बागलुङ / लामोसमयसम्म कालोपत्र नभएपछि आन्दोलनमा उत्रिएका मध्यपहाडी लोकमार्ग अन्तरग बागलुङ बिहुँ खण्डका स्थानीय र लोकमार्गका निर्माण व्यवसायीविच ८ बुँदे सहमती भएको छ । स्थानीयले मंसिर १ गतेदेखि सडक बन्द गर्ने चेतावनी सहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।
लोकमार्गको अलपत्र खण्ड काठेखोला गाउँपालिका–६ इनारपानीमा बिहीबार सरोकारवाला निकाय प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, लोकमार्गका प्रमुख अनुक्षा घिमिरे, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा सहित सरोकारवालाको रोहबारमा निर्माण व्यवसायी र आन्दोलनरत स्थानीय बीच निर्माणको काम तत्कालै शुरु गर्ने सहमती भएको हो ।
लोकमार्गको कालोपत्रको जिम्मा पाएको तामाङ रिजाल भगवती जेभीका प्रतिनिधि अर्जुन रिजाल र स्थानीय बीच कात्तिक २१ गतेबाटै सडकका खाल्टाखुल्टी पुर्ने, धुलो भएको स्थानमा पानी छर्कने, पहिरो पन्छाउने, मंसिरबाट सबबेस हाल्न शुरु गर्ने, पुस सम्म ग्राभेल गर्ने, फागुनबाट कालोपत्र गर्ने लगायतमन ८ बुँदामा सहमती भएको आन्दोलनरत स्थानीय भरत प्रसाद सापकोटाले बताए ।
निर्माण व्यवसायीको चरम लापारर्वाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयहरु आन्दोलनमा उत्रेर कात्तिक १६ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका थिए । त्यसपछि बिहिवार लोकमार्ग आयोजना कार्यालय पर्वत र बागलुङका सरोकारवालाको रोहबरमा फागुनबाट कालोपत्र शुरु गर्नेगरी सहमती भएको हो ।
स्थानीयले धुलाम्मे र हिलाम्मे सडकका कारण खेतीपाती समेत हुन छोडेको, सुन्तला खेती नभएको र धुलोका कारण नागरिकको स्वास्थ्य समेत बिग्रिएको बताउदै आन्दोलनको घोषणा गरेका थिए ।
दुई वर्षमा कालोपत्र भइसक्ने लोकमार्गको बागलुङ खण्डको २६ किलोमिटर नौ वर्ष वित्दा अझै १२ किमि सडक कालोपत्र हुन सकेको छैन । लोकमार्गको बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २६ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको ९ वर्ष वित्दा समेत अझै १२ किलोमिटर खण्ड अलपत्र हुनु चरम लापर्वाही भएको स्थानीयको भनाई छ ।
बिहुँ खण्डको १३ किमि सडक पाँच पटक म्याद थप्दा कालोपत्र नभएपछि गत वर्ष ठेक्का रद्द गरेर नयाँ सम्झौता भएको थियो । नयाँ ठेक्का सम्झौता गरेको समेत एक वर्ष वितिसक्दा पनि भौतिक प्रगति १२ प्रतिशत मात्रै भएपछि स्थानीय आन्दोलनमा उत्रेका थिए ।
बिहुँ–घोडाबाँधे खण्डको १३ किलोमिटर सडक ८ वर्षमा समेत कालोपत्र सम्पन्न नभएपछि ठेक्का तोडेर २०८१ असार २१ गते दुई वर्षमा बाँकी पूर्वाधार र कालोपत्र सक्नेगरी तामाङ रिजाल भगवती जेभीसंग रु. २१ करोड ४९ लाखमा ठेकका सम्झौता गरिएको थियो ।