पोखरा/देशकै ठूलो महानगर पोखरामा २ वटा विमानस्थल छन् । पोखरा विमानस्थल मुस्ताङ जाने आउने विमानले मात्र प्रयोग गर्ने गरेका छन् भने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम अन्तर्राष्ट्रिय भएर पनि आन्तरिक उडानमै सीमित भइरह्यो ।
अन्तर्राष्ट्रिय विमानस्थलले बुधबारबाट नामझैं विदेशसम्म सिधैं आउजाउको सुविधा दिने आशा पलाएको छ । पर्यटन राजधानी पोखरा बुधबारबाट मध्य पूर्वको व्यापारिक केन्द्र दुबईसँग हवाई मार्गबाट जोडिएको हो ।
फ्लाई दुबईले दुबईको बोइङ ७३७ म्याक्स ८ जहाज बुधबार साँझ सवा ६ बजे १ सय १३ यात्रु लिएर पोखरा आयो । पोखराबाट १ सय ५३ यात्रु लिएर जहाज फर्किएको छ । फ्लाई दुबईले दैनिक उडान गर्ने तालिका प्रकाशित गरी नियमित अन्तर्राष्ट्रिय उडान भर्ने योजना बनाएको छ ।
पश्चिमी मुलुकबाट नेपाल आउने पर्यटक र रोजगारीका लागि खाडी मुलुक जाने–आउने नेपालीलाई लक्षित गरी फ्लाई दुबईले सेवा थालेको हो । न्यारो बडी जहाज आउजाउ गर्न सक्ने यो विमानस्थलबाट भारत र चीनका मुख्य सहरहरुमा उडान थाल्नुपर्ने सरोकारवालाहरु बताउँछन् ।
यसअघि चीनको छुन्दु र तिब्बतको ह्लासा उडान भए पनि यात्रु नहुँदा सेवा चल्न सकेको थिएन । पोखरा महानगरका मेयर धनराज आचार्य लगायतले दुबईबाट पोखरा झर्ने यात्रुलाई स्वागत गरेका छन् । उनीहरुले पोखराबाट त्यसतर्फ जाने यात्रुलाई बिदाइसमेत गरे ।