काठमाडौँ/ नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले आफ्नो लगातार जितको यात्रालाई पाँचौं खेलमा पनि निरन्तरता दिएको छ। अर्कोतर्फ साविक च्याम्पियन जनकपुर भने लगातार चौंथो खेलमा हार भोग्न बाध्य भयो।
शनिबार भएको दिनको दोस्रो खेलमा १४ बल बाँकी हुँदै सुदूरपश्चिमले जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य ४ विकेट गुमाएर पूरा गर्यो।
६ विकेटको प्रभावशाली जित निकाल्ने क्रममा सुदूरपश्चिमका लागि युवा ब्याटर इशान पाण्डेले ५६ रनको अर्धशतकीय इनिङ्स खेल्दा विनोद भण्डारीले ४२ रन बनाए। त्यस्तै, दीपेन्द्र सिंह ऐरीले १० रन बनाउँदा हर्मित सिंहले २५ रन बनाए।
जनकपुरका लागि माज सदिकले २ विकेट लिँदा सञ्जय कृष्णमूर्ति र आदित्य महताले १-१ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो। जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले ५० रनको अर्धशतकीय इनिङ्स खेल्दा जन निकोल लोफ्टी-इटनले ३९ रन बनाए।
त्यस्तै, आदित्य महताले १५ रन बनाउँदा मजा सदाकले १२ रन बनाए। त्यस्तै, आजको खेलमा कप्तानी गरेका वायनी पर्नेलले १४ रन बनाए। सुदूरपश्चिमका लागि अभिनाश बोहराले ४ विकेट लिँदा स्कट कुग्लिङले ३ तथा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।