बागलुङ / प्रतिनिधी सभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का भारी मतान्तरले विजयी भएका छन् । उनले २० हजार ९ सय २७ मत ल्याएर बिजयी भएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् ।
खड्काका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले ११ हजार ९ सय ४४ मत पाए । यहाँ नेकपा एमालेका हिराबहादुर केसीले ८ हजार ६ सय ४४ र राजमोका कृष्णप्रसाद अधिकारीले ४ हजार ५ सय २१ मत पाए ।
राप्रपाका कल्याण आचार्यले ५ सय २३ मत पाएका छन् । श्रम संस्कृति पार्टीका लालबहादुर घर्तीले २ सय ५४ मत पाएका छन् ।
बिजयी भएपछि खड्काले आफ्नो जित सुशासनको थालनी, भ्रष्टाचारको अन्त्यका लागि भएको बताए । उनले जेनजी आन्दोलनपछि नेपाली जनताले पुराना दललाई पाखा लगाएको र त्यसको औपचारिकता मतबाट सम्पन्न भएको बताए ।
‘भदौ २३ पहिलो र फागुन २१ दोश्रो संस्करण हो’ उनले भने, ‘जनताले परिवर्तन खोजेका छन्, त्यसको अनुभुती अब दिनुपर्छ ।’ पार्टीको घोषणापत्र अनुसार काम गर्ने, युवालाई रोजगारीमा ल्याउने लगायतका दर्जन योजना रहेको उनले बताए ।
गत २०७९को निर्वाचनमा बागलुङ क्षेत्र नंं १ मा कांग्रेस, माओवादी र राजमोको गठबन्धन थियो । गठबन्धनबाट राजमोका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित थिए ।
अघिल्लो निर्वाचनमा कांग्रेसले समानुपातिक तर्फ १६ हजार ४ सय ९३ पाउँदा एमालेको १५ हजार ४ सय २८, रास्वपाको ७ हजार ८ सय ७७ मत थियो । राजमोको ४ हजार ९ सय ८६ र तत्कालिन नेकपा माओवादीको २ हजार ८ सय ५७ मत थियो । यहाँ राप्रपाले १ हजार २९ मत ल्याएको थियो ।
बागलुङमा गणतन्त्रपछिको पहिलो संविधानसभामा एमाले, दोश्रोमा कांग्रेस, २०७४ मा एमाले, २०७९ मा राजमोले निर्वाचन जितेको थियो ।