बागलुङ/उच्च अदालत पोखरा, बागलुङ इजलासमा सरुवा भइ आएका तीन जना न्यायाधिसलाई स्वागत गरिएको छ । नेपाल बार एसोसिएसन, उच्च अदालत बार इकाइको आयोजनामा न्यायाधिसहरु सरलाकुमारी पाण्डे, दण्डपाणि शर्मा र बालकृष्ण गैरेलाई स्वागत तथा सम्मान गरिएको हो ।
गैरे नयाँ नियुक्ति भएर उच्च अदालत बागलुङ आएका हुन् भने पाण्डे र शर्मा सरुवा भएर आएका हुन् । मुख्य न्यायाधीश नातीबाबु लामिछाने र नवआगन्तुक तीनजना गरी अदालतमा चार न्यायाधीश पुगेका छन् । दरबन्दी अनुसारको न्यायाधीश आएपछि अदालतले पूर्ण रुपमा काम गर्ने अवस्था बनेको लामिछानेले बताए ।
स्वागत तथा सम्मान कार्यक्रममा लामिछानेले न्याय सम्पादन छिटो र छरितो तथा चुस्त बनाउन बार बेञ्चको सहकार्य महत्वपूर्ण भएको बताए । उनले बडा दशैंको सबैलाई शुभकामना पनि दिए ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा, कृष्णप्रसाद शर्मा निउरे, भूमिश्वर शर्मा गौतम, न्यायाधीशहरु सरलाकुमारी पाण्डे, दण्डपाणि शर्मा र बालकृष्ण गैरेले पनि शुभकामना व्यक्त गरे । उक्त अवसरमा पर्वत जिल्ला बारका अध्यक्ष पुण्यप्रसाद सुवेदी, पोखरा उच्च अदालत बारका पूर्वसचिव दुर्गेशराज पन्त, पोखरा बारकै सदस्य कमल पौडेल, उच्च बार इकाइ बागलुङका पूर्वअध्यक्ष अखिलनाथ शर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
बार इकाई बागलुङका अध्यक्ष गीता श्रीषको अध्यक्षता, सचिव उमाशंकर सापकोटाको संचालन र उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । सोमबार घटस्थापना भएकोले आइतबारदेखि नै अदालतहरु बन्द रहन्छन् । दशैंको पूर्णिमासम्म बन्दीप्रत्यक्षीकरणको मुद्दामात्रै हेर्ने अदालती चलन छ ।