८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

यसरी सफल भयो जेन-जी आन्दोलनका घाइतेको सबभन्दा जटिल अपरेसन !


जनमञ्च संवाददाता
  • ३१ भाद्र २०८२ , मंगलबार

  • यसरी सफल भयो जेन-जी आन्दोलनका घाइतेको सबभन्दा जटिल अपरेसन !

    काठमाडौं / भदौ २४ गते साँझ ५ बज्नै लाग्दा मनमोहन कार्डियो अस्पतालका डा. अनिल भट्टराईलाई मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंह शाहको फोन आयो।

    फोनमा कुराकानी गरेलगत्तै उनी दौडेर अपरेसन कक्ष पुगे। त्यहाँ अन्दाजी ३२ वर्षीय युवा गोली लागेर छटपटाइरहेका थिए।

    त्यसै दिन बुढानिलकण्ठको घटनामा छातीमा गोली लागेका ती युवालाई टिचिङ अस्पतालको इमर्जेन्सीमा ल्याइएको रहेछ। मुटुमा चोट लागेकाले अपरेसन निम्ति डा. भट्टराईलाई खबर गरिएको थियो।

    ‘मैले पहिलोचोटि देख्दा ती युवा अर्धचेत अवस्थामा थिए,’ उनले भने, ‘एकछिन ढिलो भएको भए उनको मृत्यु हुन्थ्यो।’

    डा. भट्टराईका अनुसार ती युवाको बायाँ छातीमा लागेको गोली ढाडको दायाँ भागबाट निस्किएको थियो। यसबीच गोलीले मुटुको दाहिने भाग छेडेको उनी बताउँछन्।

    ‘मुटुको बाहिर झिल्ली हुन्छ। झिल्ली र मुटुको बीचमा रगत जम्यो भने रगतले थिचेर मुटु बन्द हुने र त्यसकै कारण मृत्यु हुन सक्छ,’ उनले भने, ‘हामीले ढिलो नगरी छाती खोलेर रगत बाहिर निकाल्यौं, अनि धागोले सिलाएर त्यसलाई बन्द गर्यौं। यसले रगत चुहिन बन्द भयो।’

    यति मात्र होइन, ती घाइतेको मुटुको मांसपेसीमा गोलीका केही छर्रा थिए। तिनलाई निकाल्न समेत कठिन थियो। घाइतेको फोक्सोसमेत गोलीका छर्राले च्यातिएको थियो।

    यस्तो तरिकाले गोली लागेको घाइतेलाई अपरेसन गरेर बचाउनु विरल घटना भएको उनको भनाइ छ। यो जेन–जी आन्दोलनका घाइतेको सम्भवत: सबभन्दा जटिल अपरेसन भएको पनि उनी बताउँछन्।

    यो शल्यक्रियामा डा. भट्टराई लगायत डा. उत्तमकृष्ण श्रेष्ठ, डा. रञ्जन सापकोटा सहितको टोली संलग्न थियो। उनीहरूले मुटुको शल्यक्रिया गर्नुका साथै च्यातिएको फोक्सोसमेत सिलाएका थिए।

    Manmohan1-1758028160.jpeg

    डा. भट्टराईका अनुसार छाती तलदेखि माथिसम्म पूरै खोल्नुपर्दा संक्रमणको जोखिम हुने र घाउ पाक्ने हुन सक्छ। कहिलेकाहीँ रगत बग्ने खतरा पनि रहन्छ।

    ती घाइतेको शल्यक्रियामा करिब तीन घन्टा लागेको थियो। शल्यक्रियापछि होसमा आएका घाइतेको पहिलो प्रतिक्रिया थियो, ‘डाक्टर साब, मलाई नयाँ जीवन दिनुभयो, धन्यवाद।’

    कपडा सिउने पेसामा रहेका ती युवालाई बुढानिलकण्ठको प्रदर्शनीमा गोली लागेको थियो। घाइते र डा. भट्टराईको एउटा संयोग पनि परेछ। उनीहरू दुवै पर्वतका रहेछ्न ।

    ‘सुरूमा बिरामीबारे धेरै सोध्ने कुरा भएन। राम्रोसँग बोल्ने भएपछि मैले घर सोधेँ,’ डा. भट्टराईले भने, ‘उनको घर पर्वतको ठूली पोखरी रहेछ। मेरो मावली गाउँकै पर्ने रहेछन्।’

    मनमोहन कार्डियो अस्पतालमा फोक्सो, रक्तनली लगायतका अंगमा गोली लागेका अन्य घाइतेहरूको पनि शल्यक्रिया गरिएको थियो। तीमध्ये मुटुमा गोली लागेका ती घाइतेको शल्यक्रिया अलि जटिल भएको डा. भट्टराईको अनुभव छ।

    ‘गोली लागेर सर्जरी गरेका बिरामीलाई कहिलेकाहीँ लामो समय भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ। कतिपय अवस्थामा मुटु थिचिएर मिर्गौला फेल हुने लगायतका जटिलता आउन सक्छन्,’ उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ। भोलिका दिनमा फोक्सो र मुटुमा अरू जटिलता आउने खतरा कम छ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend