८ साउन २०८३ , शुक्रबार

८ साउन २०८३ , शुक्रबार
  • ८ साउन २०८३ , शुक्रबार
  • July 24 2026

यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य


जनमञ्च संवाददाता
  • १३ असोज २०८२ , सोमबार

  • यस वर्ष सस्तियो भेडाच्याङग्राको मूल्य

    म्याग्दी / दशैं पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैयाँ १०० सम्म घटेको हो ।

    बेनीका भरत रकालले गत वर्ष ४० हजार तिरेर भेडाच्याङग्रा किनेकोमा यसपाली ३५ हजारमै पाइएको बताए । ‘तीन वर्षअघि रोज्जा च्याङग्राको मूल्य प्रतिगोटा रु. ५२ हजार र च्यालु (हिमाली भेडा)को मूल्य रु. ४०-४२ हजार थियो,’ उनले भने, ‘मूल्य सस्तीएपछि लेकाली भेडाच्याङग्राको मासुका परिकार खाएर दशैं मनाउने मध्यम वर्गका उपभोत्ताको रहर पुरा गर्न सहज भएको छ ।’

    नेपाल चौपाया खरिद बिक्री संघका संस्थापक अध्यक्ष ज्ञानकुमार श्रेष्ठले डोल्पा, मुगु, जुम्ला र तिब्बतीबाट पनि च्याङग्रा आउनु, मुस्ताङमा च्याङग्रापालन बढ्नु, ‘जेनजी पुस्ता’को आन्दोलनपछि देशको असहज परिस्थितिका कारण उपभोग घट्ने डरले मूल्य घटेको बताए ।

    श्रेष्ठको समूहले पछिल्लो १० दिनमा मुस्ताङबाट दुई हजार पाँच सय च्याङग्रा काठमाडौ पुर्‍याएका छन् । गत वर्ष काठमाडौमा जिउँदो च्याङग्रा प्रतिकिलो रु। एक हजार तीन सयका दरले बिक्री गरेकोमा यसपाली रु. एक हजार दुई सय ५० का दरले बिक्री गरेको श्रेष्ठले बताए ।

    दशैंका लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौ, चितवन र बुटवलका बजारमा झारिएका भेडाच्याङग्राको मुख्य स्रोत मुस्ताङ, जुम्ला, मुगु र डोल्पा हो । तातोपानी र रसुवाको नाका बन्द भएकाले ठूला सहरमा यसपाली मुस्ताङबाट मात्र भेडाच्याङग्रा मात्र झरेका छन् ।

    पोषिलो, स्वास्थ्यप्रर्द्धक, शक्तिव्रर्द्धक, स्वादीलो हुने भएकाले चाडपर्वमा जडिवुटीयुक्त बुकीमा चरेका हिमाली च्याङग्राको मासु उपभोग गर्ने चलन रहेको बेनीका नेत्रराज सुवेदीले बताए ।

    यसवर्ष रु. ३५ करोडभन्दा बढी मूल्य बराबरको १४ हजार छ सय ६८ भेडा च्याङग्रा बिक्री भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, मुस्ताङले जनाएको छ । सात हजार छ सय ६८ मुस्ताङका किसानले पालेका, छ हजार आठ सय ६८ डोल्पा, मुगु र जुम्लाबाट आएका भेडाच्याङग्राको स्वास्थ्य परिक्षण गरेर बजार पठाउन अनुमति दिएको केन्द्रका प्रमुख लालमणी अर्यालले बताए ।

    किसानले अधिकतम च्याङग्रालाई रु. ३५ हजार र भेडा (च्यालु)लाई रु. २८ हजारमा बेचेका छन् । पाँच वर्ष उमेर पुगेका च्याङग्रा मासुका लागि उपभोगी मानिन्छ । शरिरमा लामो रौ भएका च्याङग्रा रैथाने हुन् । तिब्बतबाट ल्याएको च्याङग्राको शरिरमा रौ छोटो हुन्छ ।

    लोमान्थाङ गाउँपालिका-३ नामग्यालका किसान तेन्जीङ गुरुङले च्याङग्रापालनबाट जिविकोपार्जन गरेको बताए । उनले यसपाली ५० वटा च्याङग्रा बिक्री गरेको बताए । मुस्ताङी भेडाच्याङग्राको ठूलो बजार पोखरा हो ।

    म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनहुँ, लमजुङका बजारमा पनि भेडाच्याङग्राको खपत बढी हुने गरेको छ । मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुुण्ड र लोमान्थाङ गाउँपालिकामा ५० हजार च्याङग्रा पालिएका छन् । उपल्लो मुस्ताङका कृषकको मुख्य आयस्रोत च्याङग्रापालन हो ।

    हिउँचितुवा र ब्याँसोको आक्रमणबाट बचाउनु च्याङग्रापालक किसानको प्रमुख चुनौति हो । यसैगरी पर्याप्त हिउँ नपर्दा लेकाली क्षेत्रमा घाँस कम उम्रीएकाले भेडाच्याङग्राको लागि आहराको अभाव हुन थालेको छ । हिउँदमा आवश्यकता भन्दा बढी हिउँ पर्दा भेडाबाख्रा आहराको अभावमा मर्ने समस्या पनि छ ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend