बागलुङ/बागलुङ नगरपालिकाको आयोजना र सहयात्रा बागलुङको सहजीकरणमा मंगलबारदेखि मेलमिलाप सम्बन्धी ८ दिने तालिम शुरु भएको छ ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले तालिमको उद्घाटन गर्दै न्याय सम्पादनमा सहजीकरण र समाजमा झैझगडाको अन्त्यका लागि मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताए । उनले मेलामिलापकर्तामार्फत वडा वडामा सभ्य समाज निर्माणमा योगदान हुने बताए । मेलमिलापकर्ताहरुको भूमिकाले जिल्ला अदालत र न्यायिक समितिमा पनि मुद्दाको चाप घटाउन पहल गर्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला न्यायाधिस रमेशकान्त अधिकारीले मेलमिलापलाई न्यायिक क्षेत्रले पनि सकारात्मक रुपमा हेरेको बताएका छन् । विवादलाई समुदाय स्तरमा समाधान गरेमा राज्य सभ्य बन्ने बताउँदै अधिकारीले विदेशका धेरै देशमा मेलमिलापलाई कानूनी मान्यता दिएकोले यो विधि दिगो समाधानको सुत्र भएको बताए ।
न्यायिक समितिका सदस्य ज्ञानेन्द्र गौतमको अध्यक्षता, न्यायिक सहजकर्ता ज्ञानेन्द्रराज पन्तको संचालन र प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको स्वागतमा सम्पन्न कार्यक्रममा सहयात्राकी अध्यक्ष शकुन्तला शर्माले पनि शुभकामना मन्तव्य दिइन् । तालिममा विभिन्न क्षेत्रका २६ जना सहभागि छन् ।