९ साउन २०८३ , शनिबार

९ साउन २०८३ , शनिबार
  • ९ साउन २०८३ , शनिबार
  • July 25 2026

कास्की सिडिओकहाँ अनुमति लिन गएका यी हुन् ४ जना जेन-जी युवा


युवराज श्रेष्ठ
  • १५ असोज २०८२ , बुधबार

  • कास्की सिडिओकहाँ अनुमति लिन गएका यी हुन् ४ जना जेन-जी युवा
    बायाँबाट क्रमश: आशिष पुरी, सरोज पराजुली, दिव्या ढकाल र आयुष आश्रित।

    पोखरा / पोखराका आशिष पुरी, दिव्या ढकाल, सरोज पराजुली र नेपालगन्जका आयुष आश्रित जेन-जी आन्दोलनअघि एकअर्कालाई चिन्थेनन्। उनीहरू आ-आफ्नै धुनमा थिए।

    आशिष पोखरामा ‘प्रचार नेपाल’ नामक इभेन्ट म्यानेजमेन्ट एन्ड एड्भर्टाइजिङ कम्पनी चलाउँछन्। यो कम्पनीले गत वर्ष पोखरामा सज्जनराज वैद्यको एकल कन्सर्ट आयोजना गरेको थियो। यसबाहेक युवा वर्गलाई लक्ष्य गरेर विभिन्न कार्यक्रम गर्दै आएको छ।

    उनी हरेक वर्ष फागुनमा ‘होलील्यान्ड’ कार्यक्रम गर्छन्। अंग्रेजी नयाँ वर्षमा स्ट्रिट फेस्टिभल कन्सर्ट गर्छन्। विदेशी पर्यटकका लागि योग फेस्टिभल पनि चलाउँछन्। उनी पोखराका स्वतन्त्र फोटोग्राफर पनि हुन्।

    दिव्याले भने काठमाडौंको नेपाल माउन्टेन एकेडेमीबाट ‘एडभेन्चर टुरिजम’ मा स्नातकोत्तर गरेकी छन्। हिमाली क्षेत्र घुम्ने उनको सोख छ। उनी आफू मात्र घुम्दिनन्, त्यहाँको दृश्य क्यामरामा कैद गरेर संसारलाई देखाउँछिन्। ट्राभल कन्टेन्ट बनाउने दिव्याका भिडियोले कतिपय ठाउँको पर्यटन प्रवर्द्धन भएको छ।

    सरोज र आयुष भने विद्यार्थी हुन्। पोखराको निर्मलपोखरी निवासी सरोजले एनिमल साइन्समा स्नातक सकेका छन् भने आयुषले नेपालगन्जमा कक्षा १२ को परीक्षा दिएका छन्। जेन–जी आन्दोलनको पूर्वसन्ध्यामा आयुष पोखरामा रहेको मामाघर आएका थिए। मामाघरबाटै आन्दोलनमा सहभागी भए।

    फरक-फरक क्षेत्रका यी चार युवालाई आपसमा चिनापर्ची गराउने अवसर बन्यो,- जेन-जी आन्दोलन। उनीहरू आन्दोलनमा त होमिए, तर राज्यमा प्रतिनिधित्वको अपेक्षा छैन। उनीहरू नयाँ पुस्ताले चाहेअनुसार देश चल्नुपर्ने बताउँछन्। र, आ-आफ्नै काममा खुसी छन्।

    हामीले यी चार जनासँग भदौ २३ र २४ को घटनाबारे कुराकानी गरेका छौं। काठमाडौंका जेन-जी युवाले माइतीघर मण्डलमा प्रदर्शन आह्वान गरेपछि यी चार जना पनि पोखरामा प्रदर्शन गर्न जुर्मुराएका थिए। त्यसअघि उनीहरूको कुराकानी सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा भएको थियो। प्रत्यक्ष भेटेका थिएनन्।

    भदौ २२ गते पोखराको एउटा चिया पसलमा आशिष, दिव्या, सरोज र आयुषको पहिलो पटक भेट भयो। उनीहरू प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन सिडिओ कार्यालय गए।

    कास्कीका सिडिओ रूद्रादेवी शर्मालाई हस्तलिखित पत्र दिँदै भने, ‘देशमा विद्यमान भ्रष्टाचार र हालै सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धको विरोधस्वरूप हामी पोखराका जेन–जी युवा, विद्यार्थी, युवा उद्यमी तथा आम नेपाली समूहले गर्न लागेको प्रदर्शनमा शान्ति–सुरक्षाको व्यवस्था मिलाइदिनू।’

    उनीहरूले निवेदकका रूपमा ‘पोखरेली युवाहरू’ लेखेका थिए। पत्र बुझेपछि सिडिओ शर्माले सोधेकी थिइन्, ‘जेन-जी भनेको के हो ?’

    उनीहरूले जबाफ दिए, ‘सन १९९७ देखि २०१२ को बीचमा जन्मिएका १३ देखि २८ वर्षका युवाहरूको समूहलाई जेन-जी भनिन्छ।’

    सिडिओ शर्माले युवाहरूको यो आन्दोलनलाई सकारात्मक रूपमा लिइन्।

    उनले ‘सरकारसँग माग राख्ने, विरोध प्रदर्शन गर्ने, ज्ञापनपत्र बुझाउने तपाईंहरूलाई अधिकार छ, शान्तिपूर्ण रूपमा गर्नू’ भनेर पठाएको आशिष सम्झन्छन्।

    उनीहरूले पोखरा सभागृह अगाडि प्लाकार्ड बोकेर शान्तिपूर्ण रूपमा उभिने, नाराबाजी र भाषण नगर्ने योजना बनाएका थिए। पाँच-छ सय जना मात्र सहभागी होलान् भन्ने उनीहरूको सोचाइ थियो।

    तर कार्यक्रममा सोचेभन्दा कयौं गुणा बढी युवाहरू सहभागी भए।

    सिमसिम पानी पर्दा पनि सहभागिता कम भएन। विभिन्न कलेजमा पढ्ने विद्यार्थीहरू कलेज ड्रेस र राष्ट्रिय झन्डा बोकेर आन्दोलनमा भाग लिन आए।

    संख्या बढ्दै गएपछि युवाहरूको जुलुस चिप्लेढुंगातर्फ बढ्यो। स्वस्फुर्त निस्किएका हजारौं युवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीविरूद्ध नाराबाजी गरे।

    मानवअधिकार चोक पुगेपछि आशिष लगायतको टोलीले विरोध प्रदर्शन समापनको घोषणा गरे र केही युवाहरू घर फर्के।

    ‘त्यतिखेर अचानक एउटा मोटरसाइकल जुलुस आयो। जुलुसमा सहभागीहरू जेन-जी थिएनन्। पाका उमेरका ती व्यक्तिले भीडलाई उत्तेजित बनाउँदै नाराबाजी गरे र अघि बढे,’ आशिषले भदौ २३ को घटना सम्झँदै भने, ‘त्यसपछि हाम्रा केही युवा पनि त्यसमा मिसिन गए।’

    त्यो भीड गण्डकीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुग्यो र ढुंगामुढा र आगजनी गर्न खोज्यो। मुख्यमन्त्री कार्यालयमा ढुंगामुढा र आगजनीको प्रयासपछि प्रहरीले बल प्रयोग गर्न थाल्यो। पानीको फोहरा, अश्रुग्यास हुँदै गोली चल्यो।

    रत्नचोक, सहिदचोक लगायत स्थानमा प्रहरी र प्रदर्शनकारीबीच दिनभरि नै झडप भयो। गोली लागेर केही युवा घाइते भए। प्रहरी पनि घाइते भए।

    त्यही क्रममा आशिषसँगै ३२ जना युवा पक्राउ परे। पक्राउ पर्नेमा पाँच जना स्कुल ड्रेस लगाएका विद्यार्थी थिए। ‘भोलिपल्ट बिहान प्रहरी हिरासतबाट छुटेपछि म घर फर्केँ र दिनभरि घरमै बसेँ,’ उनले भने, ‘भदौ २३ र २४ को आन्दोलनमा देशमा ठूलो परिवर्तन ल्याएको छ। यो परिवर्तनले मुलुक भ्रष्टाचार मुक्त हुन्छ, सुशासन आउँछ भन्ने हाम्रो अपेक्षा छ। भएन पनि फेरि पनि सडकमा ओर्लेर खबरदारी गर्ने नै छौं।’

    उनी यस्तो प्रदर्शनमा सहभागी भएको दोस्रो पटक हो। यसअघि कोभिड महामारी बेला ‘इनफ इज इनफ’ प्रदर्शनीमा सहभागी भएको उनी बताउँछन्। दिव्या ढकाल भने पहिलो पटक प्रदर्शनमा होमिएको बताउँछिन्। उनी युवाहरूको यो आन्दोलनबाट मुलुकमा नयाँ परिवर्तन आओस् भन्ने चाहन्छिन्।

    ‘हरेक पटक सरकारी काम गर्न जाँदा भोलिपल्ट ज्वरो आउँछ। भनसुन नगरी काम बन्दैन,’ उनले भनिन्, ‘अबको नयाँ नेपालमा यो प्रवृत्ति अन्त्य हुनुपर्छ। सबथोक कानुनअनुसार चल्नुपर्छ। नातावाद, कृपावाद र भनसुनबाट देशले मुक्ति पाउनुपर्छ।’

    उनले अगाडि भनिन्, ‘हाम्रो मुख्य मुद्दा भ्रष्टाचारको अन्त्य हो। जति पनि भ्रष्टाचारका मुद्दा छन्, त्यसमा छिटो छानबिन होस् र दोषीलाई कारबाही होस्। नेपालको हरेक पुस्ताले यसरी नै आफ्नो अधिकारका लागि लड्दै आउनुपरेको छ। अबको पुस्ताले फेरि यही नियति भोग्नु नपरोस्।’

    आन्दोलन क्रममा भदौ २४ गते भएका तोडफोड, आगजनी र लुटपाटका घटनामा उनीहरू दु:खी पनि छन्। ती घटना जेन–जी आन्दोलनको चाहनाअनुरूप नभएको उनीहरू बताउँछन्। आन्दोलनमा विभिन्न स्वार्थी समूहको योजनाबद्ध घुसपैठले सरकारी तथा निजी संरचना जलाउने र लुटपाट गर्ने कार्य भएको उनीहरूको भनाइ छ।

    ‘पहिलो दिनको शान्तिपूर्ण आन्दोलनमा गोली चलाउन आदेश दिने, युवाहरूको आन्दोलनलाई नजरअन्दाज गर्ने र हेप्नेहरूलाई जसरी कारबाही हुनुपर्छ, त्यसरी नै भोलिपल्ट भएका तोडफोड, आगजनी र लुटपाटमा संलग्न समूहलाई पनि कारबाही हुनुपर्छ,’ आयुषले भने।

    उनले यो पनि भने, ‘जलेका संरचना र भग्नावशेष फेरि बनाउन सकिन्छ। तर ज्यान गुमाएका कलिला विद्यार्थीको जीवन फर्काउन सकिँदैन। त्यसैले आन्दोलन दमन गर्नेहरूमाथि कारबाही हुनुपर्छ। हिंसा मच्चाउने, विध्वंश गर्ने, कारागारबाट कैदी भगाउने; यस्ता सबै घटना छानबिन गरेर कारबाही हुनुपर्छ।’

    सरोजले त्यसैमा थपे, ‘जेन-जी आन्दोलन आह्वान गर्ने कसैले पनि यस्तो विध्वंश गर्ने योजना बनाएका थिएनन्। कैदी भगाउने सोचेका थिएनन्।’ ‘यो घुसपैठ कहाँबाट भयो, सरकारले छानबिन गरोस्,’ उनले भने।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend