बागलुङ, १४ बैशाख– सिवाईसी बचत तथा ऋण सहकारी संस्था, सिवाइसी नेपाल र सिवाईसी लघुबित्तले गठन गरेका थ्रि जिरो क्लबहरुको प्रथम सम्मेलन गरिने भएको छ ।
बागलुङका १८ वटा विद्यालयका २ सय ४५ र पर्वतका दुइ विद्यालयका ३५ गरी २ सय ८० युवा सहभागि गरेर शनिवार बागलुङमा सम्मेलन गर्न लागिएको हो । शुन्य गरिबी, शुन्य बेरोजगारी र शुन्य कार्वन उत्सर्जन गर्नका लागि युवा परिचालन गर्न शुरु गरिएका थ्रि जिरो क्लबका पदाधिकारीको सम्मेलन गर्न लागिएको हो ।
नोवेल शान्ति पुरस्कार बिजेता बंगलादेशका प्रोफेसर मोहम्मद युनुसकोले शुरु गरेको हरेक नागरिक उद्यमशिलता बन्नुपर्ने अवधारणा अनुसार युवाहरुलाई क्लबमा संगठित गरेर बचत गर्ने बानी बसाल्ने, उदमशिलतामा जोड्ने र उत्पादन बढाउने योजना अनुसार सिवाइसी नेपालले थ्रि जिरो क्लब गठनको अभियान शुरु गरेको हो ।
केही महिना अघिदेखि शुरु भएको यो अभियानलाई तीब्रता दिएर १५ बर्षदेखि ३५ बर्षका युवालाई उत्पादनमा जोड्ने लक्ष राखिएको छ । त्यस बाहेक हालको न्युनतम आम्दानीबाट पनि बचत गर्ने बानीको विकास गर्न यो अभिायन थालिएको सिवाईसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
बिहिबार पत्रकार सम्मेलनमार्फत शर्माले नेपालको समृद्दि र विकासमा युवाहरुको योगदान बढाउने, सामाजिक, आर्थिक र राजनीतिक परिवर्तनमा युवाको सहभागिता बढाउने तथा सामाजिक प्रतिष्ठा र सम्मान बढाउन युवा परिचालन गर्ने लक्षले यस्ता क्रियाकलाप गरिएको समेत बताए ।
नेपालबाट कक्षा १२ पास हुने बित्तिकै बिदेश जाने योजना बनाउने युवालाई उद्यमशिलतामा लगाउने लक्ष समेत थ्रि जिरो क्लबको छ । अहिले विदेश जाने युवामध्ये १ प्रतिशत मात्रै दक्ष रहेको तथ्यांक छ । २५ प्रतिशत अर्धदक्ष र ७४ प्रतिशत अदक्ष कामदार जाने गरेकोले उनीहरुलाई जानै पर्ने भएमा पनि सीपयुक्त बनाउने, उद्यम गरेर स्वदेशमै रोजगारी र पर्याप्त कमाइ गर्न सक्ने बनाउने लक्ष राखिएको उनले बताए ।
त्यस बाहेक सिवाईसीले तत्कालका लागि ९ वटा वातावरणमैत्री नमूना गाउँ बनाउने तयारी समेत गरेको छ । बानपा ३ को गौडाकोट, बानपा १० को भकुण्डे, ९ को अदुवाबारी, पर्वतको जलजला ७ को धाइरिङ, गलकोट ८ को बिरकोट, बडिगाड गाउँपालिका २ को रानाटोल, ताराखोला १ को माझखर्क, बानपा ६ को लमगाउँ र बरेङ ४ को थप्लुङलाई कृषि गाउँ बनाउन लागिएको हो । त्यसका लागि भकारो सुधार, गोठेमल उत्पादन र वातावरणमैत्री कृषि उत्पादनमा किसानलाई जोड्ने, त्यसको बजारीकरणमा सहकारीले साथ दिने शर्माले जानकारी दिए ।