बागलुङ/बालबालिकाको अधिकारबारे ग्रामीण क्षेत्रसम्म सचेतना फैलाउन सक्ने कार्यक्रम र अभियान सञ्चालन गर्न बालअधिकार समिति र जिल्ला बाल सञ्जालले निर्णय गरेका छन् ।
सोमबार भएको संयुक्त बैठकले आगामी साता बालअधिकार, साइबर क्राइम र बाल अपराध नियन्त्रणका लागि मनोपरामर्श लगायतको तालिम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
समितिका अध्यक्ष सूर्यप्रसाद कँडेलको अध्यक्षतामा बसेको बैठकले यसअघि भएका निर्णयको पनि कार्यान्वयन प्रभावकारी बनाउने निर्णय गरेको हो । कँडेलका अनुसार, बैठकले कसुरजन्य कार्यको आरोपमा प्रहरीद्वारा नियन्त्रणमा लिएका बालबालिकालाई राख्ने कक्षको अनुगमन गर्ने र मापदण्ड बमोजिमको तयार गर्न आर्थिक वर्ष २०८३÷०८४ को बजेट तथा कार्यक्रममा समावेश गर्न अनुरोध गर्ने कार्य गरिरहेको छ ।
त्यस्तै बालबालिकाको काम कर्तव्य र अधिकारसहित साइवर अपराधविरुद्व सचेत गराउने उद्देश्यले मनोपरामर्श सचेतना कक्षा सञ्चालन गर्न विषयगत विज्ञ सम्पर्कमा राख्ने, सबै कार्यालयमा रहेको बजेटबाट बालकोष स्थापना र परदर्शीता कायम गर्न परिपत्र गर्ने र सामाजिक कुसंस्कार, अपराध नियन्त्रण जस्ता कार्यमा बालबालिकालाई सचेतना फैलाउन स्थानीय तहको सहकार्यमा अभिमुखीकरण कक्षा सञ्चालन गर्ने निर्णय भएको र सोही अनुसार काम पनि भैरहेको समितिका सचिव तथा एकीकृत विकास कार्यालयका प्रमुख शिव शर्माले जानकारी दिए ।
समितिको बैठकले बिकासका हरेक आयाममा बालबालिकाको अर्थपुर्ण सहभागिता, बाल बचाउ, संरक्षण र विकासका मुद्दामा सहकार्य गर्ने, बालविवाह, बाल श्रम लगायतका कुप्रथा र कुसंस्कार अन्त्य गर्ने, बाल क्लबलाई संजालमा आबद्द गरी नेतृत्व विकासमा टेवा दिने र अपांगता भएका बालबालिकाको समावेशी शिक्षा सहितका क्रियाकलाप तथा संरचना निर्माणमा पहल गर्ने निर्णय भै कार्यान्वयन भैरहेको पनि शर्माले जानकारी दिए ।