२६ भाद्र २०८३ , शुक्रबार

२६ भाद्र २०८३ , शुक्रबार
  • २६ भाद्र २०८३ , शुक्रबार
  • September 11 2026

मिराजले प्रधानमन्त्रीसँग राखे पाँच एजेन्डा, दशैपछि फेरि भेट्न जाने


जनमञ्च संवाददाता
  • १४ असोज २०८२ , मंगलबार

  • मिराजले प्रधानमन्त्रीसँग राखे पाँच एजेन्डा, दशैपछि फेरि भेट्न जाने

    काठमाडौं / जेनजी अभियन्ता मिराज ढुंगानाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीसँग गरेको भेटमा आफूले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नका लागि सुझाव दिएको बताएका छन् । यो एजेन्डालाई आफूहरुले नछोड्ने र निरन्तर दवाव दिने उनको भनाइ छ ।

    मिराजका अनुसार उनले गत शुक्रबार बालुवाटारमा प्रधानमन्त्री कार्कीलाई भेटेर जेनजीका एजेन्डाहरुबारे छलफल गरेका थिए । उक्त छलफलका क्रममा आफूले चारवटा विषयहरु राखेको उनले बताए । जसमध्ये पहिलो थियो, प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान । उनले अहिलेकै अवस्थामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रणाली ल्याउन मिल्छ कि मिल्दैन भनेर सोधेका थिए । यसमा कार्कीले ‘संविधानअनुसार जाँदा नमिल्ने’ जवाफ दिइन् ।

    मिराज भन्छन्, ‘उहाँले त्यस्तो जवाफ दिएपछि मैले भनेँ– तपाईंको नियुक्ती पनि त संविधान अनुसार भएको होइन । उहाँले आवश्यकताको सिद्दान्तअनुसार आफू प्रधानमन्त्री बनेको बताउनुभयो । ठीकै छ । यसलाई के गरेर हुन्छ, कसो गरेर हुन्छ हामीले यसको लागि फाइट गर्छों । प्रत्यक्ष निर्वाचित आउनैपर्यो भन्ने मेन एजेन्डा हो । त्यसका लागि हामी के गर्नुपर्छ गर्छौं ।’

    त्यसपछि उनले यो सरकारमा जेनजीको प्रतिनित्वको सम्भावनाबारे सोधेका थिए । कार्कीले यसमा सकारात्मक संकेत गरेको ढुंगानाले बताए । उनी भन्छन्, ‘मैले यो सरकारमा जेनजी को प्रतिनिधित्व हुन्छ कि हुँदैन भनेर सोधेँ । उहाँ पोजिटिभ नै देखिनुहुन्थ्यो । उहाँले मन्त्रीका लागि अझै ठाउँ खाली छ, तपाईंहरुले राम्रो डेलिभरी दिन सक्ने जेनजीको मान्छे अघि सार्नुभयो भने सोच्न सकिन्छ भन्नुभयो ।’

    ढुंगानाले अघि सारेको तेस्रो एजेन्डा थियो भ्रष्टाचार नियन्त्रण सम्वन्धी । यो एजेन्डामा पनि सकारात्मक कुराकानी भएको उनले बताए । ‘भ्रष्टाचार नियन्त्रणको विषयमा भइरहेको छ भनेर सोधेँ । उहाँले भन्नुभयो कि अहिले नै कति मानिसहरुको फाइल खुल्न थालिसक्यो । दशैंपछि काम हुन्छ र मुद्दा दर्ता गर्ने प्रक्रियामा जान्छ । अलि ढिला होला तर कानून टेकेरै जानुपर्ने हुन्छ, दशैंपछि फास्ट ट्र्याकमै जान्छ भन्नुभएको छ,’ उनले सुनाए ।

    आफूले चुनाव तोकिएको समयमा हुन सक्ने सम्भावनाको बारेमा पनि सोधेको ढुंगाना बताउँछन् । प्रधानमन्त्रीले ६ महिनामा चुनाव गर्न सकिने भनेर आश्वस्त तुल्याएको उनको भनाइ छ ।  ‘उहाँका अनुसार चुनावका लागि ९७ वटा सामान चाहिँदो रहेछ । त्यसमध्ये ८१ वटा अलरेडी छ, खासै समस्या हुँदैन भन्नुभयो । टाइमली चुनाव हुन्छ भन्ने उहाँको भनाइ थियो,’ ढुंगानाले भने ।

    उनले उठाएको पाचौँ एजेन्डा थियो, विदेशमा रहेका नेपालीहरुको मताधिकारका विषयमा । यस विषयमा भएको कुराकानीबारे मिराजले यसरी सुनाएः
    ‘विदेशमा रहेका नेपालीले भोट गर्न पाउनुहुन्छ कि पाउनुहुन्न भन्ने पनि मेरो सरोकारको विषय थियो । देशमा बेरोजगारीले गर्दा विदेश जानु परेको हो । राज्यले उनीहरुको जिम्मेवारी लिनुपर्छ र मताधिकार दिनुपर्छ भनेर हामीले पहिलेदेखि कुरा राखेका छौं । प्रधानमन्त्रीज्यूले यस विषयमा पनि काम भइरहेको बताउनुभयो । केही देशसँग कम्युनिकेसन भइरहेको छ भन्नुभयो । कति देशमा पाईंदैन रहेछ, कतिमा स्वीकृति लिनुपर्ने रहेछ भोट गर्न । मैले फिजिकल्ली भोट गर्न नमिले अनलाइन सिस्टमबाट भए पनि छुटाउनु हुँदैन भनेको छु । यसका लागि प्लानहरु लिएर आउनु भन्नुभयो । दशैंपछि प्रधानमन्त्रीको कार्यालय खुल्ने वित्तिकै फेरि यो बारेमा कुरा गर्न जान्छु ।’

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend