८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

मन्त्री बनेपछि पनि आम मान्छेभन्दा फरक छैनन् महावीर पुन


युवराज श्रेष्ठ
  • १४ असोज २०८२ , मंगलबार

  • मन्त्री बनेपछि पनि आम मान्छेभन्दा फरक छैनन् महावीर पुन

    पोखरा / शिक्षामन्त्री महावीर पुन श्रीमतीसँग सडकमा हिँडिरहेका तस्बिरप्रति धेरै मानिसको ध्यान खिचिएको छ। मन्त्रीले पाउने सुरक्षाकर्मी, गाडी लगायत सुविधा बिना नै उनी हाफ पाइन्ट, टिसर्ट, ह्याट र सामान्य चप्पल लगाएर श्रीमतीसँगै सडकपेटीमा हिँडिरहेका छन्।

    दसैं मनाउन मंगलबार काठमाडौंबाट पोखरा हिँडेका महावीर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ट्याक्सी चढेर नदीपुर घर गए। उनका साथमा न कुनै सुरक्षाकर्मी थियो न सरकारी सवारी। अरूबेला जिल्लामा मन्त्री आउँदा अघिपछि प्रहरीको स्कर्टिङ र झण्डावाला गाडीमा मन्त्रीको सवारी हुन्थ्यो।

    शिक्षामन्त्री पुन घर जाँदा आम मान्छे जसरी नै गए। पोखरा आइपुगेपछि उनलाई कास्की प्रहरीले मंगलबार साँझ नै सुरक्षा दिन खोजेका थिए। तर मन्त्रीले आफूलाई कुनै असुरक्षा नभएकाले सुरक्षाकर्मी आवश्यक नभएको बताए।

    ‘हामीले हिजो नै मन्त्री ज्युलाई सुरक्षाकर्मी पठाउन खोजेका थियौं, मलाई केही छैन पर्दैन भन्नुभयो,’ कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले भने, ‘उहाँले पर्दैन भनेपछि हामीले पनि पठाएनौं।’

    पोखराको सडकपेटीमा हिँडिरहेको मन्त्री पुनको भाइरल फोटो भने मंगलबार बिहानको हो। उनी नदीपुरबाट श्रीमतीसहित न्यूरोड गए। अरू आम मानिस जसरी जान्छन्, त्यसरी नै उनी बजार निस्किए। त्यही बेला खिचिएको फोटोले सामाजिक सञ्जालमा चर्चा पाएको हो।

    अरू मानिसहरू आश्चर्यचकित भएको उनको सादगी तस्बिरबारे उनी आफू भने कुनै आश्चर्यमा छैनन्। मन्त्री हुँदामात्र होइन, अरूबेला पनि यसरी नै आम मान्छे जसरी हिँडडुल गर्ने पुनका अनुसार त्यतिबेला उनी एटिएम गएका थिए।

    ‘आज बिहान श्रीमती र म एटिएमबाट पैसा निकालौं भनेर गएको थिएँ, त्यही बेलाको फोटो हो त्यो,’ उनले भने, ‘यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन।’

    एटिएमबाट पैसा निकालेर उनी मंगलबार नै चितवन गइसकेका छन्। चितवनमा उनका बहिनी र भाइका परिवार बस्छन्। परिवारको जेठो भएकोले बहिनी र भाइका परिवारलाई टिका लगाइदिने उनले बताए।

    ‘मेरो बहिनी, भाइका परिवार सबै चितवनमा छन्, टीका लगाइदिउँ भनेर आएको हुँ,’ उनले भने, ‘टीकाको भोलिपल्ट पोखरा फर्कन्छु, शनिबार काठमाडौं।’

    मन्त्री भएर पनि आम मान्छेझैं हिँडडुल गरिरहेका पुनको लवाइखवाई र बोलीचाली पनि आम मान्छेकै जस्तो देखिएको भन्दै उनको धेरैले प्रशंसा गरेका छन्। मन्त्रीले पनि तडकभडक नगरी सादगी जीवन बाच्न सक्छ भन्ने उदाहरण पुनले दिएको भन्दै सामाजिक सञ्जालमा उनको प्रशंसा भएको छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend