१० साउन २०८३ , आइतबार

१० साउन २०८३ , आइतबार
  • १० साउन २०८३ , आइतबार
  • July 26 2026

भिजिट भिसामा दुबई जान नेपालीलाई रोक !


जनमञ्च संवाददाता
  • १ असोज २०८२ , बुधबार

  • भिजिट भिसामा दुबई जान नेपालीलाई रोक !

    काठमाडौं/दुबईले नेपालीलाई भिजिट भिसाका लागि पूर्ण रूपमा बन्द गरेको छ। यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले सोमबारदेखि भिजिट भिसामा जान रोक लगाएको हो।

    संयुक्त अरब इमिरेट्स (युएई) मा भिसा आवेदन दिँदा भिजिट भिसा कोलममा नेपाल देखाउन छोडेको शुभयात्रा ट्राभल्स एण्ड टुर्सका सञ्चालक प्रदिप अधिकारीले बताए।
    ‘आइतबारसम्म नेपालीका लागि कोलम राखिएको थियो। तर त्यो दिन भिसा आवेदन दिएका सबै नेपालीको भिसा अस्वीकृत भएको थियो। तर भारतीयहरूको भने भिसा आयो,’ अधिकारीले भने, ‘भिसा दिन रोक लगाइएकोबारे कुनै कारण देखाइएको छैन। तर अहिले नेपालीले आवेदन नै दिन पाउँदैनन्।’

    युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा दिन बन्द गरिएकोबारे औपचारिक जानकारी नआएको बताए। उनले अहिलेको निर्णय केही समयको लागि हुनसक्ने बताए।

    दुबईले नेपालीलाई डिसेम्बरदेखि भिसा दिन बन्द जस्तै गरेको थियो। भिसा पाउने सम्भाभावना नभएपछि नेपालीहरूले युएईको शारजाह राज्यका लागि भिसा आवेदन दिने गरेका थिए। युएईको जुन राज्यका लागि भिसा लिए पनि सबै राज्य घुम्न पाइने भएकाले सहज भएको थियो। अब भने युएईकै लागि भिसा बन्द गरिएको शुभयात्राका सञ्चालक अधिकारीले बताए।

    युएईले भिसा बन्द गर्नुको पछाडि केही कारण रहेको बताइएको छ। पहिलो, नेपालीहरू भिजिट भिसामा जाने अनि उतै काम खोजेर बस्ने गरेका थिए।

    दोस्रो, भिजिट भिसामा गएर उतै गैरकानुनी तरिकाले समेत बस्ने गरेका थिए। जसलाई युएईले सुरक्षा चुनौतीका रूपमा लिएको थियो।

    तेस्रो, युएईलाई ट्रान्जिट बनाएर युरोप, अमेरिका जाने गरिएको थियो। सोही क्रममा थुप्रै नेपालीहरू ठगिएका समेत थिए।

    चौथो, भदौ २४ गतेको प्रदर्शनका कारण जेलबाट कैदीबन्दी भागेको र युएई आउन सक्ने आधार बनाएर भिजिट भिसामा रोक लगाएको हुन सक्छ।

    तत्काल नेपालीलाई दुबई जान परेमा अमेरिकाको भिसा बाहकले मात्र सहजै जान पाउने शुभायात्राका सञ्चालक अधिकारीले बताए। उनका अनुसार अमेरिकाको भिसा भएकाहरू त्यसकै आधारमा दुबई जान र घुम्न पाउँछन्।

    ‘वार्षिक ५० हजारभन्दा धेरै नेपाली युएई जाने गरेका थिए। तर अब यसले सिधै हाम्रो व्यवसायमा समेत असर परेको छ,’ उनले भने, ‘अब नेपाली घुम्न जाने समय सुरू भएको थियो। यही समयमा भिसामा रोक लगाएपछि हामी मर्कामा परेका छौं।’ अहिले युएईमा ८ लाखको हाराहारीमा नेपाली रहेको अनुमान छ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend