पोखरा/पोखरा महानगरपालिकाले अतिक्रमणमा परेको पोखरा बसपार्कको जग्गा खाली गराउन सहमतिको बाटोहरु खुल्दै गएका छन् । पोखरा बसपार्कमा व्यवसाय गर्दै आइरहेकाहरुले सर्वोच्चमा मुद्धा हालेपछि अफ्ठ्यारोमा परेको पोखरा महानगरपालिकाले सहमति जुटाएसंगै त्यहाँ रहेको व्यवसायिक संरचनाहरु हट्ने भएका छन् ।
पोखरा बसपार्कभित्रका संरचना हटाउन पटक पटक जारी गरेको सूचनाअनुसार मिति सकिएसँगै डोजर लगाउने तयारी गरिरहँदा महानगरपालिका विरुद्ध अदालतमा रिट परेको थियो । सो रिटपश्चात अदालतले डोजर नचलाउन आदेश गरेपनि मुद्धा फिर्ता गर्ने सहमति भएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सात दिनको म्याद दिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा बसपार्कबारे लेख्दै उच्च अदालतमा परेको मुद्धा फिर्ता लिने काम भएसँगै संरचनाहरु भत्काउने सहमति भएको बताए । मेयर आचार्यका अनुसार निवेदकहरुले रिट गरेको मुद्धा फिर्ता लिने र महानगरपालिकाले समेत त्यहाँ रहेका सटर तथा क्बलहरु सात दिनभित्र हटाउने सहमति भएको हो ।
मेयर आचार्यले भनेका छन्, ‘पोखरा बसपार्कको उत्तरी क्षेत्रमा (पेट्रोल पम्प रहेको लाइन) अवस्थित जग्गाधनीहरूले पोखरा महानगरपालिकाविरुद्ध सम्मानित उच्च अदालतमा दायर गर्नुभएको रिट निवेदन सम्पूर्ण निवेदकहरूको तर्फबाट मुद्दा फिर्ता लिने, बसपार्क निर्माण कार्यलाई सहजीकरण गर्न दुवै पक्षले आवश्यक सहयोग गर्ने तथा भविष्यमा निर्माण हुने संरचनाहरू महानगरपालिकाले तोकेको मापदण्डबमोजिम निर्माण गर्ने सहमति भएको छ । साथै, हाल सञ्चालनमा रहेका सटर तथा कबलहरू आजको मितिले ७ दिनभित्र पूर्ण रूपमा हटाउने सहमति समेत भएको छ ।’ करिब आधा शताब्दीदेखि विभिन्न कारणले रोकिँदै आएको थियो ।