काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी पुस्तालाई एमालेमा सामेल हुन आव्हान गरेका छन् । एमालेद्वारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’ कार्यक्रममा उनले सो आह्वान गरेका हुन् ।
अध्यक्ष ओलीले भने, ‘साथीहरु, घर फर्क अभियानको थालनी गर्दै घर फर्कनुभएको छ । सँगसँगै जेनजीका साथीहरु, कहिल्यै एमालेमा नभएका साथीहरु एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा ९एमाले० अब कता जाँदैछ भन्ने कुराको संकेत गर्दैछ, यसको भविष्यको संकेत गर्दैछ । र म जेनजी भाइबहिनी, र युवा भाइबहिनीलाई एमालेमा सामेल हुन आग्रह गर्दछु । बाँकी साथीहरुलाई पार्टी प्रवेश गर्न आग्रह गर्दछु ।’
उनले मङसिर २७, २८ र २९ गते काठमाडौँमा हुने एमालेको महाधिवेशनमा सिधैँ नेतृत्व चयनको कार्यक्रम आयोजना हुने जानकारी दिए । गत भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनमा सङ्गठनात्मक प्रस्ताव, विधान र राजनीतिक प्रस्तावमा विषयमा छलफल भइसकेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘आउँदो महाधिवेशनमा मैले उद्घाटन गर्छु र त्यहाँ भाषण, भुषण हुँदैन । सङ्गठनात्मक प्रस्ताव, विधान पास गरिसकेका छौं । त्यसमा छलफल हुँदैन । खास, महाधिवेशनमा नेतृत्व छान्ने त्यति हो यो महाधिवेशनमा । त्यसमा दुविधा पर्नुपर्ने आवश्यकता छैन ।’ विघटित प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतन्त्र फर्काउनुपर्ने उनको भनाइ छ ।
एमाले महासचिव शंकर पोखरेलले मुलुकलाई सही नीति र योजनाका साथ अघि बढाउन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा विकसित गर्नुपर्ने धारणा राखे । महासचिव पोखरेलले भने, ‘नेकपा (एमाले) जनताको रोजाईमा रहेको पार्टी हो । मुलुकलाई सही दिशा दिन एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रुपमा बदल्नुपर्छ । पार्टी केन्द्रीय कमिटीको दशौं बैठकबाट भनेका छौं, हामी यो अभियानमा वैचारिक, राजनीतिक रुपमा स्पष्ट, मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने जति पनि साथीहरु घरबाहिर हुनुहुन्छ, अल्मलिनुभएको छ, घर फर्कन आह्वान गर्दछुु ।’ सभ्य, सुसंस्कृत र विकसित नेपाल निर्माण गर्ने सङ्कल्प गर्नुपर्ने भन्नुहुँदै एमालेमा फर्कनुभएका नेताहरुले ठीक समयमा ठीक फैसला गर्नुभएको धारणा राखे ।
नेकपा एकीकृत समाजवादीबाट एमाले प्रवेश गर्नुभएका नेतृ रामकुमारी झाँक्रीले विचार र गति मिल्नेहरु एकै ठाउँमा हुँदा राम्रो हुने धारणा राखिन् । झाँक्रीले भनिन्, ‘गफ मिल्नेहरु एउटा यात्रा गरेको राम्रो । गति समान, दृष्टिकोण समान भएका एकै ठाउँमा भएको राम्रो, कति वटा पार्टी एकता भए भन्ने होइन, कस्ता मान्छेबिच एकता भए भन्ने हो । कुनै अवसर खोजेर होइन । अवसरहरु निर्माण गर्न लामबद्ध हुन आएका हौं ।’ उनले अब एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले अब देश बनाउने विषयमा सोच्नुपर्ने समय आएको विचार पनि राखिन् ।
यसैगरी, आज एमाले प्रवेश गर्नुभएको नेता किसान श्रेष्ठले चार वर्षअघि विभिन्न कारणले अलग भएर अलग बाटो रोजेको भन्दै त्यो निर्णय गलत भएको धारणा राखे । घर फर्क अभियान घोषणासभामा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिव योगेश भट्टराई, नेताहरु लालबाबु पण्डित, थममाया थापा, महेश बस्नेत लगायत नेताहरुको सहभागिता थियो । यो अभियान देशभरी सञ्चालन हुने एमालेले जनाएको छ ।