काठमाडौं / नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।
उनीहरूसहित अन्य दुई जनालाई पनि मन्त्री सिफारिस गरिएको थियो । खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो । सुनारलाई श्रम र श्रेष्ठलाई भूमिसुधार मन्त्रीको रुपमा प्रधानमन्त्री सिफारिस गरेकी थिइन् ।
जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको छ । प्रधानमन्त्री कार्की सहित अब मन्त्रिपरिषद् १० सदस्यीय भएको छ । ‘एकाध महत्वपूर्ण मन्त्रालयमा मन्त्री थपिन सक्छन्’ प्रधानमन्त्री कार्कीको सचिवालय सम्वद्ध स्रोतले भन्यो, ‘अब प्रधानमन्त्रीको नेतृत्वमा यही टिमले नै निर्वाचनसम्म काम गर्नेछ ।’