बागलुङ / जिल्लाको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनीधामकोे महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ । नगरपालिकाको प्रमुख धार्मिक गन्तव्यको रुपमा जैमिनीधामको प्रर्बद्धन मार्फत धार्मिक पर्यटक भित्राउने योजना अनुसार जैमिनी ऋषिको विशाल प्रतिमा निर्माण गरिएको छ । जैमिनी नगरपालिकाको जग्गा व्यवस्थापन तथा कालिका कन्ट्रक्सनका विक्रम पाण्डेको लगानीमा झण्डै रु.२० लाख खर्चेर जैमिनी ऋषिको प्रतिमा निर्माण गरिएको हो ।
कालीगण्डकी करिडोर कालो पत्रको जिम्मा पाएको निर्माण कम्पनीले सामाजिक उत्तरदायित्व अन्तरगत करिडोरको छेउमै रहेको जैमिनीधाममा जैमिनी ऋषिको मूर्ति निर्माण गरेको गरेको जनाएको छ ।
जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा जग्गा व्यवस्थापन, १०८ धारा निर्माण, ध्यान पार्क निर्माणका लागि जग्गा व्यवस्थापन लगायतको काम भइरहेको र अहिले नगरपालिका र कालिका कन्ट्रक्सनको सहकार्यमा जैमिनी ऋषिको विशाल प्रतिमा निर्माण गरिएको नगरउपप्रमुख हरिहर शर्माले बताए ।
जैमिनी ऋषिले तपश्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण गर्न पूर्वाधार निर्माण र प्रचार–प्रसारको काम भइरहेको र जैमिनी ऋषि चिनाउनका लागि पहिला प्रतिमा निर्माण गरिएको हो ।
जग्गा छनोट, जग्गा व्यवस्थापन नगरपालिकाले गरेको र प्रतिमा निर्माणको काम कालिका कन्ट्रक्सनले गरेको उपप्रमुख शर्माले बताए । ऋषिको प्रतिमा ६ फिट भन्दा अग्लो र चार फिट चौडा रहेको छ । ऐतिहासिक धार्मिक स्थललाई चिनाउन यसले ठूलो भूमिका खेल्ने छ ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोर कालोपत्र भएसंगै जैमिनीधामको महत्व बढेको र सडकबाटै देखिनेगरी मूर्ति निर्माण गरिएको हो । राजमार्गमा गुड्ने सवारीधानमा हिडेका पर्यटकहरु जैमिनीधाम दर्शनका लागि पुग्न थालेपछि नगरपालिकाले पूर्वाधार निर्माणमा जोड दिएको हो ।