२४ भाद्र २०८३ , बुधबार

२४ भाद्र २०८३ , बुधबार
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

गण्डकीका अग्रज ५ पत्रकार सम्मानित


जनमञ्च संवाददाता
  • २१ असार २०८३ , आइतबार

  • गण्डकीका अग्रज ५ पत्रकार सम्मानित

    पोखरा/ गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो ।

    सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् ।

    प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । ३ दिनअघिमात्र निधन भएका स्व. पराजुलीको तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्षहरु कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे । सम्मानित व्यक्तित्वको बारेमा लेखिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तक पनि सोही अवसरमा विमोचन गरियो ।

    गत १६ असार राति ९१ वर्षको उमेरमा निधन भएका पराजुली जनमत दैनिकका संस्थापक एवं सम्पादक हुन् । पोखरेली नवरत्नबाट सम्मानित उनी स्वतन्त्रता सेनानी पनि हुन् । उनले लेखेको समाचारकै कारण पृथ्वीनारायण क्याम्पसले जग्गा पाएको इतिहास छ ।

    अर्का सम्मानित व्यक्तित्व गुभाजू आदर्श समाज राष्ट्रिय दैनिकका अतिथि सम्पादक हुन् । पत्रकारिता उनका लागि पेसा मात्र भएन, दर्शन बन्यो । २०२५ सालमा ‘नेपाल पर्यवेक्षक’ पत्रिका हुँदै उनी ‘राष्ट्र पुकार’ साप्ताहिकबाट पत्रकारिता थालेका हुन् । बौद्ध दर्शनका अध्येता अग्रज पत्रकार गुभाजूलाई गत वर्ष पोखरेली नवरत्न सम्मान गरिएको थियो ।

    २०१४ सालमा जन्मिएका अग्रज पत्रकार प्रेमचन्द्र रौनियारलाई ‘सीमामा उभिएको पत्रकार’को रुपमा चिनिन्छ । उनी तीन दशकदेखि नवलपुरमा रहेर पत्रकारिता गरिरहेका छन् । दर्जन बढी मिडियामा काम गरिसकेका उनी हाल एभिन्यूुजका संवाददाता हुन् ।

    तनहुँका विश्वबन्धु भण्डारी पोखरा हुँदै तनहुँमा रहेर ५ दशकदेखि पत्रकारिता गर्दै आएका छन् । उनको सम्पादनमा ‘भञ्ज्याङ’ पत्रिका (२०३९ सालदेखि) निरन्तर प्रकाशित छ । उनले समाचार मात्र लेखनन्, इतिहास पनि लेखे । सरस्वती शर्मा जिज्ञासु समाज परिवर्तनकी अभियन्ता एवं साहित्यकार पनि हुन् । पर्वतमा उनले स्थापना गरेको माधुरी साहित्य प्रतिष्ठानबाट आजपर्यन्त साहित्यिक पत्रिका निस्कन्छ ।

    गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले संघीयताको जडको विवेचना नगर्ने हो भने ढिलोचाडो मुलुक द्वन्द्वमा फस्ने दाबी छ । विगत ३५ वर्षमा केही नभएको भन्नु गलत हो भन्दै उनले देशले पछिल्लो समय शिक्षा, स्वास्थ्य तथा प्रविधि क्षेत्रमा ठूलो फड्को मारेको बताए ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend