पर्व उत्सवहरु आँउछन, गाँउशहर छरछिमेकलाई अलिक नजिक ल्याउँछन् । चाडबाडहरुले सुखदुःख साँट्ने, नैराश्यता मेटाउने र अलिक सामाजिक बन्ने उत्प्रेरणा र अवसर दिन्छन् । यद्यपि, समाजमा विद्यमान अनेक कुसंस्कार र अन्धविश्वासले गर्दा अलिक असामाजिकपनले हाम्रो दैनिकीलाई छोड्न भने सकेको छैन । शहरका मर्निङ्ग वाकमा होस या गाउँका धान काट्ने मेलामा नै किन नहोस् ! चर्चा परिचर्चा हुने एक प्रसङ्ग यहाँ उल्लेख गर्न खोजेकी छु । फलानो चाड आयो भन्यो, यताउति गयो, अनि त्यहाँ चर्चा हुने गर्छ, ‘हेरन बोक्सीले चुसेर घाँटी, हात, खुट्टा जताततै निलडाम पारेकी छे ।’
बोक्सी सुन्दा नौलो लाग्ने शब्द अवश्य होइन । बुझेर होस् कि सुनेर होस् सबैलाई ‘बोक्सीले टोकेर यो भो त्यो भन्न अनि फलानी रै’छ बोक्सी’ भनेर किटान गर्नको चटारो परीहाल्छ । केही चल्तीका अनुमान र निदानहरुमा यसो भन्ने गरिन्छ–‘त्यो फलानी बोक्सीले हेरेकीले खानामा आजकल मीठै हँुदैन, किन मीठो होस् ? मान्छे हेर न कपाल कस्तो जिङ्गरिंगको छ, मान्छे उस्तै काली छे, हातखुट्टा पनि ठूलाठूला छन् । विधवा छे, होची छे, ज्यानमा द्ुबी आकी छे, डेडी छे, गरीब छे । त्यो फलानी त पक्कै बोक्सी नै हो, त्यसका आँखा देखिछस् ? कस्ता अर्कै छन, कत्ति धेरै काला, निला, खैरा छन । आँखामा कालो कोठीे छ, जिब्रो त्यस्तै कालो दाग भाको छ्र्या !’ यस्ता अनेक तर्कले फलानी बोक्सी हो भन्ने पुष्टि गर्दै हिँड्नुलाई आफू सर्वश्रेष्ठ छु भनेर प्रमाणित गर्ने कला मानिएको छ । के एक महिला शारीरिक ढाँचामा भिन्न हुनु बोक्सी हुनु हो ? महिला मात्र किन बोक्सी हुन्छन् ?
अमानवीयताको उत्कर्षमा पुगेर फलानी बोक्सी भन्ने गाउँ निकाल्ने, पानी बार्ने, जुत्ताको माला लगाइदिने, कालो मोसो दल्ने, कुटपीट तथा हत्यासम्म गरिँदै आएका धेरै घटनाहरु छन । पितृसत्तात्मक समाजमा कमजोर देखाइने पात्र महिला, खोट र दोषको श्रेय नारीलाई दिइनु बोक्सी लागेको भन्ने सोचको मुख्य बिजको रुपमा मान्न सकिन्छ । महिलाले पुरुषमाथि आफ्नो क्रोध र अहंकार प्रदर्शन गर्न आलोचना गर्न असमर्थ हुनु अनि आफ्नो अहंकार र दमनको प्रतिशोध लिनलाई समाजबाट कमजोर पात्र उठाएर शक्ति प्रदर्शन गर्ने प्रवृत्तिले पनि महिला मात्र बोक्सी हुन्छन् भन्ने गलत मान्यतालाई मलजल गरेको छ । यी सबै अन्धविश्वासलाई समाजमा आश्रय दिने मुख्य पाटा हुन । महिला पुरुष दुबैलाई बोक्सो कहिल्यै लाग्दैन, लाग्छे त केबल बोक्सी, अर्थात् नराम्रो हुन्छ, बिरामी हुन्छन् । बोक्सी पात्र हुन्छे–कमजोर नारी । यो समाजको कमजोर पात्रप्रतिको अन्याय हो ।
