बागलुङ /एकैदिन विद्यालयका ४ देखि ५ जनासम्म विद्यार्थीमा अर्ध बेहोसीपनको अवस्था देखिएपछि विद्यालय नर्सको जिम्मा उनीहरुलाई हेरेरै बस्ने अवस्था हुन्छ । अभिभावकलाई उक्त जानकारी गराउँदा नपत्याउने गरेको बागलुङ नगरपालिकाकी विद्यालय नर्स सबिता ज्ञवालीले बताइन् ।
बागलुङ नगरपालिकाले नगरभित्रका ५ विद्यालयमा विद्यालय नर्सको व्यवस्था गरेको छ । उनीहरुले खोप, औषधी, नियमित स्वास्थ्य परीक्षण, किशोरीहरुलाई महिनावारी लगायतका समस्यामाबारे परामर्श लगायतको काम विद्यालय नर्सले गर्नुपर्छ । त्यस बाहेक सेनिटरी प्याड बितरणको काम पनि भएको छ ।
तर, एकाएक विद्यार्थीमा अर्धबेहोसीपन आउँदा भने निकै तनाबका साथ काम गर्नुपरेको उनले अनुभव सुनाइन् । कतिपयले अनौठो व्यवहार पनि देखाउने गरेका छन् । कोही बिरामी नै पर्छन् । त्यस्तो अवस्थामा विद्यालयका अन्य शिक्षकबाट पनि सहयोग माग्ने गरेको उनले बताइन् । ‘तपाईको बालबालिकालाई मनोसामाजिक परामर्श गराउनुपर्छ भनिदियो भने अभिभावकले पत्याउँदैनन्’ उनले भनिन्, ‘दैनिकजसो यस्ता बिरामी भेटिइन्छन् ।’ विद्यालयमै केही परामर्श गराउने र नभएमा अभिभावकमार्फत अन्यत्र लगेर मनोसामाजिक परामर्शकर्तालाई भेटाउने काम समेत भएको उनको भनाई छ ।
आम विद्यार्थीको स्वास्थ्य सेवामा काम गर्ने जिम्मा भएपनि नसोचेको समस्या समाधानमा लागिरहनुपरेको उनको गुनासो छ । त्यसो त प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले यस्ता समस्या प्रायः किशोरीहरुमा भैरहने बताइन् । उनले ती किशोरीहरुको मनोसामाजिक विमर्शद्वारा मानसिक उपचार गर्ने, नभएमा औषधी उपचार समेत गर्नुपर्ने आवस्यकता औल्याइन् । अघिल्लो वर्ष तमानखोला गाउँपालिका–४ को लामेलामा समेत यो समस्या देखिएकोमा पछिल्लो समय धेरै स्थानमा देखिएको उनको भनाइ छ । उमेर अवस्था, शरीरमा आएको शारिरीक फरकपना, घरायसी समस्या समेतले केही अप्ठ्यारो परिस्थिति आउने र मनमा लागेका कौतुहलताहरु पोख्ने अवसर नपाएका किशोरीमा यो धेरै नै समस्याको रुपमा आउने गरेको उनको भनाइ छ । तनाबमा बस्नेहरुलाई पनि यो समस्या आउने गरेको शर्माले बताइन् । यो समस्या गाउँभन्दा सहरमा बढी हुने गरेको हो । तर, सबै विद्यालय वा अभिभावकले सहजै बाहिर नल्याएका हुन् ।
बागलुङ नगरपालिकाले समग्र स्वास्थ्य संस्था, विद्यालय नर्स र अन्य क्षेत्रमा क्रियाशिल स्वास्थ्यकर्मीको सहभागितामा आयोजना गरेको वार्षिक समीक्षामा सबै स्वास्थ्य संस्थाको प्रगती समेत प्रस्तुतीकरण गरिएको थियो । तर अन्य प्रस्तुतीभन्दा किशोरकिशोरीमा आएको समस्याबारे प्रस्तुतीले धेरैको ध्यान खिचेको थियो ।
प्रदेश स्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटासहित स्वास्थ्यकर्मीको सहभागितामा समीक्षा गरिएको थियो । समीक्षामा हरेक स्वास्थ्य संस्थाले वर्षभरि दिएका सेवाबारे प्रस्तुतीकरण गरेका थिए । कतिपय स्वास्थ्य संस्थाका प्रमुखले वर्षौदेखि भवन मर्मत, नियमित सेवाको उपचार गर्दागर्दै नविनतम काम गर्न नसकेको गुनासो पोखेका थिए । कतिपयले भने बर्थिङ सेन्टर बनेर पनि उपकरण अभाव भएको, दक्ष प्रसुतीकर्मीको व्यवस्था भएझै अन्य सेवाका लागि दक्ष स्वास्थ्यकर्मी बनाउने काम नभएको टिप्पणी गरेका थिए ।
नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले नगर अस्पताल बन्न नसक्दा आफ्नै संरचनामा प्रभावकारी सेवा प्रवाह गर्न नसकेको बताए । त्यसका लागि उनले नगरप्रमुख सहितका जनप्रतिनिधिको चासो बढाउनुपर्नेमा जोड दिए । आवस्यक दरबन्दी कमी भएपनि सेवा प्रवाहमा भने कमीकमजोरी नगरेको उनको भनाइ थियो ।
नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालको अध्यक्षता, जनस्वास्थ्य निरिक्षक विष्णु शर्माको संचालनमा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्मा, सामाजिक विकास समितिका संयोजक ज्ञानेन्द्र गौतम, जनस्वास्थ्य कार्यालयकी लक्ष्मी शर्मा, देवप्रकाश घिमिरेले पनि सुझाव दिएका थिए । पालिकापछि जिल्ला स्तरीय समीक्षा आयोजना गरिने छ । उक्त समीक्षापछि चालु वर्षको कार्यक्रमलाई चुस्त रुपमा संचालन र सम्पन्न गर्न आवस्यक सुझावसहित कार्यान्वयनको चरण थालिने खनालले जानकारी दिए ।