बागलुङ/गत वर्षको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट फरार कैदी चोरीको मुद्दामा पक्राउ परेका छन् ।
२०८० जेठ २ गते जिल्ला अदालत बागलुङबाट नकबजनी चोरी मुद्दामा ३ वर्ष १ महिना कैद तथा ३० हजार रुपियाँ जरिवाना फैसला भई कास्की जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका बागलुङ नगरपालिका वडा नं. ७ का ३४ वर्षीय सुरेश बोहोरा भन्ने मिठु किसानलाई प्रहरीले चोरीकै मुद्दामा पक्राउ गरेको हो ।
बागलुङ नगरपालिका वडा नं. २ शिवधाराचोकस्थित खड्कबहादुर खत्रीको पसलबाट मोबाइल चोरी गरी फरार भएको आरोपमा पक्राउ गरी अनुन्धान गर्दा बोहोरा जेनजी आन्दोलनमा फरार कैदी भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक यम नारायण कँडेलले जानकारी दिए ।
प्रहरीले बोहोरालाई गत शुक्रबार पक्राउ गरी चोरी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप गरेको छ ।