कोही व्यक्तिले रात– दिनमा जादु जसरी कसैलाई थाहा नदिइ टोक्न सक्छ ? यी र यावत कुराहरु अन्धविश्वासको कुरिथिका उपजमात्र हुन् । अन्धविश्वास तार्किक पक्कै हुँदैनन् तर यो त झन हास्यास्पद भयो । यसको वास्तविकता बुझांै । शरीरमा निलो दाग देखिनु कुनै चोट पटक या भित्री रोगको निशानी हो । शरीरमा रक्तसञ्चार गर्ने साना रक्त कोशिकाहरु कहीँ ठोक्किँदा, च्यातिँदा, मासंपेशी बढी प्रयोगले तन्किँदा या अन्य कुनै सामान्य चोट लाग्दा, दवाव पर्दा, रक्तकोशिका फुटेर नीला दागहरु देखिन्छन् । कहिलेकाहिँ एकदुई दागहरु देखिनु, आफै हराएर जानु सामान्य हो । तर, दैनिक रुपमा धैरै मात्रामा त्यस्ता दागहरु देखिनु गम्भीर रोगको लक्षणमा पर्छ ।
शरीरको कुनै पनि भागमा सानाठूला आफैमा छिट्टै निको नहुने कुनै पनि ंनीलो, कालो दागहरुलाई स्वास्थ्य समस्याका रुपमा लिइनु पर्छ, बोक्सी लागेको रुपमा होइन । नीलाकाला दागहरु मुख्यतः रक्तकोष पेल्टलेट्सको रोग, रक्तनलीको रोग, रगत जमाउने तत्वसम्बन्धी रोग जस्तो कि, हेमोफिलिया ए र बी, भोन विलेब्रान्ड डिजिज, क्रिस्टमास डिजिज, डिप भेन थ्रोम्बोसिसजस्ता समस्याका साथै शरीरका मुख्य अंगका रोगहरु हुन सक्छन् । यसरी देखिने असामान्य दागको समयमा नै प्रयोगशालाजन्य साथै अन्य परीक्षणबाट रोगको पहिचान गरी उपचार हुनु आवश्यक छ । अन्धविश्वासको पछाडि लाग्दा रोगको गम्भीरता बढ्दै गएर, रगत जम्ने, रक्तसञ्चार अवरुद्द भएर बिरामीको मृत्यु भएका घटनाहरु धेरै छन ।
यसो भनिसकेपछि, आफूमा भएको शिक्षा, सजगता र मानवीयतालाई व्यवहारिकतामा उर्तान अत्यन्त आबश्यक छ । सचेत र शिक्षित मानिने वर्गसमेत अभिभावकले मानेको भनेर आफ्नो बौद्धिकता त्यागेर बोक्सीमा विश्वास गर्ने बानीले गर्दा समाजका धेरै कमजोर अनि अन्य रोगबाट आफ्नो शारीरिक बनावटमा भिन्नता पाएका व्यक्तिहरु सामाजिक शोषण भोगिरहेका छन् । हामीले आफूले पाएको शिक्षा र चेतनालाइ किन अन्याय गरेर अनर्थ हुन दिँदैछौँ ? हामीले प्रोत्साहन वास्तविकतालाइ गर्ने हो, अन्धविश्वासलाई होइन । असल आचरणको नयाँ पुस्ता बन्ने होडबाजी र अनुशरण गर्न हुने सहजताले गर्दा अहिलेको पुस्ताले यो अमानवीय अन्धविश्वासप्रति मौनता अंगालेको छ । यो मौनता तोड्नु, असामाजिकता र अत्याचारको सिलसिला तोडिनु आवश्यक छ ।
(शर्मा मेडिकल ल्याबोरेटरी टेक्नोलोजीको स्नातक तहको विद्यार्थी हुन् । )