९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

विद्या भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीमा छलफल हुने ओलीको भनाई


जनमञ्च संवाददाता
  • २२ भाद्र २०८२ , आइतबार

  • विद्या भण्डारीको सदस्यताबारे केन्द्रीय कमिटीमा छलफल हुने ओलीको भनाई

    ललितपुर/नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्र िकेपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे आउँदो केन्द्रीय कमिटी बैठकमा छलफल हुने बताएका छन्।

    गोदावरीमा आइतबार सकिएको विधान महाधिवेशनलाई अन्तिममा सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएको नेता विनोद ढकालले जानकारी दिएका छन्।

    ‘यो विधान महाधिवेशन एकताबद्ध ढंगले सकिएको छ,’ नेता ढकालले आइतबार सञ्चारकर्मीहरुसँग भने, ‘भदौ १९ गते बसेको सचिवालय बैठकमा विधान महाधिवेशन भएको भएर विद्या भण्डारीको सदस्यताको बारेमा छलफल नगर्ने भन्ने समझदारी भएको थियो। त्यही अनुसार यो विधान महाधिवेशनमा विधानसँग सम्बन्धित प्रस्तावहरू तथा राजनीतिक प्रतिवेदनहरू माथि छलफल भयो। तर समूहगत छलफलमा भण्डारीलाई पार्टीमा फर्कन रोक्नु हुदैन भनेर कुराहरू उठे। समूह नेताहरूले आफ्नो प्रस्तुति दिने क्रममा पनि त्यो कुरा राख्नुभयो।’

    ढकालका अनुसार अन्तिममा अध्यक्ष ओलीले बोल्ने क्रममा अब बस्ने केन्द्रीय कमिटीमा छलफल हुने बताएका हुन्। मोरङका नेता ढकाल विद्या भण्डारीको पक्षमा खुलेका नेता हुन्।

    एमाले केन्द्रीय सल्लाहकार सदस्य ढकालले सञ्चारकर्मीसँग भने, ‘यो विधान महाधिवेशन भएकाले उहाँको सदस्यताबारे छलफल नगर्ने कुरा भएको थियो। तैपनि, त्यसबारे धेरै कुरा उठेको छ। अध्यक्षले सम्बोधनका क्रममा केन्द्रीय कमिटीको आउँदो बैठकमा यसबारे छलफल गर्ने बताउनुभएको छ।’

    गएको साउन पहिलो साता सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो। त्यसबारे उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापा लगायतले विरोध गरेका थिए।

    विधान महाधिवेशनमा भण्डारीका पक्षमा धेरै प्रतिनिधि खुलेका थिए। यद्यपि ओलीले भने त्यस विषयमा छलफल नहुने बताइसकेका थिए।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend