चितवन/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै कारण देशले ठूलो जनधनको क्षति व्यहोर्नुपरेको बताएका छन्।
उनले हालैको ‘जेन जी’ आन्दोलन हिंसात्मक बन्नुमा उनकै कारण देखिएपनि आजसम्म कुनै पश्चाताप नदेखिएको सुनाए। बिहीबार चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै दाहालले शान्तिपूर्ण रूपमा सुरु भएको युवाहरूको आन्दोलनमाथि सरकारले गरेको दमन र सुरक्षा लापरवाही नै क्षतिको मुख्य कारण भएको उल्लेख गरे।
उनले तत्कालीन प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष लक्षित गर्दै भने, ‘उहाँको कारण यति धेरै जनधनको अत्यधिक क्षति भयो। तर आज पनि कुनै पश्चाताप छैन।’ युवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई सरकारले संवेदनशीलतापूर्वक व्यवस्थापन गर्न नसकेको र सुरक्षा तयारीमा चुकेकाले स्थिति भयावह बनेको प्रचण्डको दाबी थियो।
‘कलेजको पोसाकमै रहेका युवाहरूको टाउको र छातीमा गोली हानियो, यो घटनाले अन्तर्राष्ट्रिय स्तरमै देशको छविमाथि गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने।
उनले घटनालगत्तै माओवादी केन्द्रले प्रधानमन्त्रीको राजीनामा माग्ने र उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्ने पहिलो दल बनेको बताउँदै देशलाई सही दिशा दिन आफ्नो पार्टीले निरन्तर पहल गरिरहेको सुनाए।
अब देश निर्वाचनतर्फ उन्मुख भइसकेको बताउँदै प्रचण्डले भने, ‘राष्ट्रपतिदेखि सबै प्रमुख दलहरू अब निर्वाचन नै उत्तम विकल्प हो भन्नेमा पुगेका छन्। ढिलोछिटो सबै दल चुनावमा आउँछन्।’ उनले विगतका गल्तीहरूबाट आत्मसमीक्षा गर्नुको सट्टा ओली अझै पनि अहंकारमै रमाइरहेको भन्दै आलोचना गरे।