९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

जेनजी आन्दोलन: यसरी बचेका थिए एमाले नेता विष्णु, शंकर र प्रदीप


जनमञ्च संवाददाता
  • १० असोज २०८२ , शुक्रबार

  • जेनजी आन्दोलन: यसरी बचेका थिए एमाले नेता विष्णु, शंकर र प्रदीप

    काठमाडौं / ‘बाहिरबाट आएका मान्छेले हिंसा मच्चाएका हुन्, यसमा मेरो केही पनि दोष छैन’– सेनाको शरणमा हप्ता दिन बिताएर फर्किएका केपी ओली गुण्डुमा अरु नेतालाई बोलाउँदै यस्तो कथा सुनाइरहेका छन् ।

    ‘अरुले षड्यन्त्र गरे भन्दियो, अनि त्यसपछि आफू यता टिकिरह्यो,’ एमाले स्रोत भन्छ, ‘यसले गर्दा पार्टीलाई कति धेरै क्षति भयो, देशले कति नोक्सानी व्यहोर्‍यो भन्ने कुनै मतलब छैन । गुण्डु फर्किंदा पनि दम्भमा कमी आएको छैन ।’देशले ठूलो क्षति व्यहोर्‍यो । पार्टीलाई उठ्न गाह्रो भयो तर ओलीमा न समीक्षाको हुट्हुटी छ न त कुनै पश्चाताप नै । बरु सचिवालयभित्र अल्पमतमा परेकाले नेता विशेषलाई बोलाउँदै आफूतिर तान्ने दाउमा ओली सक्रिय भएको नेताहरु बताउँछन् । अरुलाई अलपत्र पार्ने तर अरुले मात्रै उनका लागि बलिदान दिनुपर्ने अवस्था देखेका एमाले नेताहरु भदौ २४ गते बालुवाटारको घटनाले लज्जाबोध भएको बताउन थालेका छन् । त्यो दिन ओलीले आफू मात्रै सुरक्षित हुन गरेको हर्कत नमिठो भएको नेताहरुले बताए ।

    ‘आफूपछिको नेतृत्वलाई छोडेर आफूमात्रै हेलिकोप्टरमा उडेको तीतो पीडा धेरैले सम्झिरहेका छन् । बिहानदेखि बालुवाटारमा सल्लाहका निम्ति जुटाइएका विष्णु पौडेल, शङ्कर पोख्रेल, प्रदीप ज्ञवालीहरुलाई छाडेर उहाँमात्रै सपरिवार उड्नुभयो,’ एक नेता भन्छन्, ‘तीनै जनालाई आन्दोलनकारीको मुखमा छोडिदिएर, पिए राजेश बज्राचार्यहरुलाई टिपी उड्नुभयो ।’ जबकि सेनाको हेलिकोप्टरमा ९ जनासम्म अट्ने ठाउँ थियो ।

    ओली त्यसरी उडेपछि सभामुख निवासतिर गएर तिनले बडो मुश्किलका साथ प्रहरी हेडक्वार्टर पुगी ज्यान जोगाएका थिए । एउटा हेलिकप्टर ओलीलाई लिएर उडेपछि सुरक्षा निकायका प्रमुखहरु अर्को हेलिकोप्टरमा जंगी अड्डा पुगे । अनि आइजिपी चन्द्रकुबेर खापुङहरूको गाडी चढेर बाँकीले बल्ल-बल्ल ज्यान बचाएका हुन् । ज्यान जोगाउने क्रममा नजिकै राजेन्द्र बजगाइँको होटल बर्णवास जलाउनेहरुसँग जम्काभेट भएपछि नेताहरु सभामुख निवासमै फर्किएर उपद्रव मत्थर भएको मौका छोपी बल्ल सभामुख, राष्ट्रियसभा अध्यक्षसहित पुलिस हेडक्वार्टर पसेका हुन् ।

    ओली त्यसरी हिँडे पनि अन्तिमसम्मै प्रदीप, शङ्कर, विष्णुले सहजीकरण गर्न खोजिरहेका थिए । शङ्कर र प्रदीप सरकारी पदमा थिएनन् । त्यसैले तिनलाई पल्लो कोठामा राखेर विष्णु पौडेलले सुरक्षा प्रमुखहरुसँग वार्ता गर्दै जब्बर ओलीलाई राजीनामाको लागि तयार गरेको स्रोत बताउँछ । ‘राजीनामा गर्दिनँ भनेर हैरान पार्नुभएको थियो, मैले राजीनामा दिए विदेशी सेना आउँछ भन्ने कुरा निरन्तर दोहोर्‍याउनुभयो,’ स्रोत भन्छ, ‘उहाँलाई सम्झाउन पौडेल र अन्य नेतालाई निकै सकस परेको थियो । अर्कोतिरबाट प्रधानसेनापतिको पनि उत्तिकै दबाब थियो ।’ ‘नौ जनाको टोलीमा देशको ढुकुटी चलाउने उपप्रधानमन्त्री तथा आफ्नो पार्टीको उपाध्यक्ष, महासचिव र  र उपमहासचिव नअट्ने भन्ने हुन्छ ?’ स्रोत भन्छ, ‘पहिला यिनीहरूलाई हाल अनि मात्र म जान्छु भन्नुपर्नेमा लुरुलुरु आफू हिँडे ।’

    नेताको हुल प्रहरी मुख्यालय छिरेपछि आन्दोलनकारी झन् उग्र बनिसकेका थिए । त्यसपछि पुलिस हेडक्वार्टरमा यति आक्रमण भयो कि सैयौं सेल अश्रुग्याँस हानेपछि बल्ल स्थिति साम्य हुनेतिर गएको हो । त्यसपछि राति ११ बजेतिर तिनलाई अन्यत्र सार्ने काम भयो । प्रधानमन्त्रीले चाहेको भए सभामुख, शंकर, विष्णु र प्रदीपसहितका नेताको पनि हेलिकोप्टरमा उद्दार गर्न कठिन नभएको नेताहरु बताउँछन् ।

    विकल्प पनि उत्तिकै अराजक

    सेनाले हातमा शक्ति लिए पनि त्यो खराबै हुन्थ्यो । अर्कोतिर राति १२ बजे सेनाले लिएर हृदयेन्द्रलाई राजा घोषणा गरिदिने हो कि भन्ने चिन्ता पनि उत्तिकै थियो । यसैले थप खराब विकल्पभन्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी भएको एमाले स्रोत बताउँछ । चुच्चे नक्साबाट भारत आजित भएको थियो तर चीनसहित उसले यसपालिचाहिँ नेपालको संविधान र संसद नै हान्न नदिनेबारे सल्लाह गरेको बताइन्छ । यसर्थ ती दुवै देशले फोनमार्फत राष्ट्रपति संस्था र नेपाली सेनालाई आडभरोसा दिएको बुझिएको छ । ‘हाम्रो सेना इण्डियन वा अमेरिकन सेनाजस्तो आफैं हतियार उत्पादन गर्न सक्ने, पर्याप्त तालिमप्राप्त फौज होइन,’ स्रोतले भन्यो, ‘यसैले हामीलाई कुनै न कुनै ब्याकिङ चाहिन्छ । यस्ता बेलामा विदेशीले अनेकखाले दबाब बढाउँछन् ।’

    अहिलेको घटनाका पछाडि अमेरिकीहरु छन् भन्ने भारतले राम्रोसँग बुझेको थियो । यसैले उसले राजा नै ल्याउने, संविधान नै मासेर उपद्रो हुन नदिने नीति लिएको नेताहरु बताउँछन् । संसद विघटन नहोस् भन्नेमा त भारत र चीन दुवै थिए ।
    जनआस्था साप्ताहिकबाट

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend