बागलुङ/सोमबार राजधानीमा भएको हिंसात्मक घटनाबिरुद्ध बागलुङमा पनि जेनजीहरुले हजारौंको सहभागितामा आन्दोलन गरेका छन् । जेनजी आन्दोलनकारीले बागलुङका सबै राजनीतिक दलको कार्यालय पुगेर व्यानरहरु आगजनी गरेका छन् । साथै उनीहरुले ती कार्यालय अगाडि टायर पोलेर नाराबाजी समेत गरे ।
स्वतस्फूर्त निस्केको हजारौंको जुलुसले प्रधानमन्त्री सहित शिर्ष नेताहरु बिरुद्द नारा लगाएका थिए । सोमबार जेनजी समूह मात्र रहेकोमा मंगलवार भने अन्य सबै सहभागि थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले आन्दोलनमा बिशेष नेतृत्व गरिरहेका छन् ।
जिल्लाबाट प्रतिनिधित्व गर्ने नेता, नगरप्रमुख सहितका शिर्ष नेताको घरघरमा पुगेर पनि राखिएका झण्डा उखेलेर जलाएका छन् । त्यस्तै जिल्ला प्रशासन कार्यालय अगाडि पनि टायर बालेर सयौं प्रर्दशनकारीले चर्का नाराजुलुस गरेका छन् ।
ताराजुलुस र टायर बाल्दै चर्का गालीगलौजका नारा लगाएपनि प्रहरी संयम बनेको थियो । प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले आन्दोलनमा संयम अपनाइएको बताए । ‘कतैपनि अप्रिय घटना हुन नदिन प्रहरीलाई नै संयम बनाइएको छ’ गुरुङले भने, ‘निशेधाज्ञा वा कर्फु लगाउने योजना पनि छैन ।’ स्वतस्फूर्त आएका युवा र अभिभावकलाई पनि संयमपुर्वक आन्दोलन गर्न सुझाव दिएको उनले बताए ।
जेनजी समूहले सोमबार बेलुकी नै मंगलबारका लागि बागलुङ बन्दको आब्हान गरेका थिए । त्यसैले यहा“बाट लामो तथा छोटो दुरीमा चल्ने सवारी केहीपनि चलेनन् । बजारभित्र र तरकारी, पानी र दूध बेच्ने सवारी भने निर्वाध रुपमा संचालनमा छन् ।
जेनजी पुस्ताको आन्दोलनको क्रममा सोमबार भएको नरसंहारकारी घटनाको उच्च अदालत बार एसोसिएसन बागलुङले भत्र्सना गरेको छ । यो घटना मानवअधिकार र विधिको शासनको गम्भिर उलंघन भएको बारले ठहर गरेको छ ।
मंगलवार बिहान बार अध्यक्ष गीता श्रीषको अध्यक्षतमा बरिष्ठ अधिवक्तासहित बसेको बारको आकस्मिक बैठकले निहत्था, भविष्यका कर्णधार दर्जनौं युवाले आफ्नो अमूल्य जीवन गुमाउनु परेको ह्दय बिधारक घटनाले सम्पुर्ण राष्ट्र शोकमग्न भएको बारको बैठक पछि जारी गरिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बारका सचिव उमाशंकर सापकोटाद्वारा हस्ताक्षर गरिएको बिज्ञप्तीमा सरकारले गरेको यो पासबिक र अमानवीय दमन तथा गैरकानूनी हत्याको बिरोध गरिएको हो ।
बारले घटनामा मृत्यु भएका सबै युवा प्रति श्रद्दाञ्जली व्यक्त गर्दै शोकशन्तप्त परिवारजनमा समवेदना पनि प्रकट गरेको हो । सबै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यले तत्काल निशुल्क उपचारको व्यवस्था गर्नपनि माग गरिएको छ । धरपकड गरेर पक्राउ गरिएका सबैको रिहाइको माग गरेको छ ।
शान्तिपुर्ण आन्दोलनमा मारिएका युवाहरुको घटनाको निश्पक्ष छानविन गरी दोषीमाथी कडा कारवाही गर्नुपर्ने, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्दै सामाजिक संजाल बन्द गर्ने निर्णय खारेज गरिनुपर्ने, देशमा व्याप्त भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न जायज माग यथाशिघ्र पुरा गर्नुपर्ने र विधिको शासन तथा नागरिकको मौलिक हकको पुर्ण पालना गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै स्वतन्त्र, निश्पक्ष र सक्षम न्यायपालिका, विधिको शासन, देशभित्रै भविष्यको सुनिश्चितता र लोकतन्त्रको पक्षमा निरन्तर आबाज उठाइ रहने उच्च अदालत बार सदा कटिबद्द रहेको पनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।