९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कार्की मन्त्रीपरिषदमा तीन मन्त्री छानिए, शपथ भोली


जनमञ्च संवाददाता
  • २९ भाद्र २०८२ , आइतबार

  • कार्की मन्त्रीपरिषदमा तीन मन्त्री छानिए, शपथ भोली

    काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्‍मा तीन जना सदस्य थपेकी छन् । उनले पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्याललाई मन्त्री बनाएकी हुन् । आन्दोलनकारी जेनजीसँगको परामर्शपछि आइतबार राति ती नामको टुङ्गो लागेको हो ।

    खनाललाई अर्थमन्त्री र घिसिङलाई ऊर्जासहित तीन मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय पनि घिसिङले सम्हाल्नेछन् । अर्याललाई गृह तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । अधिवक्ता अर्याल काठमडौं महानगरका मेयर बालेन शाहका कानुनी सल्लाहकार हुन् । तीनै जनालाई आफ्नो मन्त्रिपरिषदमा राख्न कार्कीले आवश्यक सिफारिस राष्ट्रपतिसमक्ष पठाइसकेकी छन् । सोमबार मन्त्रीहरूको शपथ हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

    खनाल र घिसिङ दुवै विगतमा पाएको जिम्मेवारीमा सुशासन कायम गर्ने अधिकारीका रूपमा चिनिन्छन् । आन्दोलकारी जेनजीले रुचाएका व्यक्ति हुन् दुवै जना । जेनजी आन्दोलनपछि आन्दोलनको मागलाई निष्कर्षमा पुर्‍याउन अधिवक्ता अर्यालले भूमिका खेलेका छन् । अन्य मन्त्री छनोटको काम पनि प्रधानमन्त्री कार्कीले आन्दोलनकारी जेनजी युवाहरूको परामर्शमा गरिरहेकी छन् ।

    जेनजी आन्दोलनको मागअनुसार पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् । प्रधानमन्त्री बनेको तेस्रो दिनमा उनले तीन मन्त्री छानेकी हुन् । शुक्रबार राति प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले आइतबार सिंहदरवार पुगेर पदबहाली गरेकी छन् ।

    खनाल, घिसिङ र अर्यालको शपथपछि सानो आकारको मन्त्रिपरिषदबाट कार्कीले आवश्यक कामहरू अघि बढाउने छिन् । थप नामहरूको टुङ्गो लागेपछि अन्य मन्त्रीहरू चयन हुनेछन् । भ्रष्टाचारको विरोधमा जेनजी आन्दोलन भएकाले प्रधानमन्त्री कार्की तथा जेनजी युवाहरूले सुशासन कायम राख्न सक्ने तथा अन्तरिम सरकारको जिम्मेवारी तथा चुनौतीहरूलाई सामना गर्न सक्ने व्यक्तिलाई मन्त्री बनाउन चाहेका छन् । पूर्वसैन्य तथा प्रहरीका अधिकारी तथा पूर्व प्रशासकहरूको नाममा पनि मन्त्री बन्ने चर्चा चलाइएको छ । तर, थप कसैको बारे पनि निर्णय भएको छैन ।

    प्रधानमन्त्रीले महान्यायाधिवक्तामा नियुक्तिका लागि अधिवक्ता सविता भण्डारी बरालको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी छन् । कार्कीले नियुक्तिका लागि गरेको यो पहिलो सिफारिस हो ।

    प्रधानमन्त्री चयनका लागि विभिन्न नाममा सामाजिक सञ्जाल डिस्कर्डमै जेनजी समूहले छलफल चलाएको थियो । त्यहाँ भएको भर्चुअल मतदानमा ५० प्रतिशत बढी मत कार्कीको पक्षमा परेको थियो । त्यसपछि जेनजी समूहले प्रधानमन्त्रीका लागि कार्कीको नाम प्रस्ताव गरेको हो ।

    राष्ट्रपतिबाट अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति पाएलगत्तै कार्कीले प्रतिनिधिसभा विघटन तथा आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्ने पहिलो निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । कार्कीकै सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते शुक्रबार राति ११ बजे प्रतिनिधिसभा विघटन गर्दै चुनावको नयाँ मिति घोषणा गरेका थिए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend