बागलुङ, १० भदौ-बसाइ सराइले ग्रामीण क्षेत्रका जमिनहरु बाँझीएपनि व्यवसायिक कृषि उत्पादनमा किसानले जमिनको उपयोग बढाएका छन् । संख्यात्मक रुपमा किसान घटेपनि व्यवसायिक र चक्लाबन्दीमा कृषि उपज बढाउने लक्ष्य राखेपछि पछिल्लो ८ वर्षमा कृषियोग्य भुमी उपयोग बढेको हो ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, बागलुङको तथ्यांकमा उत्पादन र उत्पादनका लागि खेतीयोग्य जग्गाको उपयोगिता पनि बढेको देखिएको हो । विशेषगरी जोन बनाएर काम गर्दा ती क्षेत्रमा जमिनको उपयोगिता बढेको देखिएको हो । परियोजनाका प्रमुख नारायण पौडेलका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा मकै जोनका लागि जिल्लामा ५ सय ८३ हेक्टर क्षेत्रफल मात्रै रहेकोमा गत आर्थिक वर्ष २०८१÷०८२ मा आइपुग्दा त्यो बढेर ७ सय ९८ हेक्टरमा पुगेको छ । जुन ३६ प्रतिशतले वृद्दि हो ।
त्यस्तै आलु उत्पादनका लागि उपयोग भएको ५ सय ४४ हेक्टर जमिनबाट ६ सय १० हेक्टर पुगेको छ । यो १२ प्रतिशत बढी हो । धान जोनतर्फ ६ सय ५० हेक्टरबाट बढेर १ हजार ४ सय २७ हेक्टर पुगेको छ । यो ११९ प्रतिशत वृद्दि हो । तरकारी उत्पादनमा १४ प्रतिशत वृद्दि भएको छ । बाख्रा जोन बनेपछि आर्थिक वर्ष २०७८÷०७९ मा २६ हजार ६ सय ७५ बाख्रा रहेकोमा अहिले बढेर ४१ हजार ५ सय १३ वटा पुगेको छ ।
बागलुङमा पछिल्लो दुइ वर्षमा अलैची जोन पनि बनेको छ । अलैची जोनका लागि ३ सय ३९ हेक्टर जमिन उपयोग भएको पौडेलले जानकारी दिए । त्यसबाट २ हजार केजी अलैची उत्पादन समेत भैसकेको छ ।
परियोजनाले जोन क्षेत्रमा प्रशोधन उद्योगका लागि भवन निर्माण गर्ने, रस्टिक स्टोर बनाउने, बीउ भण्डारनका लागि भवन बनाउने र कृषि यान्त्रिकरणका लागि उपकरणहरु सहयोग गर्ने काम गरेको छ । चक्लाबन्दीमा सुन्तला, ओखर, तरकारी र कागती खेती लगाइएको छ भने केही स्थानमा किवी र स्याउ रोपिएको हो । बाख्राको नस्ल सुधार गरेर उत्पादन बढाइएको पौडेलले बताए । मौरीपालक किसान, अचार बनाउने, बाँकोको गुन्दु्रक तथा आलुको चिप्स बनाउने किसान समूहका लागि प्याकेजिङ र लेबलिङमा परियोजनाले साथ दिएको हो ।
धान जोन बिस्तारका लागि जेठोबुढो धानको बीउ ७ हेक्टरमा लगाइएको हो । त्यस्तै मकै जोनतर्फ १५ हेक्टरमा अरुण २ र मनकामना ३ जातको बीउ प्रमाणित समेत गरिएको हो । त्यसबाहेक बाख्राको खोर निर्माणमा अनुदान र प्राविधिक सहयोग गरिएको छ । आलु जोनतर्फ ६ वटा समूह, बाख्रातर्फ १६ किसान, र अलैचीतर्फ ४५ किसान बढाइएको हो ।
परियोजनाले उद्यमशिलता कार्यक्रम पनि संचालन गरेको छ । बागलुङ नगरपालिका ६ स्थित पञ्चकोट कृषि फर्ममा प्राविधिक सहयोग गरेर अटोमेसन निर्माण भएको हो । स्थानीय किसान गंगाबहादुर थापाले अटोमेसन विधिमा सुन्तलाको बिरुवा रोपेका छन् । च्याउ खेतीमार्फत आयआर्जन बढाउन सहयोग, बाँझो जमिन एकीकृत गरेर बहुवर्षे फलफूल खेती गरिएपछि भुउपयोग पनि बढेको हो ।
पहाडी क्षेत्रमा चक्लाबन्दी बनाएपनि तोकेको क्षेत्रफल पु¥याउन नसक्दा केही कठिन भएको र त्यसले लक्ष्य प्राप्तीमा असर परेको पौडेल गुनासो गर्छन् । क्षेत्रफलको मापदण्ड घटाएमा पहाडी जिल्लामा थप उपलब्धी हासिल गर्न सकिने उनको भनाइ छ ।
चालु वर्षपनि परियोजनाले जोन र सुपरजोन प्रभाव क्षेत्रमा उत्पादनको क्षेत्रफल बिस्तारको कार्यक्रम राखेको छ । त्यस बाहेक सुधारिएको भट्टी निर्माण गरी अलैची प्रशोधन र बजारीकरण गर्ने लक्ष्य समेत छ । यो लक्ष्यमा काम गर्दा जिल्लाको कृषि उत्पादकत्व बढ्ने, लागत घट्ने र बाँझो बन्दै गएका जमिनहरु पुन उपयोगमा आएर उत्पादन बढ्ने अवस्था आउने देखिएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । उत्पादकत्व बढाउन सकेमा युवाहरु स्वरोजगरा बन्ने र बाँझो जमिन उपयोग हुने उनको भनाइ छ ।