बागलुङ, १९ भदौ-यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत हरिप्रसाद भुसालले पाएका छन् ।
स्वास्थ्य खबरपत्रिकाले स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गर्दै आएको छ । भुसाल स्वास्थ्य सेवा प्रवाहमामात्र सिमित नरही नवीनता र स्थायी समाधानमा केन्द्रित भएर काम गरेका कारण पालिकाको स्वास्थ्य सूचकांकमा उल्लेखनीय सुधार आएका छन् । उनको कामको अन्य पालिका र माथिल्लो निकायले पनि अनुकरणीय रहेको बताएका छन् । स्वास्थ्य संस्थाको डिजिटलीकरण उनको पहिलो काम थियो । यसैगरी गाउँ–गाउँका स्वास्थ्य चौकीमा बिजुली, इन्टरनेट, कम्प्युटर र ईएचएमआईएस, ईएलएमआईएस, डीएचआईएस–२, पीआरटीपी, परिवार स्वास्थ्य प्रोफाइल जस्ता प्रणाली स्थापना गरेर स्वास्थ्य सेवा अधिक पहुँचयोग्य र पारदर्शी बनाएका छन्।
पोषण प्रवद्र्धनलाई प्राथमिकतामा राखेका उनले नमुना पोषण कार्यक्रम, नियमित वृद्धि अनुगमन, विद्यालयमा बाल पोषण कार्यक्रमलाई पनि उत्तिकै महत्व दिएका छन् । शुद्ध खानेपानी र सरसफाइमा पनि उनले एक घर–एक धारा अभियान, विद्यालय बाल शिक्षा तथा सरसफाइ सचेतना कार्यक्रम निरन्तरता दिएका छन्। सबै स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मी, आवश्यक उपकरण र रेफरल यातायात सुविधा सुनिश्चित गरेर २४ घण्टा सुरक्षित प्रसूति सेवा सञ्चालनमा उल्लेखनीय भूमीका निभाएका छन् । गाउँकै स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र सञ्चालन गरेर स्थानीयहरूलाई सेवा दिएका छन्।
साथै विषादी रहित कृषि प्रवद्र्धन कार्यक्रम, गर्भवती र सुत्केरी आमालाई पोषण सामग्री वितरण, जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरूको नियमित स्क्रिनिङमा उनले काम गरिरहेका छन् । गाउँघरमा घरमै प्रसूति शून्यमा झरेको छ र अस्पतालमा सुरक्षित प्रसूति गर्नेहरू बढेका छन्। २०५३ सालमा अहेव पदमा नियुक्ति पाएपछि उनले जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङमार्फत औपचारिक रूपमा स्वास्थ्य क्षेत्रमा प्रवेश गरे। उनले बागलुङकै रिघा, अमरभूमि, पर्वतको खुर्कोट, वहाकीठाँटी स्वास्थ्य चौकी हुँदै गाउँ–गाउँमा स्वास्थ्य सेवा पुर्याए। संघीयता कार्यान्वयनसँगै २०७४ सालदेखि विहादी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा रहेका उनले झन्डै २ वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत बोक्दै पनि स्वास्थ्य क्षेत्रमा ध्यान कायम राखे।
उनका योगदानलाई जिल्ला र समुदायले उच्च मूल्यांकन गरेको छ। उनले आफ्नो भविष्यमा गर्ने योजनामा पोषणमैत्री स्थानीय शासन प्रवद्र्धन, कडा तथा दीर्घ रोगको स्क्रिनिङ, वार्षिक परीक्षण र सचेतना कार्यक्रम राखेका छन्। विद्यालयस्तरमा स्थानीय उत्पादनबाट बनेको दिवा खाजा कार्यक्रम निरन्तर अघि बढाउने र स्वास्थ्यकर्मीका लागि आवश्यक तालिम र प्रोत्साहनलाई प्राथमिकता राख्ने बताउँछन्।