पोखरा/गण्डकी प्रदेशसभाका उपसभामुख विनाकुमारी थापाले स्थानीयसंग जोडिएर समाजसेवा गर्न पाउनु सौभाग्य भएको बताएकी छन् ।
बागलुङ समाज पोखराले शनिवार ड्याम साइडमा आयोजना गरेको २५औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै उपसभामुख थापाले बागलुङ समाज पोखराले आफ्नो जन्मथलोसंग जोडिएर सामाजिक सेवाका कार्य गरेकोमा खुशी ब्यक्त गर्दै यसलाई निरन्तरता दिनुपर्ने बताइन् ।
सामाजिक संघसंस्थाहरु आपत विपतमा काम लाग्ने बताउदै उनले समाजको रचनात्मक र सिर्जनात्मक कामले पहिचान बनाएकोमा बागलुङ समाज पोखरालाई धन्यवाद दिइन् ।
आफ्नो जन्म ठाउँ, गृह जिल्ला र समाजको विकासमा आफुँ जहाँ रहेपनि जोडिरहनु पर्नेमा उनको जोड थियो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आफ्नो जिल्लाको कार्यक्रममा पहिलोपटक जोडिन पाउँदा खुशी भएको बताउदै यसको रचनात्मक कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । ‘म जहाँ रहेपनि म बागलुङे छोरी र बुहारी हुँ, योसंग मेरो छुट्टै माया र समबन्ध छ ।’ प्रजिअ शर्माले भनिन्, ‘म आफ्नो तर्फबाट समाजसंग जोडिइरहने छु ।’
कार्यक्रममा उपसभामुख थापा र प्रजिअ शर्मा लगायतले समाजले रजत जयन्तीको अवसरमा प्रकाशन गरेको ‘रजत जयन्ती स्मारिका’ सार्वजानिक गरेका थिए ।
सो अवसरमा समाजले ४ जना जेष्ठ नागरिक चिरञ्जिवी श्रेष्ठ, उपेन्द्रराज पन्त, बम बहादुर छन्त्याल र राम प्रसाद पाण्डेलाई सम्मान गरेको थियो । कार्यक्रममा प्रेम प्रसाद स्मृति अक्षयकोष र हरिलाल कँडेल स्मृति अक्षयकोषबाट विभिन्न बिद्यामा विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा समाजका अगुवाहरुले शुभकामना मन्तब्य राखेका थिए ।
समाजका अध्यक्ष ठाकुर प्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गगा बहादुर पुनले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकृष्ण सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष नरेश सुवेदीले स्वागत मन्तब्य राखेका थिए ।