८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

म्याग्दीको गलेश्वरधाममा सतबिउ छर्नेको भीड


जनमञ्च संवाददाता
  • ३ मंसिर २०८२ , बुधबार

  • म्याग्दीको गलेश्वरधाममा सतबिउ छर्नेको भीड

    बेनी / म्याग्दीको पवित्र तिर्थस्थल गलेश्वरधाममा आज विहानैदेखि सतबिउ छर्ने दर्शनार्थीको भीड छ । हरेक वर्ष मंसिर कृष्णपक्षको चतुर्दशीका दिनमा आफ्ना दिवंगत पितृहरुको मुक्तीका लागि सतबिउ छर्न विहानैदेखि भिड लागेको हो ।

    गलेश्वर शिवालय मन्दिरमा पुजा अर्चना गर्नुका साथै सतबिउ छर्नेहरु बिहान ४ बजे देखि नै आएका मन्दिरका मुल पुजारी चन्द्रमणी आचार्यले बताए । विश्वका पवित्र धामहरु मध्ये निकै फरक र आस्थाको केन्द्र रहेको गलेश्वरमा सतबिउ छर्नाले आफ्ना पितृहरुको उद्धारहुने जनविश्वास सहित दर्शन र पुजा अर्चनाका लागि यहाँ धार्मिक भक्तालु आउने गरेको आचार्यको भनाई छ । नौ रोपनी क्षेत्रफलको एउटै चक्र शिलामा स्वयंउत्पन्न ज्योतिर्लिङ्ग भएको कारणले गलेश्वरधाम अन्य धाम भन्दा फरक छ ।

    गलेश्वर शिवालय क्षेत्र विकास कोषले २४ वटा विभिन्न उपसमिति गठन गरेर पर्वको अवसरमा हुने सतबिउ छर्न आउने भक्तजनलाई व्यवस्थित र सहज रुपमा दर्शनको व्यवस्था मिलाएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु गठन गरिएको हो । बुधबार विहानैदेखि सतबिउ छर्नका लागि भक्तजनको घुईचो लाग्ने भएकाले सम्पूर्ण तयारी यस अगाडी नै पूरा गरिएको कोषले जनाएको छ ।

    गलेश्वर मन्दिरको प्रवेशद्वार अन्तरगत पार्किङस्थलदेखि नै नेपाल प्रहरी, शसस्त्र प्रहरीले स्वमसेवकहरु परिचालन गरेको छ । गलेश्वरमा पुजाआजाका साथै बालाचर्तुदर्शीको अवसरमा घुम्ती ब्यापार मेलामा आउनेलाई समेत ब्यापार गर्ने ठाउँ तोकिएको छ ।

    मन्दिरस्थलमा कपडा, भाँडावर्तन, काठका ठेका, डोका, नाङ्ला लगायतका सामाग्रीको किनमेल गर्नेहरुलाई सहज बनाउनुका साथै पूजाका लागि आउने भक्तजनको सहजताका लागि सिसीक्यामेराबाट समेत निगरानी गरिएको अध्यक्ष रेग्मीले बताए । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रेग्मीले पूजाआजा गर्न आउँदा गरगहना नलगाइ आउन आग्रह गर्दै मन्दिरमा दान गर्ने र सामान्य यातायात खर्च बाहेक अनावश्यक पैसा एवम् बहुमल्य साम्रागीहरु लिएर नआउन समेत आग्रह गरेका छन् ।

    कतिपय स्थानमा पूजाआजा गर्न आएका भक्तजनहरुले गरगहना र नगद चोरी भएको गुनासो गर्ने हुँदा कोषले बालाचतुर्दशी भन्दा अगाडी नै अपिल गरेको थियो । कृष्णागण्डकी किनारमा रहेको एउटै चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको क्षेत्रमा प्रवेश गरेमात्रै पनि मनोकामना पुरा हुने जनविश्वास छ ।
    मुक्तिनाथ मन्दिरमा जाने भक्तजनले समेत गलेश्वरको दर्शन गरी मुक्तीनाथ पुगेर दर्शन पछि मुक्तीनाथको जल ल्याएर गलेश्वरमा अर्पण गर्दा मनोकामना पुरा हुने जनविश्वास रहेको छ । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

    गलेश्वर मन्दिरमा म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, गुल्मी तथा रुपन्देही सम्मका दर्शनार्थीहरुले पनि अहिलेसम्म दर्शन गरेर फर्किसकेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिए । गत वर्ष झण्डै ५० हजार हाराहारी दर्शनार्थीले दर्शन गरेको मन्दिरमा यस वर्ष पनि त्यो भन्दा बढिको संख्यामा दर्शन गर्ने अनुमान गरिएको कोषले जनाएको छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend