८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैङ्कको अनुमान


जनमञ्च संवाददाता
  • २२ असोज २०८२ , बुधबार

  • आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने विश्व बैङ्कको अनुमान

    काठमाडौं / चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको अशान्ति र बढेको राजनीतिक तथा आर्थिक अनिश्चितका कारण आव (सन् २०२५/२६) मा आर्थिक वृद्धि २.१ प्रतिशतमा झर्ने अनुमान विश्व बैङ्कले गरेको हो ।

    दक्षिण एसियाको विकासको अद्यावधिक प्रतिवेदन ‘साउथ एसिया डिभलपमेन्ट अपडेट’ शीर्षकमा मङ्गलबार प्रकाशित प्रतिवेदनमा आर्थिक वृद्धिको सम्भावित घट्ने दायरा विद्यमान वृद्धिदरभन्दा १.५ देखि २.६ प्रतिशत हुने अनुमान गरिएको छ । आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत थियो ।

    जेनजी आन्दोलनका क्रममा भएको अशान्तिका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमनमा तीव्र गिरावट आउने र सम्पत्ति नोक्सानीले बिमा उद्योगलाई असर गर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । लगानीकर्ताको कमजोर विश्वासले निजी लगानी र गैरजलविद्युत् निर्माणमा बाधा पु¥याउने प्रक्षेपण विश्व बैङ्कको छ ।

    धान उत्पादन हुने मुख्य क्षेत्रमा ढिलो भएको वर्षाले कृषि क्षेत्रलाई बाधा पु¥याउने तर पुनर्निर्माण प्रयासले पुनर्लाभलाई समर्थन गर्ने र आव सन् २०२७/२८ मा गति लिने अपेक्षा गरिएको छ । सन् २०२६ मा भने नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशत रहने प्रक्षेपण विश्व बैङ्कको छ । यो प्रतिवेदनले नेपालमा एक महिनाअघि भएको जेनजी आन्दोलनको क्षतिलाई ध्यानमा राख्दै यस्तो प्रक्षेपण गरेको हो ।

    सरकारी र निजी क्षेत्रले सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार सार्वजनिक सम्पत्तिमा एक खर्ब र सङ्गठित निजी क्षेत्रको सम्पत्तिमा ८० अर्ब रुपियाँ बराबरको क्षति पुगेको छ । यसका निजी क्षेत्रको क्षतिको दायित्व बिमा कम्पनीबाट हुने भए पनि सरकारी भौतिक सम्पत्तिको बिमा नभएका कारण क्षतिको सम्पूर्ण दायित्व सरकारको थाप्लामा परेको छ ।

    बिमा कम्पनीमा परेको दाबीको पछिल्लो विवरण अनुसार निजी क्षेत्रबाट २३ अर्ब ३९ करोड रुपियाँ बिमा कम्पनीमा दाबी परेको छ । दाबी आउने क्रम जारी रहेकाले यसमा अरू रकम थपिने छ ।

    बिमा कम्पनीले भुक्तानी गर्ने काम थालेका छन् । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपियाँ दाबी भुक्तानी गरेको छ । उक्त कम्पनीले हालसम्म क्षतिपूर्ति दाबी गरिएका २८७ वटा दाबीमध्ये २४५ वटाका लागि उक्त रकम भुक्तानी गरेको जनाएको छ ।

    विश्व बैङ्कको प्रतिवेदनमा जेनजी आन्दोलनसम्मको मूल्याङ्कनलाई आधार मानेर विवरण सार्वजनिक भए पनि त्यसको एक महिनापछि यही असोज १८ र १९ गतेको मुसलधारे वर्षाका भएको भौतिक तथा पूर्वाधारको क्षतिले आर्थिक वृद्धिको प्रक्षेपणलाई अरू तल झार्ने सम्भावना रहेको छ । बाढीपहिरोबाट भएको क्षतिको विवरण आइसकेको छैन ।

    भुटान सबैभन्दा माथि

    प्रतिवेदन अनुसार सन् २०२६ मा दक्षिण एसियाली देशमा भुटानको आर्थिक वद्धिदर सबैभन्दा बढी ७.३ प्रतिशत रहने छ । त्यसपछि भारतको ६.५ प्रतिशत, बङ्गलादेशको ४.८ प्रतिशत, माल्दिभ्स ३।९ प्रतिशत र श्रीलङ्काको ३।५ प्रतिशत रहने प्रक्षेपण छ । विश्व बैङ्कले यस प्रतिवेदनमा पाकिस्तानलाई समावेश गरेको छैन । प्रतिवेदनले नेपालमा जेनजी आन्दोलन जस्तै बङ्गलादेश र श्रीलङ्कामा भएका आन्दोलनको पनि विश्लेषण गरेको छ । प्रतिवेदनको मुख्य विषय भने रोजगारी, कृत्रिम बौद्धिकता र व्यापार रहेको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend