८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

‘अर्ली महाधिवेशन’ मा जान एमाले नेताहरूको जोड


जनमञ्च संवाददाता
  • १९ असोज २०८२ , आइतबार

  • ‘अर्ली महाधिवेशन’ मा जान एमाले नेताहरूको जोड

    काडमाडौं / नेकपा एमालेले ‘अर्ली महाधिवेशन’को तयारी गरिरहेको नेताहरूले बताएका छन्। पुस आसपास महाधिवेशन तोकिन सक्ने उनीहरूकोे भनाइ छ। एमालेले २०७८ मंसिरमा दसौँ महाधिवेशन गरेको थियो। त्यसअनुसार २०८३ मंसिरसम्ममा नियमित महाधिवेशन गर्न सकिन्छ। तर, आफू प्रधानमन्त्री रहेकै बेला महाधिवेशन गर्ने तयारी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। त्यसकै लागि उनले विधान महाधिवेशन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष हुने वैधानिक बाटो बनाइसकेका थिए।

    तर, जेन–जी आन्दोलनपछि देशको राजनीति उथलपुथल भयो। एमालेको नेतृत्वबाट राजीनामा दिन अध्यक्ष केपी शर्मा ओलीलाई बहुमत पदाधिकारीले सुझाव दिएका छन्। ओलीमाथि राजीनामा गर्न दबाब दिने नेताहरूलाई कारबाही गर्ने ओलीको तयारी थियो।

    तर, सचिवालयमा बहुमत गुमाएपछि उनले सो योजना थाती राखेका छन्। अब भने महाधिवेशनमै गएर सकेसम्म आफैँ, र त्यो सम्भावना नभए आफूले रोजेको नेतालाई नेतृत्वमा स्थापित गराउने निचोडमा उनी पुगेको नेताहरूको भनाइ छ।

    सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा चुनावको मिति तोकिसकेको छ। अब एमालेमा नयाँ उभार ल्याएर जनताकहाँ भोट माग्न जान पनि महाधिवेशन गर्नुपर्ने आवश्यकता रहेको उपाध्यक्ष गुरु बरालले बताए।

    असोज २४ गते ओली निवास भक्तपुरको गुन्डुमा बस्ने सचिवालय बैठकले यसबारे निर्णय लिएर अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने उनको भनाइ छ। ‘महाधिवेशनको मिति तोक्नेबारे छलफल चलिराखेको छ। हामी अहिले छलफलमा छौँ, अधिवेशन ढिलोचाँडो हुन्छ। सकेसम्म छिटो गर्नुपर्छ भन्ने हाम्रो कोसिस छ,’ बरालले भने।

    यद्यपि, महाधिवेशनमा जाँदा अध्यक्ष ओलीले राजीनामा दिएर वरिष्ठ उपाध्यक्ष वा उनले रोजेको कोही नेतालाई आयोजक कमिटीको नेतृत्वको जिम्मेवारी दिनुपर्ने केही नेताको माग छ। तर ओली आफ्नै नेतृत्वमा महाधिवेशनमा जान चाहन्छन्।

    एमालेका उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले पनि केन्द्रीय कमिटीले महाधिवेशनबारे निर्णय गर्नसक्ने बताए। ‘विधान महाधिवेशनपछि नेतृत्व चयनको महाधिवेशन गर्ने नै हाम्रो सोच हो,’ ज्ञवालीले नेपालखबरसँग भने, ‘खालि चुनावको मिति घोषणा भएको छ। यथास्थितिमा त चुनाव हुने देखिँदैन। त्यसको पनि कोर्स हेर्नुपर्ला। हामीले महाधिवेशन गर्न धेरै ढिला गर्दैनौँ, गर्न हुँदैन।’

    यद्यपि, यसबारे कुनै एजेन्डा नबनेको र टुंगो नलागेको उनले बताए। ‘अब बस्ने सचिवालयले केन्द्रीय कमिटीको एजेन्डा बनाउला, त्यो एजेन्डाभित्र महाधिवेशन पर्ला,’ ज्ञवालीले थपे।

    एमाले सचिव पद्मा अर्यालले पनि अब बस्ने सचिवालय बैठकले केही निर्णय लिनसक्ने बताइन्। एमालेले असोज २७, २८ र २९ गते केन्द्रीय कमिटीको बैठक तोकेको छ। उपाध्यक्ष बराल पार्टीभित्रको आन्तरिक राजनीतिको बारेमा सबै कोणबाट अहिले छलफल भइरहेको बताउँछन्।

    ‘अर्ली महाधिवेशन भए नतिजा के आउँछ ? विलम्ब भए नतिजा के आउँछ ?’ उनले भने, ‘देशमा जे संकट आयो, त्यसमा केपी ओलीको भूमिका कति ? विदेशी शक्तिको कति प्रतिशत छ ? हामी गम्भीर भएर यी मुद्दामा केन्द्रित हुनुपर्छ। पार्टी लोकतान्त्रिक विधिभन्दा अलग हुन सक्तैन, जबजले हामीलाई त्यो भन्दा वरपर जान पनि दिँदैन। आवधिक अधिवेशन हुन्छ। अनि नेतृत्व चयन हुन्छ। भएका नेता यिनै हुन्, कहिले कसले चलाउला, कहिले कसले चलाउला।’

    महाधिवेशनअघि नै अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने पक्षमा उभिएका पदाधिकारीहरू बैठकमा ओलीको प्रस्तुति हेरेर कुरा उठाउने योजनामा छन्।

    ‘जेनजी आन्दोलनले पार्टीलाई ठूलो क्षति पुर्‍यायो। दुई तिहाइको सरकार ढल्यो, देशलाई झन् ठूलो क्षति पुग्यो, यसको समीक्षा सचिवालय बैठकमा हुन्छ,’ एक पदाधिकारीले भने, ‘अस्तिको बैठकमा ओलीको रिपोर्टिङ सुन्यौँ, अब हामीले आफ्ना विचार व्यक्त गर्न बाँकी छ। अब बस्ने सचिवालय बैठकमा साथीहरू क–कसलाई के लागेको छ, खुलेर समीक्षात्मक ढंगले विचार प्रस्तुत गर्नुहुन्छ। अब कसरी जाने हो, के गर्ने भन्ने त्यहीँ बैठकमा तय गर्छौं।’

    ओलीलाई मार्गप्रशस्त गरेर माहोल साम्य बनाउन र एमालेको संगठनलाई छिन्नभिन्न हुनबाट रोक्न आग्रह गर्ने उनीहरू बताउँछन्।

    ‘विषयवस्तु धेरै छन्। दुई तिहाइको सरकार कसरी चल्यो, यस्तो लथालिङ्ग अवस्था, कहालीलाग्दो अवस्था कसरी भयोरु यी सबै कुराको विश्लेषण गरेर बैठकमा कुरा राख्छौँ,’ अर्का पदाधिकारीले भने, ‘सबैले आफ्ना भोगाइ, विचारहरू प्रस्ट पार्नुहुन्छ। अनि मात्र संस्थागत रूपले सचिवालयको प्रस्ताव लिएर हामी केन्द्रीय कमिटीको बैठकमा जाने हो।’

    उपाध्यक्ष बराल मुलुक नै संकटमा रहेको बेला पार्टीभित्र एकता आवश्यक रहेको बताउँछन्। ‘केपी ओलीलाई बिदा गरियो रे ल, सबै संकट समाधान हुन्छ त ? अहिले त पार्टीको एकता अपरिहार्य छ। पार्टीले आफ्नो क्षमतालाई सबै हिसाबले प्रयोग गर्नुपर्छ,’ बरालले भने, ‘र यो राष्ट्रिय संकटबाट लोकतन्त्रलाई जोगाउनुपर्छ। संविधानको रक्षा गर्नुपर्छ र पार्टीलाई व्यावसायिक बनाउनुपर्छ। देश र जनताको रक्षाको खातिर हामी लड्नुपर्छ।’

    उपाध्यक्ष युवराज ज्ञवालीले सचिवालय बैठकमा जेन–जी आन्दोलन, सरकारबाट हट्नुपर्ने अवस्था लगायतको समीक्षा र अब कसरी जाने भन्ने बारेमा सल्लाह हुने बताए। ‘हामी २४ गते खुलस्त छलफल गर्छौं। अनि मात्र के गर्ने तय हुन्छ,’ उनले भने।

    एमाले स्थायी कमिटी सदस्य तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटीको एजेन्डा तय गर्न सचिवालय बैठक बस्न लागेको बताए। ‘कुन मोडालिटीमा छलफल गर्ने भन्नेबारे निर्णय गर्न सचिवालय बैठक बस्न लागेको हो, महाधिवेशनको मिति पनि केन्द्रीय कमिटीले तय गर्ने हो,’ उनले भने।

    उपमहासचिव ज्ञवालीले केन्द्रीय कमिटीलाई कायम राखेर महाधिवेशनमा जाने वा भंग गरेर जाने भन्नेबारे केन्द्रीय कमिटी बैठकपछि मात्र प्रष्ट हुने बताए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend