८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

उहिले मलाई जागिरबाट निकाल्ने ससुरा-बा अहिले मेरै सहायक !


विदुर दाहाल
  • १३ कार्तिक २०८२ , बिहिबार

  • उहिले मलाई जागिरबाट निकाल्ने ससुरा-बा अहिले मेरै सहायक !

    शरणार्थी भएर नेपाल पसेको ५ वर्ष बितिसकेछ। म काम गर्न चाहन्थेँ तर काम थिएन। सर्टिफिकेट नभए पनि दोलखातिर बोर्डिङमा अङ्ग्रेजी पढाउने शिक्षक हुन पाइन्छ रे भन्ने हल्ला सुनेँ ! सोधी खोजी गर्दै दोलखा पुगेँ।

    मेरो अङ्ग्रेजी भाषा राम्रै थियो। नभन्दै एउटा बोर्डिङ स्कुलले पढाउने काम दियो। अलि दिनपछि पढाउने कामको अतिरिक्त डिआईको समेत जिम्मेवारी पाएँ। शिविरमा हुँदा रहरले जिम खाना जान्थेँ। बिहान बिहान दौडिन्थेँ। आफैले आफ्नो मूल्यांकन गरेँ- ज्यान खाइलाग्दो छ।

    उता भुटानको राजधानी थिम्पु नजिक हाम्रो घर थियो। सरकारी स्कुलमा कक्षा ८ पढ्दै थिएँ। एकाएक एक दिन सेनाका मान्छे राति घरमा आए। आउनुको उद्देश्य मलाई थाहा भएन। खै के-के भने याद भएन। बाबा र ममी हस्याङफस्याङ गर्दै सोही रात घरबाट निस्किने भन्न थाल्नुभयो।

    रातभर रुवाबासी चल्यो। भोलिपल्ट रिमरिम उज्यालो नहुँदै भएको खानेकुरा र एकसरो लुगाफाटो बोकेर बाबाममीसँगै निस्कियौँ हामी। छिमेकीलाई ‘गाईगोठ र घर तिम्रो जिम्मा’ भनेको सुनेँ। बाटोमा हिँड्दा ‘कहाँ जाने ?’ सोधेँ मैले। उत्तर दिनुभएन। बोल्नु भएन ।

    लगातार दिनभर हिँडिरह्यौँ। आमाले रुँदै भन्नुभयो- ‘भुटानी राजाले बस्न दिएनन्।’

    के, किन, कसो भन्ने कुरा मैले बुझिनँ।

    ३ दिनपछि भारत छिर्‍यौँ। भारत छिरेपछि झन् सास्ती भयो। भारतीय सेनाले बस्न दिएन। नेपालको मेची पुलतर्फ लखेट्यो। अपराधी रहेछौँ कि क्या हो भन्ने जस्तो लाग्यो। भुटानबाट खेदिएको ५ औँ दिन बेलडाँगीमा पुगियो। चिनेका अरू पनि त्यहाँ आइसकेका रहेछन्। नेपाल आफ्नै भुटानजस्तो लाग्यो- भाषा, भेषभूषा सबै उस्तै। भुटानमा प्रजातन्त्र चाहिन्छ भनेर नेपाली समुदायले मागे रे१ छानी छानी सरकारले देश निकाला गरेको रहेछ। पछि मात्र बुझेँ मैले।

    शरणार्थीबारे थोरबहुत पढेको थिएँ। हामी शरणार्थी भएका रहेछौँ। नेपालले हामीलाई शरण दिएको रहेछ। ४२० नम्बरको टहरा हाम्रो थियो। खाने–बस्ने सुरुमा ठेगान थिएन, पछि कसले कसले हो दालचामल दिन लागे। जीविका जेनतेन चल्न थाल्यो।

    बाबा लुकिछिपी ज्यामी काम गर्न थाल्नुभयो। दिदी काठमाडौँतिर लागी। शिविरमा खेल्दा खेल्दै ४र५ वर्ष बिते। त्यसपछि दोलखातिर पुगेको हो म !

    दोलखा ठ्याक्कै भुटानजस्तै रहेछ। प्रिन्सिपलकै घरमा कोठा भाडामा बसेँ। सुरु-सुरुमा उहाँकै घरमा खाएँ। अलि पछि भुटानकै अर्को शरणार्थी साथीसँग बस्न थाल्यौँ। खासै महँगो थिएन। दोलखामा एडजस्ट हुन गाह्रो भएन, सजिलै भयो।

    दैनिक यसै गरी चल्दै थियो। त्यसैबिच नेपालका विभिन्न शिविरमा बसेका भुटानी शरणार्थीलाई अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया लगायतका युरोपेली देशले आफ्नो देशमा लैजाने भन्ने कुरा सुन्नमा आयो। बाबाले चिठी लेखेर प्रमाणीकरणका लागि शिविर आउन खबर पठाउनुभयो। म र अर्को साथी बेलडाँगी शिविर पुग्यौँ। शरणार्थीको कार्ड बनायौँ। यसको लागि पटक-पटक विभिन्न समयको अन्तरालमा आउजाउ भइरह्यो।

    मैले पढाउने स्कुलमा प्रिन्सिपलकी छोरी पनि पढ्थी। घरमा होमवर्क गर्ने बहानामा कोठामा आइरहन्थी। साँच्चिकै हो वा जिस्केकी हो कपिमा ‘आई लभ यु’ लेखी। खासमा यो उसको बालाप्रेम थियो वा के थियो बुझ्न सकिनँ। अन्तरकुन्तरमा घोच्यो। कल्पनामा मैले उसलाई दिलकी रानी बनाएँ।

    उसको घरमा बसेको र जागिर खाएको ६ वर्षपछि बाबा अर्थात् प्रिन्सिपलले माया–प्रेमको कुरा थाहा पाएछन्। १० बजे स्कुल पुग्नासाथ मलाई मिटिङ रुममा बोलाए। त्यहाँ कोही थिएनन्। गाली गरे। मुखमा थुकिदिए। लात्तै-लात्ताले कुटे। हारगुहार गर्ने कोही थिएनन्। सहनु बाहेक मसँग विकल्प थिएन।

    पहिल्यै पत्र तयार गरिसकेको रहेछ। अवकाशको पत्र थमाए। दुई घण्टाभित्र स्कुल र घर छोडेर जान निर्देशन दिए। अन्यथा जे पनि हुन्छ भनेर धम्क्याए। डराएँ म। सिधै कोठामा गएर सानो कागजको टुक्रामा साथीलाई लेखे- ‘आफ्नो केयर गर्नू। कोठाका सामान सबै प्रयोग गर्नू। शिविर फर्कन्छु म।’

    गाडी चढेर निस्किएँ। एउटा शरणार्थी न थिएँ। कसैसँग पनि बिदा माग्नेसम्म अवसर भएन मलाई।

    त्यसपछि दोलखामा बस्ने आधार भएन। ठाउँ छोडेँ मैले। जागिर मात्र छुटेन, मेरो मनकी मान्छे पनि छुटी। धेरै रोएँ र निराश भएँ। हिँड्ने बेलामा बाईसम्म भन्न पाइनँ। ‘शरणार्थीले मेरी छोरीलाई ताक्ने !’ उसका बा अर्थात् भूपू प्रिन्सिपलले भनेको कुरा महिनौँसम्म मनमा बिझिरह्यो।

    माओवादी द्वन्द्व सकिएसँगै नेपालमा मोबाइल र इन्टरनेटको तीव्र विस्तार भयो। अरूको नामबाट एउटा सिमकार्ड लिएँ। मोबाइल किनेँ। ‘अमेरिका लान्छ रे, लान्छ रे ?’ भन्ने हल्ला आइरह्यो। बाबा र ममी चाहिँ ‘भुटानै जान पाए हुन्थ्यो’ भन्न थाल्नुभयो। दिदी र मेरो चाहना विदेश जाने थियो। नभन्दै हामी सम्पूर्ण परिवार क्यानडा जानेमा छनोट भएछौँ।

    दिदीले नेपाली केटासँग बिहे गरिछ। बा-आमालाई कसैलाई थाहा दिइन। भन्दै भनिन। बिहे दर्ता लगायतका सबै कागजात मिलाइसकेका रहेछन्। नेपालमा यस्ता कागजपत्र मिलाउन सजिलो छ। जे भन्यो, त्यही कागज बन्छ। चिया(नास्ता खानू भनेर केही हजार दिएपछि सबै बन्छ। परिवारमा भिनाजु पनि थपिए। क्यानडा उड्यौँ हामी।

    क्यानडा पुगेपछि अर्को संघर्ष सुरु भयो। सुरुमा डिपार्टमेन्ट स्टोरमा काम गरेँ मैले। अहिले त्यही डिपार्टमेन्ट स्टोरको मालिक छु। सपना झैँ लाग्छ। समयले कहाँ पुर्‍याउँछ भन्नै नसकिने ! शिविरमा खान नपाएको अवस्था, बोर्डिङबाट निस्कँदाको कहालीलाग्दो अवस्था र जीवनका संघर्ष मनभरि घुमिरहन्छन् अहिले पनि।

    एकाएक एक दिन फेसबुकमा ‘सुमी’ नामबाट साथी बन्न अनुरोध आयो। यसो प्रोफाइल हेरेको उहीँ प्रिन्सिपलकी छोरी सुमी पो रहिछे। ४/५ वर्षपछि फेरि ऊसँग जोडिएँ। फेसबुकमा मात्र होइन, मन पनि जोडियो। उसका बाबुले टुटाइदिएको सम्बन्ध प्रविधिले फेरि जोडाइदियो।

    पढ्न काठमाडौँ आएकी रहिछे ऊ। कोठामा एक्लै बस्छे रे। अनलाइनमा दैनिक कुरा हुन थाल्यो। जान्छुसम्म नभनी किन दोलखा छोडेको भनेर प्रश्न गरी ? बेइमान भनेर मलाई नै आरोप लगाई। उसका बाबाले गरेको कर्तुत बताइनँ। बताउनु उपयुक्त ठानिनँ।

    दिनहरू रमाइलोसँग बित्दै गए। काम गर्ने मान्छे त चाहिएकै थियो। सुमीलाई सम्झेँ। ऊ पनि मसँग आउन लालायित थिई। कागजात मिलाउन सघाएँ। क्यानडा आइ ऊ पनि।

    स्कुल र घरमा हुँदाका पुरानो कुरा स्मरण गरी उसले। दोलखामा उसकै घरमा पुगेको अनुभूति भयो मलाई पनि। युरोप, अमेरिका जानु समृद्धि र सपना हो धेरै नेपालीलाई। उसका बा–आमाले के, किन, कसरी नभनी सहजै पठाए क्यानडा।

    वर्किङ भिसामा जान पाए पैसासैसा सबै कम्पनीले बेहोर्छ भनेर बाबा आमालाई ढाँटिछे।

    क्यानडामा बा-आमाले उसलाई ‘के कसो ?’ भनेर पटक-पटक फोन गर्थे। ‘के काम गर्छेस्र ? कहाँ बस्छेस्र ?’ भनेर सोधिखोजी गरेको सुन्थेँ म।

    बिस्तारै डिपार्टमेन्ट स्टोर अझ बिस्तार गरेँ मैले। काम गर्ने मान्छे चाहिने भयो। सुमी पनि दुईजीउकी भई। उसलाई आरामको जरुरी थियो। स्याहार–सुसार गर्न पनि मान्छे चाहिन्छ। के गर्ने होलारु सोचेँ मैले।

    बेलाबेलामा ‘बोर्डिङमा विद्यार्थी छैनन् ! बोर्डिङ बन्द हुने भो ! के गर्ने होलारु सहकारी पनि भनेजस्तो छैन अहिले। दिएको ऋण नउठ्दा शङ्का गरिरहेका छन्। स्वार्थमा ऋण दिएको आरोप लगाइरहेका छन् मान्छेहरूले ! पटक्कै बस्न मन छैन’ भन्थे छोरीसँग।

    सुमीले ‘बाबा निराश हुनुहुन्छ, के गर्न सकिन्छ र ?’ भनेर सोधी मलाई।

    ‘यतै आउने हो त ? सोध्नु नि त एक पटक।’

    ‘मिल्छ र ?’ भन्नुभयो रे !

    धेरैपछि लिभिङ टुगेदरमा बसेको कुरा बाबाममीलाई बताई उसले। मान्छे को हो भन्न आँट गरिन। बाबाममीले ज्वाइँसँग कुरा गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो। यही आएर भेट्नु होला नि, तपाईँहरूले देखेको र चिनेकै मान्छे हो भनेर टारिदिई। नाम बताइन उसले।

    हामी क्यानडामा स्थापित भइसकेका थियौँ। छोरीको नामबाट सबै कागजपत्र मैले नै मिलाइदिएँ। ‘तेल भिसा’मा सहजै आउन दिन्छ सरकारले। खासमा सुत्केरी स्याहारका लागि दिने भिसालाई ‘तेल भिसा’ भन्दा रहेछन् नेपालमा।

    तेल भिसामा आउने भए सासू-ससुरा।

    मेरा पूर्व प्रिन्सिपल- यानेकी सुमीका बुबा अर्थात् मेरा ससुरालाई क्यानडामा स्वागत गर्ने निर्णय भयो। ‘तपाईंको बारेमा बाबा–ममीलाई चिनाउने हो कि’ भनेर मेरो विचार बुझ्न खोजी सुमीले। ‘होस् अहिले’ भनिदिएँ।

    ‘एकै पटक शक हुने हो कि बाबा-ममीलाई  ?’

    मानसिक रूपमा एक पटक बदला लिनुपर्छ भन्ने ठानेँ मैले। विगतमा उसका बाबाले गरेका क्रियाकलाप कहिल्यै बताइनँ उसलाई। सायद सासूआमालाई पनि यो कुरा थाहा नहुन सक्छ।

    बाबा–ममीलाई टोरोन्टो विमानस्थलमा स्वागत गर्ने कुरा भयो। टिकट पहिल्यै काटेको थियो। आउने रुट सबै गुगलम्याप छोरीले पठाइदिई। संयोग, सासू–ससुरा आउने दिनमै सुमीलाई अस्पताल भर्ना गर्नु पर्ने भयो। डाक्टरले दिएको समयभन्दा अगाडि नै अप्ठेरो भयो उसलाई।

    डाक्टरले सिजरिङ गरेर बच्चा निकाल्नुपर्छ भनेछन्। यो कुरा छोरीको मोबाइलबाटै अनलाइनमा म्यासेज गरेँ मैले।

    ‘अस्पताल भर्ना हुनुपरेकोले ज्वाइँ एयरपोर्ट लिन आउनुहुन्छ। नेपालको झन्डा र तपाईंको नाम लेखेको प्लेकार्ड बोकेर बस्नु भएको हुन्छ। सँगै आउनु होला,’ आफैँले लेखेँ यो कुरा उसको मोबाइलबाट।

    ‘हुन्छ’ भन्ने जवाफ दिए ससुरा-बाले।

    फूलका गुच्छासहित गाडी लिएर म विमानस्थल पुगेँ। कालो चस्मा, क्याप लगाएर गएको थिएँ। ससुरा-बा र सासूआमा आएको मैले परैबाट देखेँ। एउटा खालको फरक भावना र उत्सुकता थियो ममा। प्लेकार्ड र नेपालको झन्डा कता होला भनेर हेरेको देखेँ।

    सासू आमाले खासखुस गरेर ‘हाम्रै घरमा बसेको अर्जुन सर हैन ?’ भनेको झल्का आयो कानमा। प्रतीक्षालयमा आइपुग्नु भयो दुवै जना। दुवैलाई पुष्पगुच्छा दिए। मुस्कुराएँ म। ससुरा-बा घोप्टिनु भयो। सहजीकरणको लागि मैले ‘यात्रा कस्तो भयो  ?’ भनेर सोधेँ ! बोल्नु भएन। अकमकाउनु भयो।

    अहिले मेरो डिपार्टमेन्ट स्टोरमा एउटा सहायक कर्मचारीको रूपमा काम गर्नुहुन्छ मेरा ससुरा-बा। देश फर्किन रुचि राख्नु भएन। राजनीतिक हैसियत पहिलाभन्दा खस्किएकोले नफर्कन पाए हुन्थ्यो भन्ने मनसाय बुझिन्थ्यो। काम अझै गर्न सक्छु भन्नु नै भयो। कामदार त चाहिएकै छ ! लौ त होस् भन्ने ठानेँ।

    उहाँको मनोदशा बुझ्ने खासै कोसिस गरिनँ मैले। तर छोरीसँग बेस्सरी रुनु भएछ। सम्पूर्ण वृत्तान्त नभनेकोमा छोरीसँग गुनासो चाहिँ गर्नु भएछ।

    घरमा सासू-ससुरालाई अप्ठ्यारो भएको महसुस गरेँ मैले।

    ‘यो सबै भगवानको खेल हो,’ ससुराबालाई एक्लै भएको बेला विगत बिर्सन अनुरोध गरेँ। रुनुभयो। गल्ती भएको महसुस गर्नुभयो। रोएको देखेर आत्मसन्तुष्टि लिएँ। गोलो पृथ्वीमा घुम्दा कता पर्छ पर्छ भन्नै सकिन्न। सान्त्वना दिएर सम्झाउन खोजेँ।

    अझै मसँग राम्रोसँग खुल्न भने सक्नु भएको छैन ससुरा-बा। उहाँको मनोदशा नजिकबाट पढ्दै छु।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend