९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी


मेघराज शंकर
  • २६ भाद्र २०८२ , बिहिबार

  • चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी

    साउन महिनाको अन्तिम साता चीनको भ्रमण कार्यक्रमबाट नेपाल फर्कने क्रममा युनान प्रान्तको कुनमिन सहरबाट गोन्जाओ जाने जहाज मौसम खराबीका कारण रद्द भएपछि झण्डै दुई घण्टा कुनमिन विमानस्थलमा रोकिइनु पर्‍यो।

    यात्राको सामान्य असुविधा भए पनि त्यस अवसरले मलाई अनपेक्षित तर गहिरो अनुभव दिलायो। यात्रामा संयोगले भेटिएका चीनका किशोर–किशोर र युवाहरूसँग भएको भलाकुसारीले आधुनिक चीनका नयाँ पुस्ताको सोच, भावना र भविष्यप्रतिको दृष्टिकोण नजिकबाट बुझ्ने अवसर मिल्यो।

    विमानस्थलमा उडान रद्द भएपछि हाम्रा कार्यक्रम संयोजकले हामीले कुनै हैरानी व्यहोर्न नपरोस् भन्ने हेतुले वैकल्पिक व्यवस्था खोजी गर्न थाले।

    केहीबेरपछि उनले केहीलाई त्यसै दिन गोन्जाओ पठाउने र बाँकीलाई भोलि चाइना एयरलाइन्सबाट नेपाल पठाउनेबारे सन्देश पठाए। तर, रद्द भएकै उडान फेरि सञ्चालनमा आएको सूचना आयो र हामी सबै खुसीयालीका साथ बोर्डिङ पासको तयारीमा लाग्यौं। तर प्राविधिक कारणले बोर्डिङ पासको काम पनि ढिलो हुनगयो।

    हाम्रो यात्रा रोकिएको अवस्थामा रातो टिसर्ट र रातो लगेज बोकेको टोलीले यात्रुको भीडबीच मेरो ध्यान तानिरहेको थियो। त्यो चालिस जनाको किशोर–किशोरीहरूको समूह थियो। उनीहरू अनुशासित शैलीमा धर्य गरिरहका थिए, जसले चीनको सामूहिकताप्रतिको झुकाव झल्काउँथ्यो।

    केहीबेरमै उनीहरूमध्ये एक जना किशोर मेरो नजिक आएर सामान्य प्रश्न सोध्न थाले ‘तपाईं कहाँ जान लाग्नु भएको? कुन सहरबाट आउनु भएको?’ त्यसपछि अर्की किशोरी पनि संवादमा सहभागी भइन्। क्रमश: अरू पनि संवादमा झुम्मिए। उनीहरूको जिज्ञासापूर्ण व्यवहार देख्दा लाग्यो, नयाँ पुस्ता अरूको संस्कृतिप्रति खुलेर सिक्न चाहन्छन्।

    उनीहरूले बताए अनुसार, उनीहरू अस्ट्रेलियाको सिड्नीमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुन विभिन्न विद्यालयबाट छनोट भएर जाँदै थिए।उनीहरूको चालिस जनाको समूहमा केही अभिभावक र शिक्षकहरू पनि थिए। उमेर आठदेखि बीस वर्षभित्रका ती किशोरकशोरीहरू कोही अंग्रेजी भाषामा सहज कुराकानी गर्थे भने कसैलाई अंग्रेजीको ज्ञान सीमित थियो। तै पनि, उनीहरूले मोबाइल ट्रान्सलेसन एपको मद्दतले हामीसँग कुरा गर्ने प्रयास गरिरहेका थिए।

    उक्त समूहकी एक किशोरीले आफ्नो अंग्रेजी नाम ‘लिजा’ बताइन्। हामीमध्ये केहीले आफ्नो परिचय दियौं। हामी नेपालबाट भनेपछि उनले नेपालको बारेमा चासो देखाइन् र भनिन्  ‘मलाई नेपालको बारेमा केही कुरा थाहा छ। नेपाल चीनको सिमानाको छिमेकी देश हो, जुन चुमोलुङ्‍माले छुट्याउँछ।’ उनको जानकारीले म प्रभावित भएँ। किनभने धेरै चिनियाँहरूले नेपाललाई ‘नेबुअर’ भनेर चिन्छन्, जुन उनीहरूको भाषामा नेपालको उच्चारण हो जसरी हामीले चाइनालाई चीन भन्छौं। मैले उनलाई नेपालको बारेमा छोटो जानकारी दिँदै नेपाली एक सय रूपैयाँको नोट देखाएँ, जसमा सगरमाथाको तस्वीर छ। उनीहरूले नोट हेर्न वरिपरि झुरुप्प भए र विशेष चासो देखाए।

    एक किशोरले चिनियाँ एकसय युआन देखाउँदै नेपाली नोट साट्न चाहे। मैले उनलाई युआन म सँगै छ भन्दै उपहारको रूपमा त्यो नोट दिएँ।उनीहरूको अनुहारमा झल्किएको खुसीले मलाई पनि आनन्दित गरायो। त्यसपछि अर्का किशोरले आफ्नो सुटकेसबाट धागोले बुनेको त्रिकोण आकारको ‘चिनियाँ गाँठो’ निकालेर दिए। त्यो उपहारको अर्थ उनीहरूले स्पष्ट पार्दै भने ‘यो शुभकामना, सुख र समृद्धिको प्रतीक हो।’ अर्की किशोरीले थपिन् ‘तपाईंले यो आफ्नो सुत्ने कोठामा वा बैठक कोठामा झुन्ड्याएर राख्न सक्नुहुन्छ।’

    सांस्कृतिक आदान–प्रदानको त्यो सानो क्षणले भावनात्मक सम्बन्धलाई अझ गहिरो बनाइदियो।

    त्यसपछि मैले कुराकानीलाई किशोरकिशोरीहरूको अध्ययन र वृत्तिविकासतर्फ मोड्न चाहेँ।

    ‘तपाईंहरू विश्वविद्यालय अध्ययन र काम कहाँ गर्ने सोचमा हुनुहुन्छ?’ भनेर सोध्दा, लिजाले भनिन् ‘धेरै साथीहरू चीनमै बस्न चाहन्छन्।’

    त्यो सुनेर उनका अरू साथीहरू पनि सहमति जनाउँदै हाँसे। यसै क्रममा उनले थपिन् ‘तर मलाई अस्ट्रेलिया, अमेरिका वा अन्य अंग्रेजी भाषी देशमा गएर पढ्ने रहर छ। म बायोलोजिकल साइन्स पढ्दैछु। पिएचडी विदेशबाट गर्न चाहन्छु तर काम भने आफ्नै देशमा गर्ने योजना छ।’

    यो कुरा सुन्दा लाग्यो चिनियाँ युवामा ‘विदेशमा सिक्ने तर आफ्नो देशमै काम गर्ने’ भन्ने चेतना बलियो छ। उनीहरूको सपना व्यक्तिगत मात्र   नभई सामूहिक जिम्मेवारीसँग पनि जोडिएको देखिन्छ। विमानस्थलको कुराकानीको बिट मार्नै लाग्दा हामीले उनीहरूलाई यात्रा तथा कार्यक्रम सफलताको शुभकामना दियौं। उनीहरूले हर्षित मुद्रामा हामीलाई शुभयात्रा भने।

    बोर्डिङ पास पूरा भएपछि हामी गोन्जाओतर्फ उड्यौं। जहाजमा मलाई उनीहरू समूहका दुई जना साना बालिकासँगैको सिट मिलेको थियो। एयर होस्टेसले इमर्जेन्सी ढोका तर्फको सिट परिवर्तन गर्न अनुरोध गरेपछि म अघि नै परिचित भएको एक किशोरकै छेउमा परें। उनले मुसुक्क हाँस्दै हामी फेरि सँगै परियो नि भन्दै हार्दिकता प्रकट गरे। लगत्तै उनले अघि तपाईंलाई मैले केही उपहार दिन खोजेको थिएँ हतार भयो भन्दै खल्तीबाट पाण्डाको चित्र भएको एउटा कलम झिकेर यो तपाईंलाई मेरो तर्फबाट उपहार भन्दै दिए। उनले पाण्डाको बारेमा संक्षिप्त जानकारी पनि दिए।

    कुराकानी सुरूवातमा उनले नेपालको भूगोल, समाज र संस्कृति तथा रहनसहनबारे सोध्दा मैले संक्षिप्त जानकारी दिएँ। मैले चीनबारे चासो राख्‍दा उनले चीनको शिक्षा व्यवस्था, युवाको रूचि र देशप्रतिको भावनाको बारेमा पनि बताए। त्यसपछि उनले चीनको शिक्षा प्रणालीबारे प्रस्ट्याउँदै भने ‘चीनमा पनि सरकारी र निजी दुवै प्रकारका विद्यालय छन्। चीनमा सरकारी विद्यालयलाई निजी भन्दा गुणस्तरीय मानिन्छ। विश्वविद्यालय प्रवेश परीक्षा निकै कठिन हुन्छ। प्रवेशको एउटा आधार भनेको विद्यालय तहको परीक्षाको प्राप्ताङ्क हो, त्यसैले कतिपयले निजी विद्यालय रोज्छन्, किनभने त्यहाँ बढी नम्बर पाउन सकिन्छ तर गुणस्तर भने सरकारी विद्यालयको राम्रो छ।’

    शिक्षामा कठोर प्रतिस्पर्धा, युवाहरूमा अनुशासन र मेहनती संस्कृतिको झल्को उनले दिएको विवरणले स्पष्ट पार्थ्यो।

    सहर र विदेशप्रति चिनियाँ युवाहरूको मोहको बारेमा उनले बताए कि पहिले चिनियाँ युवाहरू विदेश जाने र बस्ने इच्छा राख्थे। तर कोभिड-१९ पछि यो मोह कम भएको छ। कोरोनाको समयमा चीन सरकारले राम्रो व्यवस्थापन गरेकोले सरकारप्रति नागरिकको विश्वास बढेको छ। साथै, विदेशमा बस्ने चिनियाँहरूले कोभिडको समयमा अपमान, विभेद तथा विदेशका कतिपय ठाउँमा त दुर्व्यवहार समेत भोग्नु परेकोले धेरै युवा अहिले चीनमै बस्न रूचाउँछन्। अहिले आफ्नै देशमा बस्ने चाहना बलियो हुँदै गएको छ।’

    देशभित्रैका गाउँबाट सहर बस्न चाहने युवाको सोचबारे पनि उनले भने युवाहरू सहरमा बस्न चाहन्छन् त्यो स्वाभाविक पनि हो किनभने गाउँमा कृषिमा काम गर्न सजिलो छैन। तर सहरमा बस्न पनि उनीहरूका लागि सजिलो छैन। किनभने सहरमा स्थायी बसोबास गर्नको लागि केही मापदण्ड छ त्यो जो कोहीले पूरा गर्न सक्दैनन्। अनि हिजोआज सरकारले ग्रामीण विकासलाई प्राथमिकता दिएर गाउँमै रोजगारी र उद्यमशीलताको विकास गरेपछि गाउँका युवाको सहरतर्फको मोह कम भएको छ।

    उनले चीनको अनलाइन प्रणाली र सामाजिक सञ्जालको बारेमा पनि राय राखे।

    उनले भने, ‘सरकारले जे गरेको छ त्यो राम्रो कामको लागि गरेको छ, तर बाहिरी सूचनाबाट नागरिकलाई बेखबर राख्नु राम्रो होइन।’

    मैले उनको विचारको कदर गर्दै  भने, ‘चीनले प्राचीनकालमा ग्रेटवाल बनाएर सुरक्षा प्रणाली बलियो बनाएको थियो। अहिले प्रविधि क्षेत्रमा आफ्नै प्लेटफर्म विकास गर्नु पनि आधुनिक ग्रेटवाल हो।’

    उनले सहमति जनाउँदै मुस्कुराए।

    उनको अनुहारमा गर्व झल्किएको देखिन्थ्यो। कुराकानीको कुनै एक सन्दर्भमा मैले आज कुनमिन विमास्थलमा निकै समय पर्खिनु पर्‍यो है भनेँ।

    उनले बडो परिपक्व उत्तर दिए।

    उनले भने ‘कुनै पनि कुराको विकल्प छैन भने त्यसलाई हामीले स्वीकार गरेर रमाउन सक्नुपर्छ जस्तो मलाई लाग्छ, मैले त रमाइलो गरेँ नत्र तपाईंसँग कसरी चिनजान हुन्थ्यो र!’ भन्दै मुस्कुराए।

    सायद यो उनीहरूको धर्यताको स्वभाव पनि हो। अनि मैले पनि उक्त वास्तविकतालाई हाँस्दै सहमति जनाएँ।

    केही घण्टाको यात्रामा भएको कुराकानीले चीनका समग्र युवाहरूको अवस्थालाई सामान्यीकरण गर्न नसकिएला तर उनीहरूमार्फत व्यक्त भएको युवाहरूको देशप्रतिको गर्व, भविष्यप्रतिको विश्वास र आधुनिक सोचको परिचय भने अनुकरणीय छ।

    इतिहासप्रति गर्व गर्ने, वर्तमानका समस्याप्रति जुँध्न र अवसरलाई समाउन सक्ने तथा भविष्यलाई आत्मविश्वाससाथ हेर्न सक्ने युवापुस्ता अबको विकासको आधार हो, जुन चिनियाँ किशोरकिशोरीहरुमा देख्‍न सकिन्छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend