११ साउन २०८३ , सोमबार

११ साउन २०८३ , सोमबार
  • ११ साउन २०८३ , सोमबार
  • July 27 2026

सकियो ढोरपाटनमा पहिलो शिकार याम: तोकिएभन्दा कम शिकार !


जनमञ्च संवाददाता
  • २२ मंसिर २०७८ , बुधबार

  • सकियो ढोरपाटनमा पहिलो शिकार याम: तोकिएभन्दा कम शिकार !

    बागलुङ, २२ मंसिर – नेपालको एकमात्रै ढोरपाटन शिकार आरक्षमा यसवर्ष निर्धारित कोटाभन्दा कम शिकार भएको छ । शिकारको पहिलो याम समाप्तिसँगै आरक्षका विभिन्न ब्लकमा नौ नाउर र तीन झारलको शिकार भएको हो ।
    पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र १० वटा नाउरको कोटा निर्धारण गरेको थियो । झारल तोकिएको भन्दा तीनवटा कम र नाउर तोकिएको भन्दा एक वटा कम शिकार भएको हो ।
    एक झारल र एक नाउरको अनुमति प्राप्त गरेका रसियन नागरिक इभिजिनी सिरोक्यो शिकारको लागि नआएकाले शिकार हुन नसकेको हो । उनले हिमालयन वाइल्डआउट फिटरमार्फत शिकार अनुमति लिएका थिए । व्यक्तिगत कारण देखाउँदै शिकारको लागि नआएको सञ्चालक शेरबहादुर वाइबाले जानकारी दिए ।
    उनले सुन दहमा एक नाउर र एक झारलको सिकार गर्ने अनुमति लिएका थिए । पहिलो शिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत फ्रान्सेली नागरिक मार्लियर आन्द्रेले सेन ब्लकमा एक नाउर, ओभिन एन्टोनी नोयलले सेनब्लकमा एक नाउरको शिकार गरे । तर, फागुने ब्लकमा एक झारलको सिकार गर्न उनीहरु चुकेको आरक्ष कार्यालयले जनाएको छ ।
    हिमालयन सफारीमार्फत मेक्सिकन नागरिक फ्रान्सीको जोई भिजेकोनले सेन ब्लकमा एक नाउरको सिकार गरे । मेक्सिकन नागरिक कार्लाेसले सेन ब्लकमा एक नाउर शिकार गरेपनि झारलको शिकार गर्न सकेनन् ।
    ट्याक एन्ड ट्राभल्सले दुई जना युक्रेनी नागरिकलाई शिकारमा लगेको थियो । सेरिया लरेन र नाटालियन लरेनले धुस्तुङ ब्लकमा दुई नाउर र एक झारलको सिकार गरेको आरक्षको तथ्यांक छ । ग्लोबल सफारीमार्फत दोगाडी ब्लकमा पुगेका स्पेनिस नागरिक जोएक्वाइन बेन्जिमेनले एक नाउरको सिकार गरेको ढोरपाटन सिकार केन्द्रका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । स्पेनिस नागरिक मुगलले पनि सोही ब्लकमा नाउरको सिकार गरेका थिए ।
    चे रिब्लिकन नागरिक रोमनले सुनदह ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको ग्लोबल सफारीका सञ्चालक शमशेर पराजुलीले बताए । ढोरपाटनमा सिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तराष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
    शिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार गर्न पाउँछन । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, बुर्तिबाङ र घुस्तुङ गरी ७ ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ । हरेक वर्ष कात्तिक, मंसिर र चैत बैशाखमा पहिलो र दोस्रो यामको शिकार हुने गरेको छ । गतवर्ष कोरोना महामारीका कारण यहाँ शिकार पर्यटन प्रभावित भएको थियो ।

    सम्बन्धित समाचार

    हाम्रो बारेमा


    हरेक नागरिकको सूचनाको हक र अभिब्यक्ति स्वतन्त्रताका लागि क्रियाशिल जनमञ्च अनलाइन न्यूज पोर्टल हो । यसमा हरेक ब्यक्तिको विचार, वहस र सूचनाले प्राथमिकता पाउछ । (more…)

    सम्पर्क


    कार्यालय : पोखरा महानगरपालिका-८ सिर्जनाचोक, कास्की
    सम्पर्क नं. :  ९८५६०५९९०३
    इमेल : [email protected]
    सूचना विभाग दर्ता नं. : ६२१/२०७४-०७५

    हाम्रो टिम


    रामकृष्ण बोहरा
    प्रधान सम्पादक
    पुरा टिम

    सामाजिक सञ्जाल


    © copyright 2026 and all right reserved to janamanch.com | Site By : SobizTrend