२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

स्कुल बस दुर्घटनाः सर्वपक्षिय बैठकले बनायो छानविन समिति


जनमञ्च संवाददाता
  • १ फाल्गुन २०८२ , शुक्रबार

  • स्कुल बस दुर्घटनाः सर्वपक्षिय बैठकले बनायो छानविन समिति

    बागलुङ / बागलुङ नगरपालिका वडा नम्बर ३ हाडेपाखामा बिहीबार साँझ भएको स्कुल बस दुर्घटनाको सत्यतथ्य छानबिन गर्न सर्वपक्षिय बैठकले छानबिन समिति गठन गरेको छ । शुक्रवार दिउसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठकले छानविन समिति बनाई दोषीलाई कारवाही गर्ने सहमती गरेको छ । समितिलाई ७ दिनभित्रमा प्रतिवेदन पेश गर्न कार्यदेश दिइएको छ ।

    शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख प्रकाशबन्दु अर्यालको संयोजकत्वमा गठन गरिएको छानविन समितिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिन बहादुर कुँवर, यातायात व्यवस्था कार्यालय बागलुङका मेकानिकल ईञ्जिनीयर सुरेश जैशवाल, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम बहादुर विश्वकर्मा, पीडित पक्षको तर्फबाट प्रिया किसान र कुशल बोहरा तथा निजी तथा आवासीय विद्यालयको तर्फबाट दल थापा रहेका छन् ।

    बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको अध्यक्षतामा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले समिति गठन गरेको हो । बैठकका सहभागीले दुर्घटनाका घाइते बालबालिको स्वास्थ्य उपचार, मृतकका परिवारलाई उचित राहत र क्षतीपूर्तीको व्यवस्थासँगै घटनाको सत्यतथ्य छानविन गरेर दोषीलाई कारबाही गर्ने सहमती गरेको बैठकका सहभागीले बताएका छन् ।

    उक्त दुर्घटनामा परेर १ जनाको मृत्यु भएको छ भने शिक्षिका र ड्राइभरसहित २५ जना घाइते भएका छन् । बैठकमा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट किरण तिवारीले घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको बताए । उनले ती दुई जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताए ।

    मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको ७ जनामध्ये सवै खतरामुत्त रहेको र एक जनाको डिस्चार्ज भएको बताए । धौलागिरी अस्पताल बागलुङ उपचाररत १६ जनाको अवस्था समान्य रहेको र उनीहरुमध्ये केहीलाई शुक्रबार साँझ र बाँकीलाई शनिबार घर पठाउन सकिने डा. तिवारीले जानकारी दिए ।

    बैठकमा बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठले दुर्घटनाको कारण पत्ता लगाएर पीडितलाई न्यायको महशुस बनाउने गरि समितिलाई अध्यन गर्न आग्रह गरे । उनले अहिलेको प्राथमिकता घाइतेको उपचार भएको भन्दै उपचारमा कुनै कमी नहुने प्रतिवद्धता व्यक्त गरे ।

    बैठकमा पिडितको तर्फबाट प्रिया किसानले घाइतेको तत्कालिन र दीर्घकालिन उपचार, दोषीलाई कारबाही, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था, मृतकका परिवारलाई राहत र क्षतीपूर्तिको व्यवस्था गर्न आग्रह गरिन । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण गौतम र प्रिन्सिपल कृष्ण अधिकारीले घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

    बैठकमा धौलागिरी प्रादेशिक अस्पताल बागलुङका अध्यक्ष श्रीप्रसाद शर्माले अस्पताल प्रशासन, व्यवस्थापन, जिल्लाको सुरक्षा संयन्त्र र जनप्रतिनिधिको सहयोग र समन्वयमा घाइतेको प्रभावकारी उपचार सम्भव भएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले सामाजिक सञ्जालमा गरिएका अपूर्ण र भ्रमपूर्ण सूचनाका कारण अस्पतालमा अनावश्यक भिड बढ्दा घाइतेलाई सहजरुपमा उपचार गर्न समस्या भएको बताउदै सर्वसाधरण सचेत र संवेदनशिल नहुँदा अफ्ट्यारो परिस्थिती बनेको भएपनि सबै नियन्त्रण गरेर घाइतेको उपचार गरिएको जानकारी दिए ।

    बैठकमा राजनैतिक दलका प्रतिनिधी, जनप्रतिनिधी, सुरक्षा निकायका प्रमुख, पिडितका परिवार, विद्यालय व्यवस्थापन समितिका सदस्य, नीजि विद्यालयका प्रिन्सिपल, नागरिक अगुवाहरुको सहभागिता थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend