बागलुङ / समान्यतया तरकारीमा प्रयोग हुने जंगली निउरो वर्खामा बजारमा छरपष्ट पाइन्छ । बागलुङ बजारका तरकारी व्यवसायी शंकर रेग्मीले यस वर्ष निउरोको मात्रै रु.१७ लाख भन्दा बढीको कारोबार गरे । रेग्मीले पाँच वर्षदेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको निउरो बागलुङ बजारमा लिएर बिक्रीवितरण गर्दै आएका छन् । उनले प्रतिमुठा रु.१० रुपैया नाफा लिएरु निउरोको होलसेल कारोबार गर्दै आएका छन् ।
दोवाको सामुदायिक वनमा उत्पादन भएको निउरो त्यहाँका महिला उद्यमीहरुको समन्वमा सोझै बागलुङ बजारमा आउने गरेको छ । त्यहाँका महिलाहरुले यस वर्ष निउरो बिक्रीवापत रु. १५ लाख भन्दा बढी रकम दोवा भित्राउन सफल भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाको जंगलमा पाइने निगुरो म्याग्दी सदरमुकाम बेनी बजारबाट सोझै बागलुङ बजार आउने गरेको छ । रेग्मीले होलसेल मुल्यमा बागलुङ बजारका एक दर्जन तरकारी व्यापारीलाई दोवाको निगुरो बिक्रि गर्दे आएका छन । अहिले बागलुङमा दोवाको निउरो होलसेल प्रतिमुठा रु.८० देखि प्रतिमुठा रु. १०० मा बिक्रि हुँदै आएको छ ।
उपभोक्ताले प्रतिमुठा रु. ११० देखि १२० सम्म खरिद गर्ने गरेका छन् । “दोवाको निगुरो बागलुङ बजारमा राम्रो बजारीकरण भएको छ, यो वर्ष मात्रै १५ लाख भन्दा बढी रकम निगुरो खरिद वापत दोवाका महिलाहरुलाई भुक्तानी गरेको छु” रेग्मीले भने “मुस्ताङको स्याउ, दोवाको निउरो, सेराको केरा जस्ता अर्गानिक फलफुल तथा तरकारीको आफुले कारोबार गर्दै आएको छु ।” दोवाका स्थानीय सर्मिला पुर्जा, मायाकुमारी पुन लगायतका महिलाहरुले निउरो संकलनगरी सिधै बागलुङ बजार पठाउने काम गर्दै आएका छन् ।
साउन देखि असोज सम्म पुर्जा सहितका महिलाको दैनिकी जंगलमा निगुरो संकलन र बजारीकरणमा वित्ने गरेको छ । स्वादिष्ट तरकारीको रुपमा परिचित लेकको जंगलमा उत्पादन भएको निगुरो बागलुङ बजारमा उच्च माग हुने गर्दछ । उनले अन्य महिलाहरुसंग निगुरो संकलन गरेर बजारसम्म पठाउने काम समेत गर्दै आएका छन् । जंगलमा उत्पादन भएको अर्गानिक निउरो उपभोक्ताको रोजाईमा परेपछि यहाँका शर्मिला पुर्जा सहितका महिलाहले आय आर्जनमा वृद्धि गर्न सफल भएका छन् ।
दोवाको निउरोलाई संकलन गरी बागलुङ बजार सम्म पु¥याउने काम गर्दै आएको सर्मिला पुर्जाले बताइन । पूर्जाको परिवार र अन्य स्थानीय महिलाहरुले निगुरो बिक्रि गरेर यस वर्ष रु.१५ लाख भन्दा बढी रकम भित्राएका छन् । गत वर्ष रु. १० लाख ५० हजार गाउँ भित्राएका महिलाहरुले अहिले त्यो भन्दा बढि चार लाख ५० हजार बढी रकम भित्राउन सफल भएका छन् । चितवनबाट आएको निउरो भन्दा म्याग्दी दोवाबाट आएको निउरोको बागलुङमा उच्च माग छ । लेकाली निगुरो स्वादिष्ट हुनेभएकाले म्याग्दीको निउरोको माग बागलुङमा उच्च रहेको हो उपभोक्ताहरु बताउछन् ।
निगुरो सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको स्वास्थ्यकर्मीहरु बताउछन् । बनजंगलमा आफै उम्रने भएकाले यसमा कुनै रासयनिक मल वा विषादी प्रयोग हुँदैन । निउरोमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषक तत्व पाइन्छ ।