बागलुङ/अमर आदर्श आवासीय माध्यमिक विद्यालयमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूलाई भव्य कार्यक्रममार्फत स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थीहरूको आयोजना तथा संयोजनमा स्वागत कार्यक्रम गरिएको हो ।
विशेष आकर्षणका रूपमा चर्चित गायक तथा सर्जक प्रल्लाद सुवेदी र घनश्याम रिजालले प्रस्तुत गरेका गीत–संगीतले कार्यक्रमको वातावरण उत्साहपूर्ण बनाएको थियो । साथै, कक्षा ११ र १२ का विद्यार्थीले विविध साँस्कृतिक प्रस्तुती गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल हेमन्त थापाले आगामी दुई वर्षको यात्रामा विद्यार्थीले केवल शैक्षिक ज्ञानमात्र नभई जीवन बुझ्ने दृष्टिकोण, नियमित अध्ययन, समयको सही उपयोग र सकारात्मक सोचको अभ्यास गर्न आग्रह गरेका थिए ।
विद्यालयका संस्थापक अध्यक्ष विजयराज पन्तले विद्यालयले गुणस्तरीय शिक्षा, दृढ अनुशासन, व्यवहारिक सीप र उच्च नैतिक मूल्यका साथ जिम्मेवार र प्रेरणादायी नागरिक तयार पार्ने लक्ष्य राखेको उल्लेख गर्दै, विद्यार्थीहरूको हरेक कदममा सहयोग, सही मार्गदर्शन र अवसर प्रदान गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा कक्षा १२ का दिपा पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् भने कक्षा ११ का आशिका क्षेत्री, मनिषा केसी र विजया शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
कक्षा १२ का विद्यार्थी पुष्कर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन एलिसा घर्ती र खुसी थापा तथा सञ्चालन सहप्राचार्य कमल पन्तले गरेका थिए । आयोजकले यस प्रकारका कार्यक्रमले नयाँ र पुराना विद्यार्थीबीच आपसी चिनजान र मित्रताको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेका छन् ।