बागलुङ/नेपाली कम्युनिष्ट पार्टी बागलुङले मंसिर महिना भित्रै एकता सम्मेलन गर्ने भएको छ । प्रदेश तहको एकता सम्मेलनपछि जिल्ला तहको एकता सम्मेलन गर्ने तयारी भएको नेताहरुले बताएका छन् । तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी समाजवादी सहितका १२ बाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको गत कात्तिक २१ गते केन्द्रीय तहमा सम्मेलन गरेर पार्टी घोषणा गरेको थियो । पुष्पकमल दाहाल संयोजक र माधवकुमार नेपाल सहसंयोजक रहेको उक्त पाटी घोषणा पछि प्रदेश र जिल्ला तहमा पनि नयाँ पार्टी निर्माण शुरु भएको नवगठित नेपाली कम्युनिष्ट पार्टी बागलुङका संयोजक प्रकाश घर्तीले बताए ।
बिहिबार पत्रकार सम्मेलन गरेर उक्त पार्टीले मंसिर भित्र जिल्ला सम्मेलन गरेर आधिकारिक पार्टी बनाउने योजना सुनाए । बुधबार भएको प्रारम्भिक जिल्ला कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्ने लक्ष्यले आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य चन्द्रबहादुर बुढाले जेनजी आन्दोलनपछिको अबस्थालाई सकुशल अवतरण गर्ने काममा दाहाल र नेपालको भूमिका महत्वपुर्ण रहेको, आगामी यात्राकालागि पनि बामपन्थीहरुको एकतामा जोड दिएकोले नयाँ शक्ती मार्फत अगाडि बढ्ने लक्ष्य राखिएको बताए । उनले नेपाली राजनीति, प्रशासन र सबैखाले क्षेत्रमा रहेको भ्रष्टाचार लाई निमिठ्यान्न पार्न नेपाली कम्युनिष्ट पार्टी सक्षम बन्ने बताए ।
कार्यक्रममा सहसंयोजक पिंगलराज गौतमले मंसिर भित्रै नयाँ कार्यसमिति चयन भएर आउने र त्यसले जिल्लाको काम गर्ने बताउँदै तत्कालको अबस्थामा काम गर्न घर्ती र आँफू सक्रिय भएको बताए । त्यस अघि घर्तीले बुधवारको बैठकका निर्णय सुनाएका थिए ।
बैठकले पार्टी एकता सन्देश सभा र बिद्यमान परिस्थितिबारे आम जनतामा सम्प्रेषणको लागि प्रदेश स्तरीय सन्देश सभामा जिल्लाबाट अधिकतम उपस्थिति गराउने, जिल्लाको सन्दर्भमा गरिने एकता सन्देश सभालाई व्यवस्थित गरिने, एकता सन्देश सभामा सहभागि एवं नेकपामा आवद्द हुन जेनजी समूहलाई अपिल गर्ने र राजनीतिक नेतृत्वमा देखिएको संकट र सबै दलका नेतृत्व एउटै हो भन्ने गलत भास्यलाई खारेज गर्ने निर्णय गरेको घर्तीले सुनाए ।
नेकपाका सहसंयोजक पिंगलराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य कमल घिमिरेलेपनि मन्तव्य राखेका थिए । कार्यक्रममा तत्कालिन माओवादी केन्द्रका जिल्ला अध्यक्ष सहितका नेता भने उपस्थित थिएनन् । माओवादीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा नेतृत्वम अर्को पार्टी गठन भएपछि जिल्लामा केही प्रभाव परेको अनुमान छ । यद्यपी नेताहरुले त्यसको प्रभाव नपर्ने जिकिर पनि गरेका छन् ।