८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

दशैं लागेपछि एक्लेसालको पहिरो हटाउने तयारी


जनमञ्च संवाददाता
  • ७ असोज २०८२ , मंगलबार

  • दशैं लागेपछि एक्लेसालको पहिरो हटाउने तयारी

    बागलुङ/दशैं लागेपछि सहरबाट गाउँ फर्कनेहरु बढेका छन् । किनमेल गर्न सदरमुकाम आउनेहरुको बाक्लो आवतजावत हुन थालेको छ । दशैलाई लक्षित गरेर बागलुङ नगरपालिकाले झण्डै तीन महिना ठप्प रहेको एक्लेसाल पहिलो पन्छाएर सवारी चलाउने तयारी गरेको छ ।
    मालढुंगा कुश्मीसेरा सडकअन्र्तगत एक्लेसालमा खसेको पहिरोले पछिल्लो ५ वर्षदेखि दक्षिण बागलुङबासीलाई सास्ती दिइरहेको छ । यो वर्ष पनि गत असारदेखिनै यो सडक ठप्प थियो । पानी रोकिन लागेकोले सडक संचालनमा ल्याउन काम थालिएको छ ।
    बागलुङ नगरपालिकाले आफ्नै खर्चमा यो सडक खुलाउन लागेको हो । झण्डै ५ वर्ष अघिदेखि निरन्तर खसेको पहिरो अघिल्ला वर्षको वर्षात्मा पनि पटक पटक खोलेर संचालन गरिएको थियो । तर हरेक दिन खर्च गरेर पनि पहिरोले सडक बगिरहेपछि खर्च धान्न नसकी यो वर्ष काम भएको थिएन । यो सडक अवरुद्व भएपछि बागलुङ नगरपालिका वडा नं. १२, १३ र १४ सहित जैमिनी नगरपालिका र बरेङ गाउँपालिका जाने यात्रीले सास्ती खेप्दै आएका थिए ।
    कतिपयले पर्वतको कुश्मा पुगेर झोलुङ्गे पुल तरेपछि मात्र यात्रा गर्दै आएका छन् । वैकल्पिक सडकको रुपमा कालीगण्डकी करिडोरको मार्ग भएपनि गत साउन २४ गते खसेको कालाखोलाको पहिरोले अझै जोखिम हटेको छैन । उक्त सडक खण्डमा पनि पिकअप र जिप मात्र चल्ने गरेका छन् । दक्षिण बागलुङबासीले बस चढेर यात्रा गर्न नपाएपछि भाडा समेत महंगो भैरहेको छ । यात्रीको हित र दशैमा आउने पाहुना समेतले सहज यात्रा गर्न सकुन् भनेर सडक खुलाउने प्रयास भएको खड्काले जानकारी दिए ।
    यो सडकको दिगो व्यवस्थापन नभएपछि चालु वर्ष प्रदेश सरकारबाट ३ करोड रुपैयाँ विनियोजन गरी पहिरो नियन्त्रण तथा सडक स्तरोन्नती गर्ने लक्ष्य राखिएको छ । उक्त योजनाको ठेक्का लगाउन ढीला भएकोले नगरपालिकाले काम गरेको हो ।
    सोमबारदेखि शुरु भएको काम बुधबार सम्ममा सकेर सडक संचालनमा ल्याउने नगरपालिकाको लक्ष्य छ । यो सडक अवरुद्व भएपछि स्थानीयले खाद्यान्न ढुवानीमा सास्ती खेप्दै आएका थिए । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका तरकारी र दूध बजार ल्याउन पनि कठिन भैरहेको छ ।
    साउन २४ गते खसेको कालाखोला पहिरो पनि अहिलेसम्म पन्छाइएको छैन । निरन्तर खसिरहेकोले यो सडकमा यात्रा गर्न जोखिम छ । ९९ करोड लागतको करिडोरको मालढुंगा बलेवा खण्ड ‘बिडारी कन्स्ट्रक्सन’को ठेक्कामा छ । दोहोरोपना हुने डरले स्थानीय तहले सडकमा काम गरेका छैनन् । ठेकेदार कम्पनीले पनि यो सडक पुर्ण रुपमा सफाइ गरेको छैन ।
    यहाँ पहिरो जाने गरी जथाभावी ढुंगा उत्खनन् समेत गरिएको थियो । पहिरो खस्दा बागलुङ नगरपालिकाको निर्माणाधिन औद्योगिक ग्राम समेत पुरेको छ । एउटा क्रसर उद्योगमा पनि क्षति पुगेको थियो । करिडोरले तोकेको समयमा काम नसकेको ठेकेदार कम्पनीले पहिरो पन्छाउन पनि ढीला गरेको वडा अध्यक्ष नारायण शर्मा पौडेलले बताए । ‘समयमा काम सक्न धेरै प्रयास गरेपनि ठेकेदारले काम ढीलाई गरिरहे, अहिले फेरी पहिरोको जोखिम बढ्यो’ पौडेलले भने, ‘ब्रेकर लगाएर पहरा फोडिरहे दर्जनौं पहिरो खसेर सडक अबरुद्द भैरहन्छ ।’
    सडक जोखिम बढाउने गरी सामाग्री उत्खनन् गर्न दिंदा यो समस्या आएको उनले बताए । डिजाइनमा अन्यत्रकै ग्राभेल ल्याउने प्रावधान भएपनि पहरा र सामाग्री आउने देखेपछि ठेकेदारले पहाडै खनेर सामाग्री अन्यत्र समेत बेच्ने गरेका छन् ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend