बागलुङ- १८ मंसिर – बागलुङको उपल्लाचौरमा निर्माण भएको आधुनिक बसपार्क पहुँचमार्गको अभावमा प्रयोगविहीन भएको छ । नगर विकास कोषको ऋण सहयोगमा निर्माण भएको बसपार्कसम्म पुग्ने पहुँच मार्ग विस्तार र घडेरी व्यवस्थापनमा ढिलाइ हुँदा बसपार्क प्रयोगबिहिन भएको हो ।
बसपार्क निर्माण भएको महिनौं बितिसक्दासमेत प्रयोगमा ल्याउन सकिएको छैन । १९ वर्षअघि बागलुङ नगरपालिका ४, उपल्लाचौरको दावगह्रामा रहेको जग्गा एकीकृत गरेर स्थानीयले बसपार्क निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका थिए ।
एकीकृत गरिएको ५९ रोपनी जग्गामध्ये १७ रोपनी बसपार्क निर्माणका लागि प्रयोगमा आएको भएपनि बाँकी जग्गा जग्गाधनीलाई फिर्ता गर्न बाँकी छ ।
जग्गाधनीहरुबाट गठन गरिएको जग्गा व्यवस्थापन तथा विकास समिति बागलुङ नगरपालिका बीचमा बाँकी जग्गाको विकास तथा कित्ताकाटका विषयमा विवाद छ ।
‘दाताहरुको बाँकी जग्गा घडेरीको रुपमा विकास गर्न आवश्यक बजेट नगरपालिकाले विनियोजन गरेको छ, कित्ताकाट भएपछि पहुँचमार्ग निर्माण हुन्छ,’ नगरप्रमुख जनकराज पौडेलले भने, ‘तत्काल जग्गा व्यवस्थापनको काम अघि बढाउन भनेका छौं ।’
२०७२ सालमा एकीकृत जग्गामध्ये नगरपालिकाका नाममा १७ रोपनी जग्गा छुट्टयाउँदा भएको सम्झौता कार्यान्वयन हुनुपर्ने जग्गा व्यवस्थापन तथा विकास समितिको माग छ । सम्झौता अनुसार बाँकी रहेको जग्गाको चक्लावन्दी गर्ने, विद्युत, पानी, सडक लगायतका संरचना नगरपालिकाले निर्माणमा गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
‘७५ लाख रुपैयाँ सोही कामका लागि छुट्टाएका छौं, जग्गा व्यवस्थापन समितिले कित्ताकाट र पूर्वाधार निर्माणका काम गर्नुपर्छ,’ नगरप्रमुख जनकराज पौडेलले भने, ‘नगरले त्यसका लागि पहल गरेको छ ।’
जग्गा व्यवस्थापन तथा विकास समितिले भने नगरले बजेट दिएर मात्रै काम गर्न नखोजेको आरोप लगाउँदै आएको छ । ‘२०७२ मा भएको १२ बुँदे सम्झौता अक्षरशः पालना हुनुपर्छ,’ समितिका सचिव ध्रुवबहादुर केसीले भने ‘इन्जिनियर, अमिन चाहिन्छ, हामीलाई कार्यालयले टेर्दैनन्, नगरले कित्ताकाट, सडक छुट्टयाउने लगायतका काम गरिदिनुपर्छ ।’
तत्कालीन एक हजार कित्ता जग्गा एकीकृत गरेर दुई कित्ता बनाइएको छ । ३४ जनाको नाममा रहेको जग्गा एकैठाउँ भएकाले बसपार्कलाई दिएर बाँकी जग्गा योगदानका आधारमा कित्ताकाट गरेर वितरण गर्नुपर्नेछ । ‘१३० घडेरी बनाउनु पर्नेछ, उता सरकारले कित्ताकाट रोकेको छ,’ केसीले भने, ‘घडेरी तयार नभइ पहुँच मार्ग हुँदैन ।’
२०७५ सालमा एक वर्षभित्रै निर्माण सक्नेगरी सुरु भएको काम ३ पटक म्याद थपेर काम सकिएको हो । ७ करोड ६६ लाख ९९ हजार रुपैयाँको लागतमा बसपार्क तयार भएको हो ।
बसपार्क क्षेत्रमा टर्मिनल भवन, व्यापारिक भवन र भूमिगत ट्याक्सी पार्किङ, ग्यारेज र फूलबारी निर्माणको भएका छन् । नगर विकास कोषले ९ करोड ४ लाख रुपैयाँ ऋण दिएपछि निर्माणको काम सुरु भएको थियो । बाँकी रकममध्ये नगरपालिकाको ७५ लाख र समपूरक कोषबाट २५ लाख खर्च भएको छ ।
हाल सञ्चालनमा रहेको चिप्लेटी बसपार्कमा पर्याप्त बसहरु राख्न पुगेको छैन । उक्त बसपार्क निर्माण भएकाले लामो तथा छोटो दूरीका लागि छुट्टाछुट्टै व्यवस्था गर्न सकिन्थ्यो । मध्यपहाडी लोकमार्ग बागलुङकै बाटो गएपछि सवारीको चाप बढ्न थालेको छ । बागलुङदेखि पर्वत, म्याग्दी र मुस्ताङक तथा पोखरा चल्ने बसका लागि चिप्लेटी र लामो दूरीलाई यो बसपार्क संचालन गर्ने नगरको योजना छ । हाल काठमाडौं, भैरहवा, चितवन, नेपालगंज, कांकडभिट्टा, वीरगञ्ज लगायत स्थानमा लामो दूरीका सवारी चल्दै आएका छन् ।
‘यो पार्कमा बढीमा ७० वटा बसपार्क गर्न सकिन्छ, त्यसैले दीर्घकालसम्मका लागि अझै साँघुरो हुन्छ,’ नगर प्रमुख जनकराज पौडेलले, ‘लामो दूरी र छोटो दूरीका छुट्टाछुट्टै पार्क प्रयोग गर्दा यसको बढी सदुपयोग हुनेछ ।’ बसपार्क तत्काल सञ्चालनमा ल्याउँदा बागलुङ बजारमा हुने ट्राफिक जामसमेत कम हुने आँकलन छ ।
बसपार्कसँगै जोडिएको जग्गामा निर्माणहुने पहुँचमार्ग बनेमा बसपार्क भित्रिने र बाहिरिने अलगअलग मार्ग बनाएर व्यवस्थापन गर्ने नगरको योजना छ । बसपार्क भित्रिने पूर्वतर्फको सडक निर्माण तथा स्तरोन्नतिको लागि निर्माण कम्पनीलाई जिम्मा लगाइसकिएकाले दुबै पहुँच मार्ग तयार हुने पौडेल बताउँछन् ।