बागलुङ/अन्तर विद्यालय कबड्डी प्रतियोगिताको उपाधि विद्यामन्दिर माध्यमिक विद्यालय र प्रिसियस एकेडेमीले जितेका छन् ।
आइतबार सम्पन्न फाइनल खेलमा छात्रतर्फ विद्यामन्दिरले न्यु एभरेष्ट एकेडेमीलाई ४२–२७ र छात्रातर्फ प्रिसियसले विद्यामन्दिरलाई ३२–१५ अंकले पराजित गर्दै उपाधि जितेका हुन् ।
च्याम्पियन टोली विद्यामन्दि र प्रिसियसले नगद २०/२० हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा सिमित न्यु एभरेष्ट र विद्यामन्दिरले १०/१० हजार रुपियाँमा चित्त बुझाएका छन् । प्रतियोगितामा छात्रातर्फ प्रिसियस ‘ए’ र कन्यामन्दिर तेस्रो भए ।
प्रतियोगितामा तेस्रो हुने टोली, उत्कृष्ट खेल प्रदर्शन गर्ने डिफेन्डर र रेडरलाई पनि पुरस्कृत गरिएको आयोजक जिल्ला कबड्डी संघका अध्यक्ष सन्दिप पन्तले जानकारी दिए ।
विजेता तथा उत्कृष्ट खेलाडीलाई जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कृष्ण प्रसाद कँडेल र विद्यामन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक छविरमण रेग्मीले पुरस्कार प्रदान गरेका थिए । कबड्डी नेपाल र जिल्ला कबड्डी संघ बागलुङले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ११ विद्यालयको सहभागिता थियो ।