक्षा गरौं, लोकतन्त्रको रक्षा गरौं लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका थिए । उनीहरुले जेनजीको आन्दोलनको मागलाई सम्बोधन गर्दै संविधानबाटै निकास खोज्न माग गरेका छन् ।
यसैबीच बिहिबारै नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले विज्ञप्तीमार्फत सहमति र सहकार्यबाट देशको पुननिर्माण गर्ने बेला आएको र संविधानको रक्षा गर्दै लोकतान्त्रिक विधिबाटै देशको निकास दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् । उनले जेनजी आन्दोलनमा भएको घटनामा मृत्यु भएकाप्रति श्रद्दाञ्जली पनि प्रकट गरेका छन् ।