हाइपोथर्मिया भन्नाले शरीरको भित्री तापक्रम ३५ डिग्री सेन्टिग्रेड (९५ डिग्री फरेन्हाइट) भन्दा कम भएको अवस्थालाई बुझिन्छ । बिषेश गरी जाडो मौसममा वा चिसो ठाँउमा यसले प्रभाब देखाउछ । यसको लक्षण तापक्रम अनुसार फरक–फरक हुन सक्छ । मन्द खालको हाइपोथर्मियामा जीउ काम्ने तथा दिमाग सुस्त भएर अलमल्ल पर्ने हुन्छ । मध्यम खालको हाइपोथर्मियामा कम्पन बन्द हुन्छ र दिमागको सुस्तता बढेर जान्छ । कडा खालको हाइपोथर्मिया भएपछि बिरामीले बेहोसीमा लगाइरहेको कपडा खोल्न पनि सक्छ र मुटुको धड्कनबन्द हुने खतरा बढेर जान्छ । हाइपोथर्मिया मुख्यतया दुई कारणहरूले हुने गर्दछ । साधारणतया यो समस्या लामो समयसम्म चिसोमा बस्नाले लाग्ने गर्दछ ।
त्यस्तै कुनै कारणले शरीरमा ताप उत्पादन घट्यो वा शरीरबाट ठूलो मात्रामा ताप बाहिरियो भने पनि हाइपोथर्मिया हुन सक्छ । यस्तो हुनुमा अल्कोहलले शरीरलाई पुर्याउने असरको (अल्कोहल इन्टक्सिकेसन) मुख्य भुमिका रहेको हुन्छ भने रगतमा चिनीको मात्रा कम हुनु, खानमा रुची नहुनु तथा बृद्धावस्थाका कारणले पनि शरीरको तापक्रम घट्न सक्छ । शरीरमा सञ्चालन हुनेतापक्रम नियमन प्रक्रियाले (थर्मोरेगुलेसन) शरीरको तापक्रम साधारणतया ३६.५–३७.५ डिग्री सेन्टिग्रेड (९७.७–९९.५ डिग्रीफरेन्हाइट)को हाराहारीमा राख्ने गर्दछ । शरीरको तापक्रम बढाउन काम्ने, जीउ चलाउने क्रियाकलाप बढाउने, तातो वस्तुले सेकाउने रन्यानो कपडा लगाउने गर्न सकिन्छ । यदि कुनै मानिस यसको जोखिममा रहेको अवस्थामा छ भने उसले देखाउने लक्षणका आधारमा हाइपोथर्मियाको पहिचान गर्न सकिन्छ नत्र अन्य अवस्थामा पहिचानको लागि उसको शरीरको तापक्रम नाप्नु पर्ने हुन्छ ।
मन्द खालको हाइपोथर्मियाको उपचार गर्न ताता पेयपदार्थहरू पिउने, विभिन्न शारीरिक क्रियाकलापहरू गर्ने र न्यानो लुगा लगाउने गर्न सकिन्छ । मध्यम खालको हाइपोथर्मिया भएका मानिहरूलाई तातो बनाउने विद्युतीय कम्बलहरू वा तताइएका नसाबाट दिइने तरलपदार्थहरू सिफारिस गरिन्छ । मध्यम तथा कडा खालको हाइपोथर्मिया भएका मानिहरूलाई हल्कासँग यताउता सार्नु पर्छ । कडा खालको हाइपोथर्मिया भएमा एक्स्ट्राकर्पोरियल मेम्ब्रेन अक्सिजिनेसन (इसिएमओ) वा कार्डियोपल्मोनरी बाइपास लाभदायक हुन सक्छ । यदि बिरामीको नाडीको गति महशुस भएन भने माथि उल्लेखित उपचारका साथमा कार्डियोपल्मोनरी रिसक्सिकेसन (सिपिआर) पनि गरिनु आवस्यक छ । बिरामीको शरीरको तापक्रम ३२ डिग्री सेन्टिग्रेड (९० डिग्री फरेन्हाइट) नपुगेसम्म शरीरलाई निरन्तर तताउनु पर्छ । यदि यो बिन्दुमा पनि बिरामीमा कुनै सुधार आएन भने वा कुनै पनि समय रगतमा पोटासियमको मात्रा १२ एममोल प्रति लिटरभन्दा बढि छ भने सिपिआर बन्द गर्नुपर्छ ।

लेखक : कृष्ण कुमार सैजु
अमेरिकामा हाइपोथर्मियाका कारण प्रत्येक वर्ष १५०० भन्दा बढि मानिसको मृत्यु हुने गर्दछ।यो समस्या बृद्ध मानिसहरू र पुरुषहरूमा बढि हुने गरेको पाइन्छ । हालसम्म हाइपोथर्मिया भएर बाँचेकामध्ये सबैभन्दा कम तापक्रम १३ डिग्री सेन्टिग्रेड (५५.४ डिग्री फरेन्हाइट) भएको तथ्य छ । स्विडेनमाकी ७ वर्षिय बालिका चिसो पानीमा डुबेर मृत्युको मुखबाट फर्किएकी थिईन् । त्यस्तै लगतार ६ घण्टासम्म सिपिआर गरेर बचाइएको तथ्य पनि छ । इसिएमओ वा बाइपास गरिएका मध्ये ५०% मानिस बाँच्न सफल भएका छन् ।
लक्षण तथा चिह्नहरू
हाइपोथर्मियाको गम्भीरता अनुसार यसका लक्षण तथा चिह्नहरू पनि फरक–फरक देखा पर्छ । त्यसैले यसका लक्षण तथा चिह्नहरूलाई तीन भागमा विभाजन गरिएको छ । शिशुहरूलाई हाइपोथर्मिया लाग्यो भने शरीर छुँदा चिसो महशुस हुने, छाला हल्का रातो देखिने रकमजोर हुने लक्षणहरू देखा पर्दछ ।
मन्द हाइपोथर्मिया
मन्द हाइपोथर्मियाका लक्षणहरू अनिश्चित खालका हुन्छन् । यो खालको हाइपोथर्मिया भएको बेलामा स्नायु प्रणालीमा अतिसम्वेदशीलता सक्रिय भएर काम्ने, रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने, छिटोछिटो सास फेर्ने तथा रक्त नलीहरू खुम्चिने जस्ता समस्याहरू देखा पर्छन् । यी सबै क्रियाकलापहरू ताप जोगाउन मानव शरीरले देखाउने प्रतिक्रियाका कारणले हुने गर्दछन् । चिसोका कारणधेरै पिसाब आउने, दिमाग सुस्त भएर अल्मलिने कलेजोले काम नगर्ने (हेपाटिक डिस्फङ्सन) पनि हुन सक्छ । शरीरमा रहेका जीवकोषहरूले कम ग्लुकोज प्रयोग गर्ने, इन्सुलिनको उत्पादन पनि कम हुने र तन्तुहरूको इन्सुलिनप्रतिको सम्वेदशीलता पनि कमजोरहुने भएकोले यो समस्या भएका मानिसहरूलाई रगतमा चिनीको मात्रा बढी हुने रोग (हाइपरग्लाइसेमिया) पनि हुन सक्छ । स्नायुप्रणालीको अति सम्वेदशीलताको सक्रियताले कलेजोबाट पनि ग्लुकोज उत्पादन हुन थाल्छ । धेरै अवस्थाहरूमा, विशेष गरी मद्यपान गर्नेमानिहरूलाई हाइपरग्लाइसेमिया हुने सम्भावना अत्यन्तै धेरै हुने गरेको पाइन्छ । हाइपरग्लाइसेमियाका कारण मानिसलाई हाइपोथर्मियाहुने भएकोले धेरै जसो मानिसहरूलाई यी दुवै समस्याहरू सँगसँगै देखापर्छन् ।
मध्यम हाइपोथर्मिया
शरीरको तापक्रम घटेसँगै शरीरको कम्पन बढेर जान्छ । सजिलै देख्न सकिने गरी मांसपेसीको सन्तुलन बिग्रिन्छ । शरीरको चाल सुस्त र कठिन हुन्छ । हाइपोथर्मिया मध्यम अवस्थामा भएको व्यक्ति सतर्क जस्तो देखिए पनि हिँड्दा लरबराउने र अल्मलिने हुन्छ । यो अवस्थामा पुगेपछि शरीरले बाँकी सबै स्रोत र साधन महत्वपूर्ण अंगहरू तातो राख्न खर्चिने हुनाले सतहका रक्तनलीहरू खुम्चिने गर्दछन् । शरीररगतबिहिन जस्तो देखिन्छ । ओठ, कान तथा हातगोडाका औँलाहरू नीला देखिन्छन् ।
कडा हाइपोथर्मिया
शरीरको तापक्रम अझै घटेपछि शरीरका विभिन्न प्रणालीहरू झनै कमजोर हुन पुग्छन् र मुटुको धड्कन, स्वासप्रश्वासको दर तथा रक्तचाप पनि एकैसाथ घट्छन् । परिणामस्वरुप शरीरको तापक्रम २८ डिग्री सेन्टिग्रेड (८२ डिग्री फरेन्हाइट) हुँदा मुटुको धड्कन ३० को हाराहारीमा हुन्छ ।
बोल्न र हलचल गर्न गाह्रो हुने, दिमागले काम गर्न छोडेर सबैकुरा भुल्ने, हात चलाउन नसक्ने तथा खुट्टा लरबराउने जस्ता लक्षणहरू पनि देखिन्छ । शरीरका जीवकोषहरूमा सञ्चालन हुने जीवन प्रक्रियाहरू बन्द हुन्छन् । तापक्रम ३० डिग्री सेन्टिग्रेड (८६ डिग्री फरेन्हाइट) भन्दाकम भएपछि बाहिर रहेको छाला नीलो हुन्छ र सुन्निन्छ, मांसपेसीको सन्तुलन कमजोर हुन्छ, हिँडडुल गर्न प्राय असम्भव नै हुन्छ । त्यस्तै यो अवस्थामा भएको मानिस बर्बराउने, बेतुकका क्रियाकलापहरू देखाउने, अँध्यारो कुनामा लुक्न जाने (टर्मिनल बरोविङ) वा बेहोस हुने पनि हुन सक्छ । नाडी र स्वासप्रश्वासको दर उल्लेख्य मात्रामा घट्छ तर मुटुको धड्कन बढ्न (भेन्ट्रिकुलर ट्राकिकार्डिया, आट्रियलफाइब्रिलेसन) सक्छ । अन्त्यमा प्रमुख अङ्गहरूले पनि काम गर्न छोड्छन् र मानिसको मृत्यु हुन्छ ।
हाइपोथर्मियाको अन्तिम अवस्थामा बिरामीहरू आफ्नो ज्यानको सुरक्षाका लागि कुना काप्चामा लुक्न जान्छन् जसलाई अङ्ग्रेजीमाटर्मिनल बरोविङ वा हाइड–एन्ड–डाई सिन्ड्रोम भनिन्छ । यो अवस्थामा बिरामी खाटमुनि, लुगा राख्ने दराज, गुफा जस्ता ठाउँमा कुनाकाप्चामा लुक्न जान्छन् । यो अवस्था प्राय पाराडक्सिकल अन्ड्रेसिङसँगै आउने गर्दछ । यस्तो क्रियाकलाप मस्तिष्कले स्वतस्फुर्त रूपमा गराउँछ । हाइपोथर्मियाको अन्तिम अवस्थामा देखिने यस्तो व्यवहार हिउँदमा गुफामा गएर आराम गर्ने भालु जस्ता जनावरको व्यवहार जस्तै हो । प्रायजसो बिस्तारै तापक्रम घटेको अवस्थामा भएको हाइपोथर्मियाका बिरामीहरूले यस्तो व्यवहार देखाउने गरेको पाइन्छ ।
बचाउ तथा सुरक्षा
आवस्यकता अनुसारको कपडा लगाएर हाइपोथर्मियाबाट बच्न सकिन्छ । ओसिलो वा सुख्खा हुँदा पनि शरीरको तापलाई जोगाएर न्यानो बनाउने हुनाले कटनका लुगाभन्दा सिन्थेटिक तथा ऊनबाट बनेका लुगाहरू उपयोगी हुन्छन् । पोलिप्रोपाइलिन तथा पोलिस्टर जस्ता सिन्थेटिक कपडाहरू शरीरबाट पसिना तथा बाफलाई सजिलै बाहिर निकाल्ने भित्री लुगा तथा मोजाहरू बनाउन प्रयोग गरिन्छ । कसिलो लुगाले न्यानो रगतको बहावलाई रोक्ने हुनाले जाडोबाट बच्न अलि खुकुला खालका लुगा लगाउनु पर्छ । जाडो ठाउँमा घरबाहिरका क्रियाकलापको योजना बनाउँदा चिसो मौसमबाट बच्ने व्यवस्था गर्नुपर्छ । बाहिर जानुभन्दा अघि वा बाहिर गएर मद्यपान गर्नेहरूले कम्तिमा एक जना सुरक्षाको लागि जिम्मेवार मद्यपान नगर्ने व्यक्ति साथमा लिएर जानु आवस्यक छ ।
टाउकोमा टोपी वा अन्य लुगाले ढाक्नु प्रभावकारी हुन्छ तर शरीरका अन्य भाग ढाक्नु र टाउको ढाक्नुमा कुनै फरक भने छैन । केही स्थानका मानिसहरू शरीरका अन्य भागहरूबाट भन्दा टाउकोबाट धेरै ताप ह्रास हुने विश्वास गर्छन् तर टाउकोबाट हुने तापको क्षति कपडाले नढाकिएका शरीरका अन्य भागहरूबाट हुनेभन्दा उल्लेख्य रूपमा फरक हुँदैन । यद्यपी वयस्कहरूको तुलनामा शरीरका अन्य भागभन्दा टाउकोको आकार ठूलो हुने भएकोले शीशुहरूमा चाहिँ टाउकोबाट उल्लेख्य मात्रामा ताप बाहिरिन्छ । धेरै अध्ययनहरूले टोपीले बालबालिकाहरूमा हुने तापको क्षति कम गराएको पाएका छन् । बालबालिकाहरूको तौलको तुलनामा शरीरको सतहको क्षेत्रफल बढिहुने भएकोले एउटै वातावरणमा रहेका बेलामा पनि वयस्कको तुलनामा बालबालिकाको शरीरमा एक तह बढि लुगा हुनु आवस्यक छ । त्यस्तै बालबालिकाहरूलाई लामो समयसम्म धेरै चिसो ठाउँमा राख्नु हुँदैन । यद्यपी वयस्कहरू भन्दा बालबालिकाहरू सक्रिय हुनेभएकाले उनीहरूले धेरै ताप निकाल्छन् । जाडो लागेको बेलामा वयस्क तथा बालबालिकाहरू दुवैमा निष्काशन प्रक्रिया छिटोछिटो हुनेहुनाले पसिना निस्कन्छ र तापको क्षति बढ्छ ।
हाइपोथर्मिया चिसो मौसम मा चिसो ठाउँमा जुनसुसै बेला जोकसैलाई पनी हुन सक्छ । त्यसैले जाडो मौसममा र जाडो वा चुसो ठाउँमा जाँदा आफु र आफ्ना बाल बच्चाको उपयुक्त हेरचाह गर्नुहोला ।