पर्वत, १ बैशाख– नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वतको अध्यक्ष गोविन्द पहाडी निर्वाचित भएका छन् । पहाडीले प्रतिद्धन्द्धी पदमपाणी शर्मालाई एक सय २१ मतको अन्तरले पराजित गरेका हुन् ।
पहाडीको पक्षमा दुई सय ४८ मत आउँदा शर्मालाई एक सय २७ मत प्राप्त भएको छ । अध्यक्षसहित पाँच सदस्यीय पदाधिकारीमा पहाडी पक्षका उम्मेदवारहरुले जीत हात पारेका छन् ।
उपाध्यक्षमा विमल लामिछानेले प्रतिस्पर्धी मिन प्रसाद श्रेष्ठलाई ६९ मतले पराजित गरेका छन् । लामिछानेको पक्षमा दुई १७ मत आउँदा श्रेष्ठको पक्षमा एक सय ४८ मत परेको छ । सचिवमा सुवासचन्द्र पौडेलले शिव प्रसाद पौडेललाई १६ मतले पराजित गरेका छन् । सुवासको पक्षमा एक सय ८८ मत आउँदा शिवको पक्षमा एक सय ७२ मत खस्यो । उपसचिव पदमा चण्डी प्रसाद भुर्तेलले जीवन विक्रम उचैलाई १६ मतले नै पराजित गरेका छन् । भुर्तेलले एक सय ८८ मत पाउँदा उचैले एक सय ७२ मत पाएका छन् ।
यस्तै, महिला उपसचिवमा विन्दु अधिकारीले सरिता भण्डारीलाई ७१ मतको अन्तरमा पराजित गरिन् । अधिकारीले दुई सय १६ मत पाउँदा भण्डारीले एक सय ४५ मत पाइन् ।
एमाले पर्वतको १० औँ अधिवेशन गत मंगलबारदेखि सुरु भएको थियो । सुरुबाट नै सहमतिका लागि नेताहरूबिच कुरा हुँदै आएको भएपनि सर्वसम्मतको सम्भावना देखिएको थिएन । मुख्यगरी वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री. पदम गिरी र राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना गरेर एमाले पर्वतमा दुई ‘प्यानल’ देखिएका थिए ।