काठमाडौं / भोटेकोसी बाढीमा बेपत्ता हुनेको संख्या ६ हजार नाघेको छ भने १ हजार ४ सयभन्दा बढीको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, बुधबार साँझसम्म १ हजार ४०३ जनाको शव भेटिएको छ।
सबैभन्दा बढी चितवनमा ३६४ जनाको शव भेटिएको हो। नवलपुरमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १९३, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ ।
दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।
हालसम्म शव भेटिएकामध्ये १०४ जनाको मात्रै पहिचान खुलेको छ। उनीहरूको शव परिवारलाई हस्तान्तरण गरिसकिएको छ।
यसैगरी, बाढीमा बेपत्ता हुनेहरूको संख्या पनि ६ हजार १५० पुगेको छ। सबैभन्दा बढी रसुवाबाट १ हजार ६७७ स्थानीय बासिन्दा र १ हजार ८३६ जना अन्य जिल्लाका बासिन्दा हराइरहेका छन्।
त्यस्तै, नुवाकोटबाट ७९६ स्थानीय बासिन्दा र अन्य जिल्लाका १ हजार ३१० जना हराइरहेको प्राधिकरणले जनाएको छ। नेपाल भ्रमणमा आएका ६३६ जना विदेशी नागरिक पनि हराइरहेका छन्।